अमरगढी समाचारदाता
डडेलधुरा, वैशाख २१ गते । जिल्लाको दुर्गम मानिने गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सकसहित १० शय्याको आधारभूत अस्पताल औपचारिक रूपमा सञ्चालनमा आएको छ । गाउँपालिकाको मुकाम वडा नम्बर २ बडालनजिकै देव खेतमा निर्माण गरिएको अस्पताल सञ्चालनमा ल्याइएको हो ।
गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीले उद्घाटन गरेको अस्पतालमा स्थानीयले गाउँमै सहज स्वास्थ्य सेवा पाउने छन् । अध्यक्ष कार्कीले अब उपचारका लागि गन्यापधुरावासीले डडेलधुरा सदरमुकाम, धनगढी, नेपालगन्ज वा काठमाडौँलगायत भारतका विभिन्न अस्पतालसम्म धाउनुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गर्नुभयो ।
सङ्घीय सरकार र गाउँपालिकाको १४ करोड ७६ लाख रुपियाँ लागतमा १० शय्याको आधारभूत अस्पतालको निर्माण भएको अध्यक्ष कार्कीले बताउनुभयो । एक जना एमबिबिएस चिकित्सकसहित स्वास्थ्य सेवा सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्ञानु सेटी देउवाले जानकारी दिनुभयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ मा देशभरका स्थानीय तहमा ५, १० र १५ शप्याका आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो ।
सो कार्यक्रम अन्तर्गत डडेलधुराको नवदुर्गा, आलीताल, अजयमेरु र भागेश्वर गाउँपालिकामा पनि आधारभूत अस्पताल निर्माण थालिएको थियो तर अन्य पालिकामा भने अस्पताल निर्माण कार्य अझै अलपत्र छ ।