• ११ चैत २०८२, बुधबार

यस्तो छ नयाँ संसद भवनको आकस्मिक तयारी

blog

काठमाडौँ, चैत ११ गते । प्रतिनिधि सभाका नवनिर्वाचित दुई सय ७५ सांसदको शपथ यही चैत १२ गते दिउँसो २ बजेका लागि तय भएको छ । 

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ध्वस्त भएको थियो । अब, सिंहदरबारमा अल्पकालीन अवस्थाका लागि निर्माण हुँदै गरेको भवनमा संसद बैठक बस्दैछ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सिंहदरबारमा निर्माणाधीन भवन निर्माणको काम पूर्णरूपमा सम्पन्न नभएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “पूर्णरूपमा हाम्रा १२ वटा भवनहरू हुन् । पूर्णरूपमा कुनै पनि बनेका छैनन् । कम्प्लिट भएर हामीलाई उपलब्ध भएका छैनन् । अहिले भनेको इमर्जेन्सी सेट अप हो । आकस्मिक रूपमा व्यवस्थापन गरिएको यद्दपि, संरचनागत रूपमा सबै भवनहरूमा संरचना चाहिँ भइसकेको अवस्था छ ।”

नयाँ संसद भवन निर्माण तथा यसका तयारीका सन्दर्भमा सङ्घीय संसद सचिवालयका प्रवक्तासँग गरिएको संवादका आधारमा सपना थामी र केशब गुरुङले तयार पार्नुभएको भिडियो संवाद : 

१) ‘जेनजी आन्दोलन’ को पृष्ठभूमिमा सम्पन्न निर्वाचनपछि संसद्ले नयाँ स्वरूप पाउँदैछ । सचिवालयले पहिलो अधिवेशन सञ्चालनका लागि के–कस्ता विशेष तयारी गरिरहेको छ ? 

प्रतिनिधि सभाको निर्वाचन पछाडि अधिवेशन आह्वान हुने, अधिवेशन आह्वान हुनुभन्दा अगाडि शपथ ग्रहण गराउनुपर्ने, अधिवेशन पछाडि नियमित बैठक बस्ने गर्छ । हाम्रो अभ्यास पनि त्यही हो र कानुनी व्यवस्था पनि त्यही नै हो । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइसके पछाडि ३० दिनभित्र अधिवेशन आह्वान हुनुपर्ने संवैधानिक व्यवस्था छ । यद्दपि, आजको मितिसम्म अधिवेशन आह्वान भइसकेको छैन । तथापि, सचिवालयले यही १२ गते दिउँसो २ बजे का लागि प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूका लागि शपथको कार्यक्रम राखेको छ । सूचना प्रकाशित गरेको छ । हामी शपथबाट सुरु गर्छौं । शपथबाट सुरु गरिसकेपछि त्यही बिचमा हामी अहिलेसम्म डेट फिक्स भइसकेको छैन, ओरेन्टेसन एउटा राख्ने कि भन्ने छ । आरेन्टेसन कार्यक्रम पनि हामी सम्भवत गर्छौं । त्यसपछि अधिवेशन आह्वान भइसकेपछि हामी प्रतिनिधि सभाको बैठकमा प्रवेश गर्छौं । पहिला बैठकका केही गर्नैपर्ने कामहरू हुन्छन् । जस्तो सभामुखको निर्वाचन गर्नैपर्ने हुन्छ । त्यसैगरी, उपसभामुखको निर्वाचन गर्नैपर्ने हुन्छ । ती सामान्य प्रक्रियाहरू, सामान्य प्रक्रिया भनेको मतलब सुरुकै बैठकमा गर्नैपर्ने प्रक्रियाहरू पूरा भइसके पछाडि हामी सरकारले दिने बिजनेसमा प्रवेश गर्छौं ।

यहाँले भन्नुभएको के के तयारी गर्नुभयो भन्ने प्रश्नमा हामीसँग संसद्को भवन थिएन, छैन । भदौ २३, २४ को आन्दोलनको क्रममा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जल्न पुग्यो । त्यसपछि हामीसँग बैठक बस्ने स्थान पनि थिएन । अहिले हाम्रो तयारी भनेको बैठक बस्ने स्थानको तयारी हो । जुन चाहिँ सिंहदरबारभित्रै निर्माण हुँदै गरेको संसद् भवन भनेर भनियो । तर, पछिल्लो समय हामीले बहुउद्देश्यीय सभाकक्षलाई बैठक सञ्चालन गर्ने, शपथ गर्ने कार्यलाई तयार गर्दैछौं । त्यसै गरेर बैठक कक्षलाई आवश्यक पर्ने भौतिक पूर्वाधारका साथसाथै प्राविधिक पक्षहरूको व्यवस्थापन गर्दैछौं । र सुरक्षाको पनि आवश्यक प्रबन्धको समन्वय गरिरहेका छौं । 


२०६४ सालदेखि २०८२ सम्म संसद् चलेको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अहिले क्षतिग्रस्त अवस्थामा छ । बैठक सञ्चालन गर्न सिंहदरबारको कक्षको तयारी गर्न कति सम्भव छ ?

