• २१ वैशाख २०८३, सोमबार

ध्रुव देउराली विद्यालयलाई कम्प्युटर सहयोग

blog

ध्रुव देउराली आधारभूत विद्यालयलाई दुई थान कम्प्युटर सेट सहयोग गरिँदै । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, वैशाख २१ गते ।
समाजसेवी डा. मनोर दिन सैयदले ध्रुव देउराली आधारभूत विद्यालयलाई दुई थान कम्प्युटर सेट सहयोग गर्नुभएको छ । भीरकोट नगरपालिका–२ मा रहेको उक्त विद्यालयलाई अध्ययन–अध्यापनमा सहयोग पुर्‍याउने उद्देश्यले कम्प्युटर सेट प्रदान गरिएको हो ।

भीरकोट नगरपालिकाका विद्यालय र विद्यार्थीलाई विगतदेखि नै पोशाक तथा शैक्षिक सामग्री वितरण गर्दै आउनुभएका सैयदले यसपटक कम्प्युटर सहयोग गर्नुभएको हो ।

डा. सैयदले विद्यालयका प्रधानाध्यापक पदमपाणि अर्याल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद हनिफ मियाँलाई कम्प्युटर हस्तान्तरण गर्नुभयो । आफूले विद्यालयलाई कम्प्युटर प्रदान गर्न पाउँदा खुसी लागेको बताउँदै उहाँले आगामी दिनमा समेत सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक अर्यालले विद्यालयमा कम्प्युटर शिक्षा शुभारम्भ गर्न उक्त कम्प्युटर प्रयोग गरिने बताउँदै डा. सैयदप्रति आभार व्यक्त गर्नुभयो ।

बलामडाँडामा अवस्थित उक्त विद्यालयमा ३५ जना विद्यार्थी अध्ययनरत छन् । भीरकोट नगरपालिका–१ का स्थायी बासिन्दा डा. सैयद हाल मनमोहन मेमोरियल अस्पताल, काठमाडौँमा कार्यरत हुनुहुन्छ ।