• १३ चैत २०८२, शुक्रबार

यस्तो बन्यो बालेन्द्र मन्त्रिपरिषद्

blog

प्रधानमन्त्री बालेन्द्र शाह र उहाँका मन्त्रिपरिषद् सदस्य ।

काठमाडौँ, चैत १३ गते ।  प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का १५ सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री शाहले शपथ लिनु भएलगत्तै नवनियुक्तमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीले शपथ लिनुभएको हो । 

प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिपरिषद्‍मा अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुदन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेश पौडेल, शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल हुनुहुन्छ । 

त्यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानीमन्त्री निशा मेहता, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिना, भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, कृषि तथा पशुपक्षी विकास तथा वन र वातावरणमन्त्री गीता चौधरी, श्रम, रोजगार मन्त्री दीपक साह र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । 


प्रधानमन्त्री बालेन्द्र शाह

प्रधानमन्त्री बालेन्द्र शाह नेपालको संविधानको धारा ७६ (१) बमोजिम प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।  काठमाडौँमा जन्मनुभएका प्रधानमन्त्री बालेन्द्र शाहको पुख्र्यौली घर महोत्तरी हो । उहाँ २०८२ पुस १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्नुभएको हो । 

जेनजी विद्रोहपछि फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट बालेन्द्र ३६ वर्षमै प्रधानमन्त्री बन्न सफल हुनुभएको हो । बालेन्द्रको जन्म २०४७ साल वैशाख १४ गते काठमाडौँको नरदेवीमा बुवा डा.रामनारायण शाह र आमा ध्रुव्रादेवी शाहको कोखबाट भएको हो ।

बालेन्द्रले झापा–५ मा एमाले अध्यक्ष केपी ओलीलाई करिब ५० हजार मतान्तरले हराउँदै संसदमा प्रवेश गर्नुभएको हो । बालेन्द्रले ६८ हजार ३४८ मत पाउँदा ओलीले १८ हजार ७३४ मात्र पाउनुभयो छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाउनुभएको छ । गोरखा जिल्लामा जन्मनुभएका अर्थमन्त्री डा. वाग्ले बाल्यकालदेखि नै अध्ययनमा विशेष रुचि राख्नुहुन्थ्यो । उहाँले बेलायत, अस्ट्रेलिया र अमेरिकाका प्रख्यात शिक्षण संस्थाबाट अर्थशास्त्र र सार्वजनिक नीतिमा उच्च शिक्षा तथा विद्यावारिधिको उपाधि हासिल गर्नुभएको छ । 

गृहमन्त्री सुधन गुरुङ

सुधन गुरुङको स्थायी घर गोरखाको चुमनुब्री गाउँपालिका–३ सिर्दिवासस्थित पाङसिङ गाउँमा हो । उहाँ ‘हामी नेपाल’ का संस्थापक अध्यक्ष भएर सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएको थियो । उहाँ भदाै २३ र २४ गतेको जेनजी आन्दाेलनकाे एक अगुवा हुनुहुन्छ ।

परराष्ट्रमन्त्री शिशिर खनाल

उहाँ २०७९ मा छोटो अवधिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारीमा रहनुभएको थियो । उहाँले अमेरिकाको युनिभर्सिटी अफ वीसकन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर र वज्रपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा अध्ययन गर्नुभएको छ । 

भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयमा सुनिल लम्साल

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँसँग काठमाडौँ महानगरपालिकामा पूर्वाधार सल्लाहकार, फोहोर व्यवस्थापन, सार्वजनिक सम्पत्ति संरक्षण र सहरी अनुशासनलाई केन्द्रमा रहेर कार्य गर्नुभएको छ ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ

विराजभक्त श्रेष्ठ पूर्व युवा तथा खेलकुद मन्त्री हुनुहुन्छ । उहाँ २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि काठमाडौँ क्षेत्र नंं ८ बाट निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभा निर्वाचन २०८२ मा काठमाडौँ ८ बाट निर्वाचित सांसद हुनुहुन्छ । 

संस्कृतिमन्त्री खडक राज पौडेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा रास्वपाका केन्द्रीय सदस्य खडक राज पौडेलले पाउनुभएको छ । कास्की क्षेत्र नं. १ बाट निर्वाचित सांसद पौडल पोखराको मझेरीपाटनका स्थानीय बासिन्दा हुनुहुन्छ । 