निश्चय नै जब पहलो संविधान सभाको चुनाव भइसकेपछि ६०१ सदस्यलाई सिंहदरबारस्थित संसद् ग्यालरी बैठकमा स्थान पुग्ने थिएन । त्यस अवस्थामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसँग सम्झौता गरेर सचिवालयले सम्मेलनभित्र प्रयोगमा लिएर आयो । पछि लामो समयसम्म अस्तिको आन्दोलनसम्म पनि हामी त्यही अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई नै संसद् भवनको रूपमा प्रयोग गर्दै आयौं । भवन नै थिएन, अहिले पनि छदै छैन । अहिले पनि बन्दै गरेको भवन निर्माण सम्पन्न भइसकेको अवस्था छैन । खासगरी, यही बिचमा धेरै प्रयासहरू भए । जबकी यो ठेक्का लगाइसकेपछि २०७९ सालमै अहिले बन्दै गरेको भवन बनी सकेर संसद् सचिवालयलाई हस्तान्तरण हुनुपर्ने थियो । त्यो  पनि हुन सकेन । पछि म्याद थपेपछि यही सालको पुस १६ गते हस्तान्तरण हुनुपर्ने थियो त्यो पनि हुन सकेन । त्यसपछि गएर चैतसम्ममा सभाकक्ष मात्रै भए पनि चैतको पहिलो हप्तासम्ममा उपलब्ध गराउँछौं भन्ने नेपाल सरकारको भनाइ रह्यो त्यो पनि सम्भावना नभइसकेपछि बहुउद्देश्यीय हलमा हामीले काम गरिरहेका छौं । कति सम्भव भन्ने कुरा यस्तो हुन्छ, सम्भव बनाउनका लागि प्रयास गरिरहेका छौं । 

अब केही नभए पनि सभाकक्ष छोडेर निर्माण सम्पन्न नभए अन्य प्रयोजनका लागि जस्तो भोलि त्यहाँ कार्यक्रमहरू गर्नुपर्ला । सचिवालय गर्नुपर्ला । कुनै दलको संसदीय बैठकहरू बस्नुपर्ला । नयाँ भवनमा गइसकेपछि ठुलो सङ्ख्यामा दुइटा सभाका सदस्यबिच केही काम गर्नुपर्ला । त्यसका लागि भनेर परिकल्पना गरिएको बहु्उद्देश्यीय सभाकक्षलाई अहिले हतार–हतार भौतिक पूर्वाधारको काम सम्पन्न गर्ने र सञ्चालनमा ल्याउने कोसिस गरिरहेका छौं । तयारीको अवस्था यही नै हो । हामीले छिटोभन्दा छिटो अहिले बन्दैगरेको प्रतिनिधिसभाको सभाकक्ष त्यसैगरी राष्ट्रिय सभाको सभाकक्ष लगायत हाम्रा त्यहाँ भएका १२ वटा भवनहरू छिटोभन्दा छिटो निर्माण सम्पन्न गरेर उपलब्ध गराउन अनुरोध पनि गरिरहेका छौं । 


नयाँ संसद् भवनमा सबै प्राविधिक र भौतिक पूर्वाधारहरू पूर्णरूपमा तयार भइसकेका हुन् ?

पूर्णरूपमा भन्ने शब्द चाहिँ अहिले भन्न सकिन्नँ किनभने पूर्णरूपमा निर्माण सम्पन्न भइसकेको भए त हामीहरू प्रतिनिधि सभाको सभाकक्षमै हामी बैठक सञ्चालन गर्थ्याै नि त्यो सम्भव भएन । पूर्णरूपमा हाम्रा १२ वटा भवनहरू हुन् । पूर्णरूपमा कुनै पनि बनेका छैनन् । कम्प्लिट भएर हामीलाई उपलब्ध भएका छैनन् । अहिले भनेका इमर्जेन्सी सेट अप हो । आकस्मिक रूपमा व्यवस्थापन गरिएको यद्दपि, संरचनागत रूपमा सबै भवनहरूमा संरचना चाहिँ भइसकेको अवस्था छ । त्यसको फिनिसिङको काम भयो भौतिक पूर्वाधारतर्फ प्राविधिक पक्षतर्फका कामहरू भए । इन्टेरियर डेकोरेसनका कामहरू भए लगायतका कामहरू बाँकी नै छन् । 

बानेश्वर भवनको विकल्पमा लाग्ने व्यवस्थापकीय खर्च र सिंहदरबारभित्र निर्माणाधीन नयाँ भवनको अन्तिम लागतबारे हालको स्थिति के छ ?

