• २१ वैशाख २०८३, सोमबार

घट्यो काफल उत्पादन

blog

शारदा समाचारदाता

शारदा (सल्यान), वैशाख २१ गते । सल्यानमा यस वर्ष काफल उत्पादन घटेको छ । जङ्गल, किसानका ढिक तथा काल्ना क्षेत्रमा पाइने काफल अघिल्ला वर्षको तुलनामा कम फलेपछि स्थानीयको आम्दानीको स्रोतमा समेत असर परेको छ । परम्परागत रूपमा काफल सङ्कलन गरी बिक्री गर्दै आएका यहाँका स्थानीयले यसबाट राम्रो आम्दानी गर्दै आएका थिए । 

विशेष गरी जिल्लाको कपुरकोट, त्रिवेणी, छत्रेश्वरी, कालिमाटी, शारदालगायतका पालिका क्षेत्र काफलका लागि परिचित मानिन्छन् । यहाँ काफल पाक्ने मौसममा दाङलगायत छिमेकी जिल्लाबाट समेत सर्वसाधारण काफल खान आउने गर्छन् । यस वर्ष उत्पादन न्यून भएपछि पहिले जस्तो चहलपहल नभएको स्थानीयले बताएका छन् । अघिल्ला वर्षमा प्रशस्त फल्ने काफल यस पटक निकै कम मात्रामा देखिएको छत्रेश्वरी गाउँकार्यपालिका सदस्य तिला घर्ती बताउनुहुन्छ । 

स्थानीयले काफल सङ्कलन गरेर नजिकैको बजारमा लगेर बिक्रीमार्फत आम्दानी गरेर घर खर्च चलाउने गरेको भए पनि निकै कम काफल फल्दा आयआर्जनमा प्रत्यक्ष प्रभाव पारेको उहाँको भनाइ छ । कपुरकोट क्षेत्रमा समेत निकै कम काफल फलेको कपुरकोट गाउँपालिका–४ का वडाध्यक्ष मित्रलाल कठायतले जानकारी दिनुभयो । उहाँका अनुसार यस क्षेत्रका मानिसले काफल फल्ने मौसममा २५ लाख रुपियाँभन्दा बढी आम्दानी गर्थे ।