शिक्षा र युवा मन्त्रालयमा सस्मित पोखरेल

सस्मित पोखरेल विगत एक दशकदेखि वैकल्पिक राजनीतिमा सक्रिय रही सार्वजनिक नीति र प्रणाली सुधारका क्षेत्रमा कार्य गर्दै आउनुभएको छ । उहाँले काठमाडौँ विश्वविद्यालयबाट कानुन (एल.एल.बी) र व्यवस्थापन (बी.बी.एम) अध्ययन गर्नुभएको छ । 

स्वास्थ्य मन्त्रालयमा निशा मेहता

स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्रीमा निशा मेहता नियुक्त हुनुभएको छ । स्थायी घर सुनसरी इनरुवाका मन्त्री मेहता रास्वपाको समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको हो । उहाँले भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गर्नुभएको छ ।

सञ्चार मन्त्रालयमा डा. विक्रम तिमिल्सिना

नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त हुनुभएको छ । पत्रकारिताबाट करिअर सुरु गर्नुभएका उहाँ करिब एक दशकअघि रेडियो सगरमाथामा कार्यक्रम उत्पादक तथा प्रस्तोताको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

अष्ट्रेलियाका ग्रिफिथ विश्वविद्यालय र क्विन्सल्याण्ड विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्नु भएका तिमल्सिना शिक्षा तथा सञ्चार क्षेत्रमा दीर्घ अनुभव भएका व्यक्तित्वका रूपमा चिनिनु हुन्छ। उहाँ विगत १५ वर्षदेखि सञ्चार, अनुसन्धान तथा शैक्षिक क्षेत्रमा सक्रिय रहँदै आउनु भएको छ ।

सङ्घीय मामिला र भूमि व्यवस्था मन्त्रालयमा प्रतिभा रावल

रास्वपाबाट समानुपातिक सांसद बन्नुभएका प्रतिभा रावल सङ्घीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त हुनुभएको छ । कञ्चनपुर, महेन्द्रनगरकी स्थायी बासिन्दा रावल नागरिक दैनिकको अङ्ग्रेजी संस्करण रिपलब्लिका हुँदै पछिल्लो समय ग्यालेक्सी फोरके टेलिभिजनमा सङ्लग्न हुनुहुन्थ्यो ।

कानुन मन्त्रालयमा सोविता गौतम

सोविता गौतम को जन्म दोलखामा भएको हो ।  उहाँ फागुन २१ गतेको चुनावमा चितवन क्षेत्र नंं ३ बाट निर्वाचित सांसद हुनुहुन्छ । ०५२ साल असारमा बुवा कृष्णप्रसाद र आमा गीताबाट दोलखमा जन्मनु भएकी गौतमले पहिलो पटक प्रतिनिधि सभा सदस्यका रुपमा २०७९ पुस ७ गते पद तथा गोपनीयताको शपथ लिनुभए थयो । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-४ कमेरेटारमा बस्दै आउनुभएकी गाैतमले कानुनमा स्नातक गर्नुभएको छ । उहाँसँग  कानुन, सञ्चार, गैरसरकारी र पर्यटन क्षेत्रमा काम गरेको अनुभव छ । 

कृषि र वन मन्त्रालयमा गीता चौधरी

कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्रीमा गीता चौधरी नियुक्त हुनुभएको छ । कञ्चनपुरकी स्थायी बासिन्दा  चौधरीले आफ्नो क्षेत्रका एक सय ५० भन्दा बढी गरिब, दलित र सीमान्तकृत नागरिकलाई जग्गा विवाद र घरेलु हिंसाका मुद्दामा कानुनी परामर्श दिनुभएको छ । 


श्रम मन्त्रालयमा दिपक कुमार साह

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा दिपक कुमार साह नियुक्त हुनुभएको छ । उहाँ महोत्तरी–२ बाट निर्वाचित सांसद हुनुहुन्छ । उहाँले लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनामा पिएचडी र लन्डन स्कुल अफ इकोनोमिक्सबाट हेल्थ पोलिसी, प्लानिङ एण्ड फाइनान्सिङमा स्नातकोत्तर गर्नुभएको छ ।

महिला तथा बालबालिकामा सीता वादी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा सीता वादी नियुक्त हुनुभएको छ । उहाँ पत्रकारिता र सामाजिक कार्यमा सक्रिय रहँदै रास्वपाको राजनीतिमा जोडिनुभएको हो ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।