हामीले बानेश्वरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द भाडामा लिएर सञ्चालन गरेका थियौं । हामीले सुरुमा भाडामा लिँदा ७ करोड वार्षिक जस्तो हामीले तिर्थ्याै । तर पछि आन्दोलनले क्षतिग्रस्त हुनु अगाडिसम्म यो बढेर झण्डै १७ करोडसम्म पुगेको थियो । वार्षिक भाडा हामीले त्यति बुझाएका थियौं । यद्दपि, कानुन आयोगले पनि केही प्रतिशत रकम बेहोर्ने गरेको थियो । आयोगको कार्यालय पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै थियो । कस्ट सेयरिङ चाहिँ भएको थियो । अहिले हामीले भाडा तिर्नुपर्दैन । अब बहुउद्देश्यीय सभाकक्षमा गइसकेपछि । तर, सञ्चालन खर्च, व्यवस्थापनको खर्च त हामी सचिवालयबाट त्यहाँ जान्थ्यौं झोलामा सामान हालेर । त्यहाँ सञ्चालन गरेपछि फेरि हामी सिंहदरबार फर्केर बस्थ्यौं । त्यो समस्याहरू थियो । अहिलेको खर्च भनेको हामी सिंहदरबारभित्र नजिकै छौं । आफ्नै भवन छ, भाडा तिनुपर्दैन सबैभन्दा ठुलो कुरा र अहिले फुल्ली अपरेसनमा आएको छैन किनभने १२ वटा भवनहरू कम्प्लिट्ली निर्माण सम्पन्न भएका छैनन् । त्यसकारण, कति खर्च लाग्छ भनेर अहिले नै भनिहाल्न सक्ने अवस्था छैन । भोलि सबै भवनहरू निर्माण सम्पन्न भएर जस्तो पुस्तकालय भवन छ, संसद सचिवालयका दुइटा भवन छन्, पदाधिकारीको भवन छ, संसदीय दलको कार्यालय छ । चमेना गृह छ । प्रेस छ धेरै छन् । ती सबै सञ्चालन गर्दा आउने खर्च पक्कै पनि ठुलो चाहिँ ठुलो हुन्छ । यद्दपि, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई तिर्ने रकमले पुग्छ कि भनेर हामीले सोचिरहेका छौं । 

यदि नयाँ भवन पूर्णरूपमा तयार भएन भने अधिवेशन सुरु गर्न सचिवालयले के कस्तो वा वैकल्पिक स्थानको खोजी गरेको छ ?

पूर्णरूपमा त मैले अघि भनिहालें, पूर्णरूपमा निर्माण सम्पन्न भएकै छैन । अझै कति समय लाग्छ हामी भन्न सक्दैनौं । किनभने हामी निर्माण कार्यमा प्रत्यक्ष रूपमा सङ्लग्न छैनौैं । सहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण परियोजना अन्तर्गत पर्ने गरेको संरचना हो यो । पूर्णरूपमा छैन । अहिले जे जति छ, त्यही बहुउद्देश्यीय हल भनेर हामीले भन्यौं अन्य परियोजनका लागि निर्माण गरिएको । उक्त हल पनि भौतिक  पूर्वाधार तर्फ हेर्दाखेरी थोरै काम गरे पनि त्यसमा बैठक सञ्चालन गर्न सकिन्छ कि, भन्ने देखिएर त्यसलाई तयार गरिएको अवस्था हो । त्यसले गर्दा अब जे जस्तो छ त्यसैमा चलाउने हो । त्यसमा अहिले खासगरी, अघि पनि मैले भनें, भौतिक पूर्वाधार एकदमै अन्तिम पुगेको छ । प्राविधिक पक्षहरूको व्यवस्थापन लगभग सकिएको छ । अब सुरक्षा समन्वयको काम चाहिँ भइरहेको छ । किनभने संसद बैठक चल्ने बित्तिकै त्यो संवेदनशील परिहाल्छ । सुरक्षाको दृष्टिकोणले संवेदनशील भएपछि आवश्यक व्यवस्थापन गर्नु अनिवार्य हुन्छ । हामीले त्यो काम गरिरहेको अवस्था छ ।


यस पटक सदनको गणित पूर्णतः फेरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटसहित भारी बहुमत प्राप्त गरेको छ भने अन्य पुराना दलहरूको उपस्थिति निकै कम छ। सदनभित्र सत्तापक्ष र प्रतिपक्षको सिट व्यवस्थापन कसरी मिलाइएको छ ?

