• २१ वैशाख २०८३, सोमबार

‘पन्ध्र दिनसम्म राष्ट्रिय पोषण लेखाजोखा अभियान’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २१ गते । सरकारले देशभर बालबालिकाको पोषण अवस्था सुधार गर्ने लक्ष्यसहित ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सञ्चालन सुरु गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाख १५ गतेदेखि ३० गतेसम्म सञ्चालन गरेको उक्त अभियानमा छ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था पहिचान, मूल्याङ्कन र आवश्यक उपचारमा विशेष ध्यान दिने छ । 

मन्त्रालयका सचिव डा. विकास देवकोटाले कुपोषणको समयमै पहिचान गरी उचित उपचार उपलब्ध गराउँदै दीर्घकालीन स्वास्थ्य समस्या न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले अभियान ‘कुपोषणको समयमै पहिचान, सही उपचार कुपोषणमुक्त पुस्ताको आधार’ भन्ने नारासहित सञ्चालन गरिएको बताउनुभयो । 

अभियान अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकका स्वास्थ्य संस्थामार्फत बालबालिकाको पाखुराको मध्य भागको घेरा मापन गरी पोषण अवस्था मूल्याङ्कन गरिएको छ । अभियानका क्रममा कुपोषित पाइएका बालबालिकालाई बहिरङ्ग उपचार केन्द्रमार्फत तयारी उपचारात्मक खाना निःशुल्क उपलब्ध गराइने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । 

स्वास्थ्य सचिव डा. देवकोटाले अभियानको महत्व प्रस्ट पार्दै बालबालिकाको पोषण अवस्था समयमै पहिचान गर्न सकिएमा गम्भीर स्वास्थ्य जटिलता रोक्न सकिने बताउनुभयो । 

उहाँले समुदायस्तरमै सेवा विस्तार गरिएकाले अभिभावकलाई सहज पहुँच सुनिश्चित भएको उल्लेख गर्दै अभियानलाई सफल बनाउन स्थानीय तह, स्वास्थ्यकर्मी र स्वयंसेविकाको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो । अभियान स्वास्थ्य संस्था, खोप केन्द्र, सामुदायिक क्लिनिक, वडा कार्यालय, सामुदायिक भवन तथा प्रारम्भिक बाल विकास केन्द्रमार्फत सञ्चालन गरिने छ । मन्त्रालयले सबै अभिभावकलाई आफ्ना बालबालिकाको नियमित पोषण जाँच गराई कुपोषणबाट जोगाउन अभियानमा सक्रिय सहभागिता जनाउन अनुरोध गरेको छ ।