राजन रावत
हुम्ला, वैशाख २१ गते । चीनद्वारा नेपाल–चीन सीमा क्षेत्र हिल्सामा निर्माण गरिएको मितेरी पुल तत्काल सञ्चालनमा नआउने भएको छ । सीमा क्षेत्रसँग जोडिएका दुवै देशका प्रतिनिधिबीच हिल्सामा भएको अनौपचारिक छलफलपछि चिनियाँ पक्षले तत्काल पुल सञ्चालन नहुने जनाएको हो ।
दुवै देशका सीमा क्षेत्रसँग जोडिएका जिल्लाका प्रतिनिधिबीच कार्यस्थलमा आधारित सूचना आदानप्रदान कार्यक्रम हिल्सास्थित मितेरी पुलमै आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताउनुभयो ।
शुक्रबार भएको उक्त छलफलमा चिनियाँ पक्षले पुल सञ्चालनअघि बेइजिङ सम्झौताअनुसार चीन सरकारले नेपाल सरकारलाई औपचारिक रूपमा पुल हस्तान्तरण गर्ने र नेपाल सरकारले त्यसलाई बुझ्ने प्रक्रिया पूरा हुनुपर्ने जानकारी गराएको उहाँले बताउनुभयो । त्यसपछि मात्रै दुवै देशको सहमतिमा पुल सञ्चालन प्रक्रिया अगाडि बढाइने जनाइएको थियो ।
हिल्साको मितेरी पुलसँगै पुलको नेपाली क्षेत्रतर्फको पिलरदेखि करिब साढे तीन सय मिटर कालोपत्रे सडक पनि चीनले निर्माण गरेको छ । चिनियाँ पक्षले आफ्नोतर्फको प्रवेशद्वार निर्माण गरिसकेको छ भने नेपालतर्फको निर्माण कार्य अझै बाँकी रहेको छ ।
पुल निर्माणका क्रममा भएका सबै गतिविधिबारे चिनियाँ पक्षले नेपाली प्रतिनिधिलाई जानकारी गराएको थियो । प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार नेपाल सरकार र चिनियाँ सरकारबीच भएको बेइजिङ सम्झौताको दफा ६ बमोजिम चीन सरकारले हिल्सामा उक्त पक्की पुल र सडक निर्माण गरेको हो ।
छलफलमा सीमा सुरक्षा तथा हिल्सा क्षेत्रमा दुवै देशविरुद्ध हुन सक्ने गतिविधिबारे पनि कुराकानी भएको थियो । दुवै पक्षले त्यस्ता गतिविधि हुन नदिन प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली पक्षबाट प्रमुख जिल्ला अधिकारी रेग्मी, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, प्रहरी नायब उपरीक्षक शंकर खड्का, सशस्त्र प्रहरी नायब उपरीक्षक पुष्करबहादुर सिंह, राष्ट्रिय अनुसन्धान प्रमुख मेघराज कँडेल तथा हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीलगायतको सहभागिता रहेको थियो ।