संसदभित्रको सिट व्यवस्थापन गर्ने विभिन्न देशमा विभिन्न अभ्यासहरू छन् । हरेक देशले फरक फरक गरेका पनि छन् र हाम्रो पनि आफ्नै अभ्यास छ । खासगरी, सभामुखको निर्देशन बमोजिम सिट व्यवस्थापनको काम हुन्छ हाम्रोमा । हाम्रो अभ्यास कस्तो छ भने जहिले पनि हामी सत्तापक्षलाई दायापट्टि राख्छौं र सिट व्यवस्थापन गर्छौं । त्यसैगरी, प्रतिपक्षलाई सभामुखको देब्रेपट्टि स्थान उपलब्ध गराउँछौं । अगाडिपट्टिबाट हेर्दा ठ्याक्क सभामुख हुनुभयो । उहाँको दायापट्टि सत्तापक्ष बस्ने भयो । देब्रेपटि प्रतिपक्षहरू बस्ने भए र बिचमा चाहिँ हामीले सरकारका लागि स्थान उपलब्ध गराएका हुन्छौं । हामीले अभ्यासमा लिएर आएको सिट व्यवस्थापन यही नै हो । 

यस पटक ठुलो सङ्ख्यामा नयाँ र युवा सांसदहरू आउँदै हुनुहुन्छ । उहाँहरूको शपथ ग्रहण र संसदीय मर्यादा, नियमावली एवं प्रक्रियाका बारेमा जानकारी दिन गरिने अभिमुखीकरणका लागि सचिवालयले कस्तो खाका बनाएको छ ?

सचिवालयले केही दिन अगाडि हरेक दलका प्रतिनिधि सदस्यहरूसँग सर्वदलीय बैठक गरेको थियो । मूलतः त्यो बैठकमा शपथ, अभिमुखीकरण कार्यक्रम र संसदीय दलको कार्यालय व्यवस्थापन सन्दर्भमा छलफल भएको थियो । अभिमुखीकरण कार्यक्रम जरुरी छ । सैद्धान्तिकभन्दा पनि व्यावहारिक पक्षहरू समेटिएको अभिमुखीकरण कार्यक्रमले प्रतिफल दिन सक्छ भन्ने खालको उहाँहरूको भनाइ रहेको थियो । सचिवालयले पनि उपयुक्त समयमा अभिमुखीकरण कार्यक्रम गर्ने भन्ने हाम्रो कार्यक्रम नै छ । यद्दपि, मिति अहिले नै टुङ्गो लागिसकेको छैन । पहिला तशपथ हुनुपर्‍यो । शपथ १२ गते २ बजेको लागि राखिएको छ । त्यसपछि अधिवेशन आह्वान हुनुभन्दा अगाडिको बिचको समयमा पनि अभिमुखीकरण कार्यक्रम हुन सक्छ । या कुनै अनुकुल नभएमा बैठकहरू बस्ने दिनहरूमा जतिबेला खाली हुन्छ, त्यतिबेला भए पनि अभिमुखीकरण कार्यक्रम गर्ने भन्ने छ । समस्या कस्तो छ भन्दा अभिमुखीकरण कार्यक्रम गर्नका लागि पनि हामीसँग २७५ जना सदस्य अट्ने सभाकक्ष अथवा हलको उपलब्धता अहिले छैन । त्यही भएर कुन मोडलमा गर्ने भनेर अहिले सचिवालयले सोचिरहेको छ । यो विषयमा पुनः राजनीतिक दलका प्रतिनिधिसँग बस्न सक्ने अथवा बस्न पर्ने अवस्था पनि हुन सक्छ । 

सिंहदरबारको संसद् भवनमा बैठक सञ्चालनका लागि जम्मा कति वटा भवन छन् ? कति वटा बैठक कक्ष छन् ? यसको निर्माण सम्पन्न हुँदा कति खर्च लाग्ने अनुमान छ ?

