• २१ वैशाख २०८३, सोमबार

भाषामा लगानी उपलब्धिमूलक बन्नुपर्छ : मन्त्री श्रेष्ठ

blog

बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै ।

काठमाडौँ, वैशाख २१ गते । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले भाषामा गरिएको लगानी बालुवामा पानी खन्याए जस्तो हुन नहुने बताउनुभएको छ । 

प्रदेश भाषा दिवस, २०८३ को सन्दर्भमा सरोकारवालासँग अन्तरक्रिया तथा पत्रकार सम्मेलन कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो । मन्त्री श्रेष्ठले भाषा संरक्षण एवम् प्रवद्र्धनका लागि घरदेखि नै पहल हुुनुपर्ने भनाइ राख्नुभयो । 

उहाँले भन्नुभयो, “भाषा प्रवद्र्धन र रक्षाको लागि हामीबाटै सुरु गर्नुपर्छ । यसको लागि राज्यले लगानी गरिरहने, उपलब्धि चाहिँ शून्य हुने । मैले जे बुझें त्यही बोलेँ है ! मन्त्रालयले करोडौँ लगानी गर्दा कमसेकम एक वर्षमा कति प्रतिशतले नेवारी लेख्न सिके ? कति तामाङ लेख्न सिके ? भन्ने त्यसको तथ्य र तथ्याङ्क मन्त्रालयमा पेस हुनुपर्छ । मन्त्रालयले लिनु पनि पर्छ जस्तो लाग्छ ।”

बागमती प्रदेशमा नेवार र तामाङ भाषा सरकारी कामकाजको भाषाको रुपमा प्रयोग हुँदै आएको छ । उहाँले भाषा कार्यान्वयनमा नेवा देय् दबूः र नेपाल तामाङ घेदुङसँग सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “हामीले गरेको लगानी ठीक ठाउँमा हुनुपर्छ । त्यसको लागि परिणाम निकाल्नुपर्छ । कला, भाषा, संस्कृति जोगाउने काममा बागमती प्रदेश सरकार तपाईहरुको मागहरु पुरा गर्न, तपाइको समस्या समाधान गर्न तयार छ ।”

मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले भाषा संरक्षण, प्रवद्र्धन एवम् कार्यान्वयनका सन्दर्भमा गत आर्थिक वर्ष दुई करोड भन्दाबढि बजेट विनियोजन भएको जानकारी दिनुभयो । 

उहाँकाअनुसार नेपाली, तामाङ र नेपाल भाषामा त्रैमासिक बुलेटिन प्रकाशनका लागि आठ लाख, तामाङ र नेपाली भाषा अनुवाद सफ्टवेयर निर्माण खरिदमा २० लाख, प्रदेश भाषा स्मारिका प्रकाशनमा पाँच लाख, भाषा संस्कृति कला सम्पदाको प्रवद्र्धन तथा जगेर्णाका लागि एनिमेटेड कार्टुन निर्माणमा ४५ लाख, भाषा ऐन कार्यान्वयन तथा भाषा दिवस कार्यक्रम सञ्चालनका लागि २८ लाख रुपियाँ बजेट विनियोजन तथा कार्यक्रम भएको छ । 

यसैगरी, नेवा देय् दबूः र नेपाल तामाङ घेदुङ केन्द्रीय कार्य समितिसँगको सहकार्यमा प्रदेश सरकारी कामकाजको भाषा ऐन कार्यान्वयन कार्यक्रममा २८ लाख, अनुसन्धान बापत १० लाख, प्रशिक्षण सञ्चालन २८ लाख, संस्कृति पाली र मगर भाषा प्रशिक्षणमा ३३ लाख ८० हजार, बालबालिकामा मातृभाषा प्रवद्र्धनका लागि पाठ्य सामग्री विकासमा १४ लाख र बागमती प्रदेश साहित्य सम्मेलन, बाल साहित्य सम्मेलन र लेखक सम्मेलनका लागि २७ लाख ५० हजार रुपियाँ बजेट विनियोजन भएको उहाँको भनाइ छ । 

उहाँकाअनुसार यस वर्ष तेस्रो प्रदेश भाषा दिवस बागमती प्रदेशका मुख्यमन्त्रीको प्रमुख आतिथ्यतामा भक्तपुरमा मनाइने छ । भक्तपुरको दुधपाटीमा बिहान ८ बजे प्रभातफेरी हुने र कमलविनायक हुँदै स्वप बैंक्वयटमा मूल समारोह आयोजना हुने उहाँको भनाइ छ । 

भाषाविद् डा. लोकबहादुर लोप्चनले मातृभाषालाई शिक्षा र पत्रकारितासँग जोड्न सक्नुपर्ने भनाइ राख्नुभयो । पर्यटन कार्यालय काठमाडौँका कार्यालय प्रमुख पवन कुमार पोखरेलले बागमती प्रदेशभित्र बोलिने सबै मातृभाषाको अपनत्व हुने गरी प्रदेश भाषा दिवस मनाउनुपर्ने बताउनुभयो । 

कार्यक्रममा, नेवा देय् दबूः का महासचिव श्रीकृष्ण श्रेष्ठ, नेपाल तामाङ घेदुङ केन्द्रीय कार्य समितिका उपाध्यक्ष सन्चु ब्लोन तामाङ, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का कोषाध्यक्ष अर्जुनबहादुर तामाङ लगायतले मातृभाषालाई सरकारी कामकाजको भाषा कार्यान्वयनका सन्दर्भमा आवश्यक ऐन र कार्यविधि निर्माण गर्न पहल गर्नुपर्नेमा जोड दिनुभयो । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।