• २१ वैशाख २०८३, सोमबार

दशकदेखि अलपत्र कृषि सडक, किसानलाई सास्ती

blog

अमरगढी नगरपालिका–१ दगोडा बस्तीमा निर्माणपछि अलपत्र अवस्थामा रहेको कृषि सडक । तस्बिर : पुष्कर भण्डारी

डडेल्धुरा, वैशाख २१ गते । डडेल्धुराको सदरमुकाम अमरगढी नगरपालिका–१ मालम गाउँलाई स्याउले चोकसँग जोड्ने कृषि सडक निर्माण योजना दशकदेखि अलपत्र अवस्थामा रहेको छ । व्यावसायिक रूपमा कृषि गर्दै आएका किसानको उत्पादन बजारसम्म पुर्‍याउन करिब एक दशकअघि स्याउले–दगोडा–मालम कृषि सडक खनिएको थियो ।

२०७० सालमै दगोडा र मालम गाउँलाई स्याउले चोकसँग जोड्ने उद्देश्यले कृषि सडकको योजना अघि बढाई केही ट्र्याक खोलिएको थियो । दगोडा बस्तीमुनिसम्म सडक खनिए पनि मालम गाउँसम्म पुर्‍याउन नसक्दा योजना अलपत्र परेको हो ।

एक पटक खनिएको सडकको मर्मत–सम्भार नभएकाले हाल गाडी चल्न सक्ने अवस्था छैन । स्थानीय प्रेमबहादुर दियालका अनुसार सडक मर्मतका लागि वडा अध्यक्षलाई बारम्बार जानकारी गराउँदा पनि एक दशकदेखि काम हुन सकेको छैन । उहाँका अनुसार सडक खण्डको दूरी करिब एक किलोमिटर मात्र छ ।

अहिले ठाउँ–ठाउँमा पहिरोले सडक भत्किएको छ । भत्किएको भागमा पर्खाल लगाउने र बाह्रै महिना सञ्चालनयोग्य बनाउन सडक सफाइका लागि अनुरोध गर्दा पनि सुनुवाइ नभएको उहाँको गुनासो छ ।

सुरुमा ५० हजारदेखि एक लाख रुपैयाँसम्मका दरले दुई–तीन पटक अमरगढी नगरपालिकाको बजेटबाट सडक ट्र्याक खोलिएको उहाँले बताउनुभयो । त्यसपछि भने सडक सफाइ र मर्मतका लागि बजेट नपरेको उहाँको भनाइ छ । वडा अध्यक्ष लोकबहादुर ऐरलाई बजेट व्यवस्थापन र नगरपालिकाको डोजर प्रयोग गरी सफाइ गर्न बारम्बार आग्रह गर्दा पनि आश्वासन मात्रै पाइने गरेको दियालले बताउनुभयो ।

मालम गाउँका दुई दर्जनभन्दा बढी घरपरिवार दगोडा क्षेत्रमा सरेर व्यावसायिक रूपमा तरकारी र फलफूल खेती गर्दै आएका छन् । सडक सञ्चालन नहुँदा एक घण्टासम्म पिठ्युँमा कृषि उपज बोकेर उकालो बाटो हुँदै स्याउले बजार पुग्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

दियालले आफ्नो बारीमा एक सयभन्दा बढी सुन्तला, कागती र आलुबखडा (प्लम) का बिरुवा हुर्काइरहनुभएको छ । सडक नहुँदा उत्पादनले उचित मूल्य नपाउने समस्या रहेको उहाँको गुनासो छ ।

घरमै खरिद गर्न आउनेले पनि भरियाबाट बोकाउनु पर्ने भएकाले ढुवानी खर्च घटाउन मूल्य कम गर्ने गरिएको र त्यसले किसानलाई घाटा हुने गरेको उहाँले बताउनुभयो । यस कारण किसानहरू व्यावसायिक खेतीबाट विस्थापित हुँदै गएको उहाँको भनाइ छ ।

स्याउले बजार चोक सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने महत्त्वपूर्ण राजमार्ग भीमदत्त राजमार्गमा पर्छ । डडेल्धुराको बागबजारदेखि पूर्व–दक्षिणतर्फ करिब तीन किलोमिटर दूरीमा रहेको स्याउले बजार चोकबाट पूर्वतर्फ डोटी, अछाम र बाजुरा जोड्ने डा. के.आई. सिंह राजमार्ग तथा उत्तरतर्फ बैतडी, दार्चुला र बझाङ जोड्ने मार्ग रहेको छ ।

स्याउले चोकमार्फत सात पहाडी जिल्ला जोडिने भएकाले मौसमी फलफूल र तरकारीको खरिद–बिक्री राम्रै हुने गरेको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुले बताउनुभयो । बजार क्षेत्रमा पसल, खोका, छाप्रा र ठेलामार्फत कृषि उपजको व्यापार भए पनि व्यवस्थित बजारको अभाव रहेको उहाँको भनाइ छ ।

कृषि सडकको स्तरोन्नति गरी स्याउले बजारलाई व्यवस्थित बनाउन सके किसान र व्यापारी दुवैलाई राम्रो आम्दानी हुने सम्भावना रहेको उहाँले बताउनुभयो । तर आवश्यक बजेटको अभावका कारण स्थानीय सरकार तथा सरोकारवाला निकायको पहल आवश्यक रहेको उहाँको भनाइ छ ।