हामीसँग सभाकक्ष भनेको एउटा प्रतिनिधिसभाको सभा कक्ष भयो अर्को राष्ट्रिय सभाको सभा कक्ष भयो । सभाकै कक्ष दुइटा भयो । संयुक्त सभाकक्षका लागि छुट्टै सभाकक्षको व्यवस्था छैन । त्यतिबेला प्रतिनिधि सभाकै सभाकक्ष सञ्चालनमा ल्याउने भन्ने छ । अरू सभाकक्ष भनेको हामीसँग समेटिएका सभा कक्ष हुन् । समितिका सभाकक्षकै कुरा गर्नुपर्दा विषयगत समितिहरू प्रतिनिधिसभातर्फ दस वटा राष्ट्रिय सभातर्फ चार वटा र संयुक्त समिति दुई वटा गरेर जम्माजम्मी १६ वटा समितिको हल व्यवस्थापन नयाँ भवनमा बन्ने गरेको छ । नयाँ भवनमा जम्माजम्मी १२ वटा संसद भवन परिसरभित्र जम्माजम्मी १२ वटा भवनहरू हो हाम्रो । अब लागतको कुरा गर्दाखेरी चाहिँ आठ अर्ब प्लसमा यो लागत रहेको छ । 

नयाँ संसद् भवनभित्र सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानमन्त्रीका लागि छुट्टाछुट्टै कार्यकक्षको व्यवस्थापन भइसकेको छ ? विशेष गरी सुरक्षा संवेदनशीलता र कार्यसम्पादनको सहजतालाई ध्यानमा राखेर कस्तो आन्तरिक प्रबन्ध मिलाइएको छ ?

भिआइपी बिल्डिङ भनेर एउटा छ त्यसमा सभामुखज्युको कार्यकक्ष । त्यसै गरेर राष्ट्रिय सभा अध्यक्षज्युको कार्यकक्ष, प्रधानमन्त्रीज्युको कार्यकक्ष, कानुनमन्त्रीको कार्यकक्ष गरेर एउटा भवन चाहिँ त्यहाँ डेडिकेटेड भवन छ । यद्दपि, उक्त भवन पनि अहिले गएर प्रयोग गर्न सक्ने अवस्थामा छैन । तत्कालका लागि सभामुखज्युका लागि बहुउद्देश्यीय सभाकक्षसँगै अस्थायी रूपमा एउटा, दुई वटा कोठाको व्यवस्थापन गरिएको छ । अहिले तत्काललाई त्यही बसेर कार्य सम्पादन गर्नुपर्ने हुन्छ । आगामी दिनका लागि निर्माण सम्पन्न भइसकेपछाडि उहाँहरूका लागि सुविधासम्पन्न भनिएको छ । त्यो उहाँहरूको कार्यालय, कार्यकक्ष उपलब्ध हुने छ । निश्चय नै संसदको प्रतिनिधिसभा, राष्ट्रिय सभाको बैठक बस्ने भन्ने बित्तिकै सुरक्षा संवेदनशीलता हुन्छ नै । त्यसमा हामीले अब भित्रको सुरक्षाको जिम्मेवारी त हाम्रै सचिवालय अन्तर्गत रहने मर्यादापालन तथा सुरक्षा महाशाखा, शाखाको रहन्छ नै । तर, बाहिरको सुरक्षाको जिम्मा नेपाल सरकारको हुन्छ । यो विषयमा सचिवालयले नेपाल सरकारलाई पत्राचार गरिसकेको छ । आवश्यक व्यवस्थापन हुन्छ । संसद एकदम संवेदनशील अङ्ग पनि हो त्यसकारण सुरक्षाको आवश्यक प्रबन्ध हुने कुरा उहाँहरुले जानकारी गराउनुभएको छ । 


शपथ ग्रहणमा मातृ भाषामा शपथ लिन चाहने सांसदका लागि कस्तो व्यवस्था मिलाइएको छ ?

