गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २१ गते । साहित्यकार तथा लेखक पुष्पराज पाण्डेयले कथासङ्ग्रह ‘किनार’ बजारमा ल्याउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा सो कथा संग्रहको लोकार्पण गरिएको छ । सो कृति शिखा बुक्सद्वारा प्रकाशन गरी बजारमा ल्याइएको हो।
कृतिमाथि आफ्नो धारणा राख्दै ‘किनार’ कथासङ्ग्रहका सम्पादक, कवि तथा साहित्यकार सुभाषचन्द्र भण्डारीले ‘किनार’ नेपाली साहित्यिक बजारका लागि एक ओजिलो उपलब्धि भएको बताउनुभयो। पाण्डेयका कथामा सामाजिक यथार्थ र मिथकीय आञ्चलिकताको सन्तुलित सम्मिश्रण रहेको उहाँले बताउनुभयो ।
भण्डारीका अनुसार उत्तरआधुनिक तथा प्रयोगवादी शिल्प संयोजन र सामाजिक प्रतिबद्धताका दृष्टिले समेत ‘किनार’ नेपाली आख्यान क्षेत्रमा नवीन कृतिका रूपमा स्थापित हुनसक्ने सामर्थ्य बोकेर आएको छ। विशेषतः सुदूरपश्चिमेली जनबोलीमा आधारित थारू र डोटेली भाषाको सम्मिश्रण एवम् स्थानीय सांस्कृतिक गहिराइको प्रस्तुतिले कथाशिल्पमा बेजोड मौलिकता थपेको भण्डारीले बताउनुभयो ।
काठमाडौं ( साहित्यकार पुष्प राज पाण्डेयद्वारा लिखित कथासङ्ग्रह ‘किनार’को आज नेपाल प्रज्ञा प्रतिष्ठानस्थित पारिजात सभाकक्षमा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ। उक्त कृति शिखा बुक्सद्वारा प्रकाशन गरी बजारमा ल्याइएको हो।
समीक्षक अनुपमा रेग्मीले केही कथाहरूमा ‘कथाभित्र कथा’ संरचना देखिनु यसको आकर्षण रहेको बताउनुभयो । उहाँका अनुसार कृतिमा कथाकारको परिकल्पनाशील शक्ति प्रस्ट रूपमा अभिव्यक्त भएको छ। पत्रकार तथा समीक्षक राजेन्द्र बानियाँले पाण्डेयका कथाहरूले फरक स्वाद र दर्शन प्रस्तुत गरेको बताउनुभयो।
कृतिका लेखक पुष्पराज पाण्डेयले यो आफ्नो पहिलो कृति भएकाले केही कमजोरी हुन सक्ने स्वीकार गर्दै पाठक र समीक्षकका सुझावलाई आत्मसात गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आगामी वर्ष उपन्यास प्रकाशन गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।
प्रकाशक पुष्पराज पौडेलले उत्कृष्ट कृतिहरू प्रकाशन गर्न शिखा बुक्स सधैँ तत्पर रहेको उल्लेख गर्दै ‘किनार’ लाई अब्बल कृतिका रूपमा बजारमा ल्याइएको बताउनुभयो । पुस्तकको मूल्य ५९५ रूपियाँ रहेको छ। कृति लोकार्पण एवम् अन्तर्क्रिया कार्यक्रम पत्रकार यज्ञराज जोशीले सञ्चालन गर्नुभएको थियो ।