• २१ वैशाख २०८३, सोमबार

गोरखापत्र वार्षिकोत्सवमा पाँच किलोमिटर दौड सम्पन्न

blog

गोरखापत्र प्रकाशनको १२६ औँ वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ६४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित राष्ट्रिय खुला दौड २०८३ । तस्बिर : केशब गुरुङ

काठमाडौँ, वैशाख २१ गते । गोरखापत्रको वार्षिकोत्सवका अवसरमा आयोजित पाँच किलोमिटर राष्ट्रिय खुला दौड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । नेपालकी ओलम्पियन एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठले सिठ्ठी फुकेर प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगिता गोरखापत्र संस्थानको धर्मपथस्थित कार्यालयबाट सुरु भई न्यूरोड गेट, रत्नपार्क, जमल, केशरमहल, दरबारमार्ग, महेन्द्र शालिक, घण्टाघर, भद्रकाली, त्रिपुरेश्वर चोक, सुन्धारा र जुद्ध शालिक हुँदै पुनः संस्थान परिसरमा पुगेर सम्पन्न भएको थियो ।

प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरीलगायत विभिन्न संस्थाका प्रतिनिधिसहित करिब १५० जना प्रतियोगीको सहभागिता रहेको थियो ।


पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले १४ मिनेट ५४ सेकेन्डमा दूरी पार गर्दै प्रथम स्थान हासिल गर्नुभयो । त्यसैगरी, त्रिभुवन आर्मी क्लबकै सुशीलकुमार शाहीले १४ मिनेट ५५ सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थान प्राप्त गर्नुभयो । उमेश थापाले १५ मिनेट १४ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो, अक्कल पालले १५ मिनेट ३२ सेकेन्डमा दूरी पूरा गर्दै चौथो तथा लुम्बिनीका अजय पाण्डेले १५ मिनेट ३२ सेकेन्डमा दूरी पार गर्दै पाँचौँ स्थान हासिल गर्नुभयो ।

महिलातर्फ त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले १९ मिनेट २४ सेकेन्डमा दूरी पार गर्दै प्रथम स्थान हासिल गर्नुभयो । त्रिभुवन आर्मी क्लबकै सिर्जना पाण्डेले १९ मिनेट २९ सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थान प्राप्त गर्नुभयो । सुशन कार्कीले २० मिनेट ४९ सेकेन्डमा दूरी पार गर्दै तेस्रो, नेपाल प्रहरीकी सीता थापा क्षेत्रीले २१ मिनेट १५ सेकेन्डमा दूरी पार गर्दै चौथो तथा नेपाल प्रहरीकै प्रजिता पुलामीले २१ मिनेट २० सेकेन्डमा दूरी पार गर्दै पाँचौँ स्थान हासिल गर्नुभयो ।


विजयी प्रतियोगीलाई विशेष समारोहमा नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिनेछ । पुरस्कार राशिअनुसार प्रथमलाई १० हजार, द्वितीयलाई सात हजार, तृतीयलाई पाँच हजार, चौथोलाई दुई हजार र पाँचौँलाई एक हजार रुपियाँ प्रदान गरिनेछ ।

गोरखापत्र प्रकाशनको १२६औँ वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ६४औँ वार्षिकोत्सवका अवसरमा ‘पाँच किलोमिटर राष्ट्रिय खुला दौड–२०८३’ आयोजना गरिएको हो ।

कार्यक्रमको प्रायोजन अमेरिकास्थित कराँते खेलाडी जनकसिंह खड्का, रेडबुल र टू एम इन्टरनेसनलले गरेका थिए ।