शपथसम्बन्धी कानुनी प्रावधान अन्तर्गत यदि आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले तीन दिनभित्र सचिवालयमा जानकारी उपलब्ध गराउनुपर्ने छ भन्ने व्यवस्था छ । आउँदो १२ गते २ बजे शपथ हो आज ९ गते तीन दिन अगाडि आज ५ बज्न बाँकी नै छ । यद्दपि, अहिले १० जना जति सदस्यहरूले विभिन्न भाषामा शपथ गराउने जानकारी गराइसक्नुभएको छ । अहिले मैले भनेको तथ्याङ्क बेलुकासम्म फरक पनि पर्न सक्छ । यद्दपि, डोटेली, मैथिली, बज्जिका लगायतका भाषामा उहाँहरूले शपथ गराउने भनेर केही सदस्यहरूले जानकारी गराउनुभएको अवस्था छ । उहाँहरूले त्यो अनुवाद गरेको कपी सचिवालयमा उपलब्ध गराउनुपर्ने छ । उहाँहरुले उपलब्ध गराउने क्रम जारी छ । 

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्नुपर्दा नयाँ हलको क्षमता कस्तो छ ? दुवै सदनका सदस्यलाई एकै ठाउँमा अटाउन सक्ने गरी सिट, माइक र ’भोटिङ सिस्टम’ को व्यवस्थापन कसरी मिलाइएको छ ?

अहिले जुन बहुउद्देश्यीय सभाकक्ष भनिएको छ, बहुउद्देश्यीय सभाकक्षको क्यापासिटी भनेको २८० मात्रै हो । २७५ प्रतिनिधि सभा सदस्य हुनुभयो । बैठक सञ्चालनका लागि सचिवालयका कर्मचारी पनि त्यहाँभित्र हुनुपर्ने आवश्यकता रहन्छ । केही प्राविधिक जनशक्ति पनि रहन्छ । अहिलेको अवस्था हेर्दँ नै बहुउद्देश्यीय सभाकक्षबाट प्रतिनिधि सभाको बैठक सञ्चालन गर्नका लागि पनि टाइट टाइट हुने अवस्था छ । यद्दपि, भोलिका दिनमा संयुक्त बैठक बस्नुपर्छ । त्यस्तो अवस्थामा अर्को विकल्प नभएकोले थप मेचहरू हालेर अगाडि बढ्नुपर्ने हुन सक्छ कि जस्तो  भन्ने पनि देखिएको छ । हेरौं, त्यति बेलासम्ममा प्रतिनिधि सभाको सभाकक्ष त्यसको स्थायी सभाकक्ष छ, यदि त्यो बनेको अवस्थामा थप सहज हुने छ । अन्यथा अलिकति अप्ठ्यारो, अलिकति टाइट भएर बसेर भए पनि व्यवस्थापन गर्नुपर्ने देखिन्छ । 

संसद्लाई ’पेपरलेस’ बनाउने सन्दर्भमा कुनै नयाँ सफ्टवेयर वा प्रणाली कार्यान्वयनमा ल्याइँदै छ ? साथै, भौतिक पूर्वाधारको चुनौतीका बिच के केही समयका लागि ‘भर्चुअल’ वा ’हाइब्रिड’ बैठक बस्ने सम्भावनाबारे पनि छलफल भइरहेको छ ?

हामीसँग पहिलाको भन्दा अहिले सूचना प्रविधिको प्रयोग बढेकै छ । हाम्रोमा मात्र होइन, ओभरल देशभरी नै सबै क्षेत्रमा बढेकै हो । हामी पहिलाको तुलनामा बढी नै प्रयोग गर्छौं विभिन्न एप्लिकेसनहरू । अहिले पनि हाम्रो सचिवालयले प्रयोग गर्ने करिब १० वटा सफ्टवेयर अथवा विभिन्न एप्लिकेसनहरूलाई इन्ट्रिगेसन गर्न खोजिरहेको अवस्था छ । हामीले आफ्नै डटा सेन्टर निर्माण गर्न खोजेको अवस्था छ । यद्दपि, यो हाम्रो निजी हो यसलाई कार्यान्वयनमा लान बाँकी नै छ । हामी डिजिटल सर्भिस दिनका लागि अहिले जे जति छ त्यसका लागि काम गरिरहेकै छौं भन्ने हो । जे होस् हामी डिजिटल्ली अगाडि बढ्नका लागि डिजिटल सर्भिस फ्लो गर्नका लागि डेलिभरी गर्नका लागि हामी तयारै छौं । जे जति छ हाम्रो अहिलेको अवस्था भ्याउने जति हामी गर्छौं । 

नयाँ बानेश्वरको बैठक कक्ष तयार गर्न कति समय र खर्च लाग्ने अनुमान छ ?

पहिलो कुरो त नयाँ बानेश्वर जुन हामीले भाडामा लिएका थियौं, हामीले भाद्र २४ गतेबाट लागु हुने गरेर हामीले सम्झौता रद्द गरिसक्यौं । त्यो नेपाल सरकार सहरी विकास मन्त्रालय अन्तर्गत रहेको निकाय हो । कति समय लाग्छ त्यसको पुनःनिर्माण गर्ने अथवा अरू केही गर्ने भन्ने विषयमा सचिवालय जानकार छैन । भाडामा लिएको सम्झौता हामीले रद्द गरिसके पछाडि हामीले तिर्नुपर्ने रकमहरू उपलब्ध गराइसकेका छौं भाद्र २४ गतेसम्मको । त्यसभन्दा पछाडिको त पुनर्निर्माण वा नयाँ निर्माण अथवा अन्य के कसरी गर्ने भन्ने सन्दर्भमा सचिवालयलाई आधिकारिक रूपमा कुनै जानकारी प्राप्त हुँदैन । 

नयाँ परिवेशमा सञ्चारकर्मीलाई समाचार सङ्कलन, छायाङ्कन र डिजिटल ’फिड’ उपलब्ध गराउन के–कस्ता अत्याधुनिक प्रविधिको व्यवस्था गरिएको छ? साथै, दर्शकदीर्घामा अतिथि र सर्वसाधारणको पहुँचलाई कसरी व्यवस्थित गरिँदै छ ?

प्रतिनिधिसभाको सभाकक्ष, राष्ट्रिय सभाको सभाकक्ष जुन हल बन्दै गरेको संसद भवनभित्र छ,  यो निर्माण सम्पन्न भएको अवस्थामा दर्शकका लागि, पत्रकारका लागि, अन्य सरकारी कर्मचारीका लागि अन्य आगन्तुकका लागि पनि सीट व्यवस्थापन हुन सक्छ । तर, अहिले जुन अल्पकालीन रूपमा सेट अप गरिएको छ, त्यसका सञ्चारकर्मीको प्रवेश पनि त्यति सहज छैन । भनेको उपलब्ध स्थान उपलब्धता न्यून हुने देखिन्छ । फोटो पत्रकारका लागि केही स्पेस उपलब्ध गराउनैपर्ने अवस्था छ । त्यो बारेमा सचिवालयले सकेसम्म उपलब्ध गराउछ । दर्शकहरूको माझ चाहीँ हामी युट्युब च्यानलबाट लाइभ आउने प्रयास गर्दैछौं । लाइभ आउँछ । अन्य लाइभ ब्रोडकास्ट गर्न चाहने निकायले चाहेको अवस्थामा हामी फिड उपलब्ध गराउने कि भनेर कोसिस गरिरहेका छौं । यदि फिड उपलब्ध गराउन सक्यौं भने यसरी लाइभ ब्रोडकास्टमा जान चाहने मिडियालाई हामी हुक गर्ने व्यवस्था मिलाउँछौं । अन्यथा अहिले यो अल्पकालीन सेट अप हो । अल्पकालीन सेट अप यहाँहरूले पनि बुझ्नुहुन्छ, अल्पकालीन सेटअपमा केही कुरा गाह्रो हुन्छ । हामी सकेसम्म उपलब्ध गराउन कोसिस गर्छौं । तर, प्रतिनिधि सभाको भवन बनिसके पछाडि बानेश्वरमा हाम्रो क्यापासिटी ६ सयको थियो । यसका तीन सयको । दर्शक, पत्रकार, लगायत आगन्तुकहरूलाई त्यसमा ठ्याक्क आधा चाहिँ उपलब्ध गराउन सकिने अवस्था रहन्छ । 

संसदीय रिपोर्टिङ गर्ने पत्रकारलाई प्रवेशको व्यवस्था कसरी मिलाइएको छ ?

संसदको रिपोर्टिङ गर्ने पत्रकारहरूको पहिला जे व्यवस्था थियो, अहिले पनि त्यही नै व्यवस्था छ । यहाँहलाई थाहा छदैछ, सञ्चारकर्मीको सङ्ख्या, सञ्चारगृहको सङ्ख्या र हामी कहाँ उपलब्ध हुने सीट सङ्ख्याको बारेमा यहाँहरू जानकार नै हुनुहुन्छ । यद्दपि, सचिवालयले प्रक्रिया पूरा गरी सकेपछाडि पास उपलब्ध गराउछ । सचिवालयले उपलब्ध गराउने प्रवेश पास लिएर संसद्को रिपोर्टिङ गर्न पाइन्छ । संसद परिसरमा बसेर सकेसम्म संसदमा परिसरमा भए पनि बहुउद्देश्यीय सभा कक्षको तलपटि ग्राउन्ड अथवा भित्रपटि ग्राउन्ड फ्लोरसम्म भए पनि उहाँहरूलाई व्यवस्थित गर्ने भनेर सोचिएको छ । 

संसद्को आफ्नै च्यानल, मोबाइल एप वा अन्य डिजिटल माध्यमबाट आम जनताले सदनका कामकारबाही र बैठकहरू प्रत्यक्ष रूपमा हेर्न पाउने व्यवस्थामा केही नयाँ सुधार गरिँदै छ कि पुरानै पद्धतिले निरन्तरता पाउँछ ?

यसमा दुइटा कुरा हुन्छ । एउटा कुरा त हामी फुल फिनिस भइसके पछाडि भवनको काम हामीलाई हस्तान्तरण भइसके पछाडि हामीले अब्बल खालको राम्रो विश्वमा प्रचलित खालको आधुनिक खालको सिस्टम बनाउँछौं । भनेको हामीसँग मिडिया सेन्टर हुन्छ । हुक गर्नलाई धेर सञ्चारकर्मी साथीलाई त्यहाँबाट उपलब्ध हुन्छ । अहिलेको अवस्थामा त्यो छैन । त्यसकारण, हामीले सकेको नयाँ दिने प्रयास गर्छौं । हामीसँग अहिले एक्सेस भनेको युट्युब च्यानल छ । हाम्रो पार्लियामेन्टको वेबसाइटमा जानुभयो भने त्यहाँ राष्ट्रिय सभा र प्रतिनिधिसभा दुई वटा जुन छान्नुहुन्छ, छानिसकेपछि त्यहाँ प्रत्यक्ष प्रसारण भन्ने लिङ्क आउछ । त्यो लिङ्क गर्नुभयो भने बैठक चलेको बेलामा लाइभ हेर्न पाउनुहुन्छ । बैठक नचलेको बेलामा बैठक चलिसकेको भिडियोहरू हेर्न पाउने अवस्था छ । अहिले तत्कालको इमरजेन्सी सेटअप त्यही हो । भोलिका दिनमा हामी अन्य सोसल मिडियाबाट पनि आउने प्रयास गर्दैछौं । आफ्नै टेलिभिजन च्यानल, आफ्नै एफएम, रेडियोहरू पहिला हाम्रो योजनामा थियो । अहिले प्रविधिमा भएको विकास सँगसँगै सोसल मिडियातिर अलि बढी ध्यानकेन्द्रीत गर्न जरुरी छ भन्ने लागेको छ । सचिवालयलाई आगामी दिनमा सेवा गर्ने अथवा हामीले उपलब्ध गराउनुपर्ने विषयमा उपलब्धता विविधीकरण हुने नै छ । अहिले तत्कालका लागि चाहिँ युट्युब च्यानमार्फत यहाँहरूमाझ आउँदैछौं । 

नयाँ बानेश्वर र सिंहदरबारको बैठक कक्षमा प्राविधिक हिसाबले के भिन्नता छ ? डिजिटल प्रविधिको प्रयोगलाई कति प्राथमिकतामा राखिएको छ ?

भिन्नता निश्चय नै छ । अब, तत्कालीन समयमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पनि सुविधासम्पन्न र प्रविधियुक्त सभाकक्ष नै मानिन्थ्यो । त्यतिबेला त्यहाँ तत्कालीन समयमा चलेको राम्रो प्रविधि थियो । त्यो हामीले प्रयोग पनि गर्‍यौं । ठुलो काम पनि दिएको हो उक्त सभाकक्षले, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले । अहिले हामी आउनेमा डबल तरिकाबाट हेर्नुपर्छ । एउटा प्रतिनिधि सभाको सभाकक्ष बनिसके पछाडि हामी एड्भान्स टेक्नोलोजीसहित आउँछौं त्यसका शङ्कै भएन । हाम्रो त्यही खालको सेट अप हुन्छ । तर, अहिले हाम्रो इमरजेन्सी सेटअप हो । अहिले हामी लिमिटेड सर्भिससहित आउँछौं १२ गते पछाडि । त्यसपछि निर्माण सम्पन्न भइसके पछाडि अहिलको लेटेस्ट खालको अडियो कन्फरेसिङ सिस्टम । भिडियो कन्फरेसिङ सिस्टम लगायतको हाम्रो पहुँच नै धेरै माथि पुग्ने गरेर हामी आउँछौं । हामी जहिले पनि नवप्रवर्तनमा विश्वास गर्छौं । सूचना प्रविधिमा भएका प्रगति र विकासलाई अवलम्बन गर्ने हाम्रो प्रयास सदैव रहन्छ ।


Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।