काठमाडौँ, वैशाख ९ गते । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा (बादल) ले स्थापना दिवस आत्मसमिक्षा गर्दै रुपान्तरित हुने अवसर भएको बताउनुभएको छ । कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले स्थापना दिवसको अवसरमा नेपालको कम्युनिस्टहरुले इतिहासको खास–खास मोडमा महत्वपूर्ण निर्णायक भूमिका निर्वाह गरेको बताउनुभयो ।
उपाध्यक्ष थापाले भन्नुभयो, “यो ७७ वर्षमा नेपालका कम्युनिस्टहरुले इतिहासको खास – खास मोडमा महत्वपूर्ण निर्णायक भूमिका निर्वाह गरेका छन् । चाहे त्यो २००७ सालको लोकतान्त्रिक क्रान्ति होस्, चाहे त्यो २०४७ सालको लोकतन्त्रको पुनरस्थापनाको सवाल होस् या २०६२-६३ को जनआन्दोलनले स्थापित गरेको गणतन्त्रमा नेपाली कम्युनिस्टहरुको भूमिका होस् ।”
उहाँले यो लामो समयमा नेपालको कम्युनिस्ट आन्दोलनको मूलधारको रुपमा नेकपा (एमाले) रहेको बताउनुभयो । उहाँले २०७२ सालसम्म आइपुग्दा नेपाली कम्युनिस्टहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्नमा नेतृत्वदायी भूमिका खेलेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आजको दिन नेपालका कम्यु्निस्टहरुले आत्मसमिक्षा गर्ने अवसर पनि हो । आत्मसमिक्षा गर्ने, रुपान्तरित हुने, एकताबद्ध हुने र नयाँ अभियान र नयाँ विजयको निम्ति सङ्कल्प गर्ने दिन पनि हो । कमरेड अध्यक्षले यो सन्देश दिनुभएको छ, हामीले यो प्रण गरौं, हामीले अहिले जो पराजय भोगेका छौं, त्यसलाई हामी विजयमा बदल्नेछौं ।”
उहाँले समाजवादको विजयको निम्ति आन्तरिक र बाह्यरुपमा दक्षिणपन्थी प्रवृत्तिलाई सङ्गठनात्मकरुपमा परास्त गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “समाजवादको विजयको निम्ति हामीले आन्तरिक रुपमा दक्षिणपन्थी प्रवृत्तिलाई संगठनात्मक रुपमा परास्त गर्न जरुरी छ । हामी आन्तरिक रुपमा र बाह्यरुपमा पनि दक्षिणपन्थी प्रवृत्ति र अराजकतावादलाई परास्त गरेर मात्रै समाजवाद विजयी हुन सक्छ । यो दशौं र एघारौं महाधिवेशनको मूल निश्कर्ष हो ।”
एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गएको निर्वाचनमा जनतासँगका सम्बन्धलाई नयाँ ढङ्गले परिभाषित गरेर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनतासँग विनम्र भएर प्रस्तुत हुन्छौं । जनतासँगको हाम्रो सम्बन्धलाई नयाँ ढङ्गले परिभाषित गर्छौं । नयाँ ढङ्गले जनतासँग जोडिएर हामी अगाडि बढ्छौं । यो एउटा धक्का, एउटा पराजय हो । विगतका धक्का, पराजयहरुभन्दा गम्भीर प्रकृतिको ठुलो चुनौतीपूर्ण पराजय हो । तर, हामीसँग यो पराजयलाई सामना गर्न सक्ने, यो धक्कालाई सामना गर्नसक्ने यो चुनौतीलाई सामना गर्न सक्ने, त्यो क्षमता छ ।”
उहाँले पार्टीमा समिक्षा गरेर फेरि अगाडि बढ्ने र एमालेलाई सङ्गठित र सुदृढ तुल्याउने बताउनुभयो । उहाँले भन्नुभयो, “फेरि पनि हामी समिक्षा गर्छौं, आफ्ना दोषहरु, आफ्ना भुलहरुलाई, आफ्ना कमजोरीलाई, सच्याउँछौं । एमालेलाई सङ्गठित र सुदृढ तुल्याउँछौं । र जनतातिर फर्किएर हामी हेर्छौं । जनताका सुझाव सुन्छौं जनताका आलोचना सुन्छौं ।”
नेता ईश्वर पोखरेल, उपाध्यक्षहरु गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, सचिवहरु भानुभक्त ढकाल, महेश बस्नेत, डा. राजन भट्टराई, शेरधन राई लगायतका नेताहरु उपस्थित हुनुभएको थियो । एमाले सचिव पद्मा अर्यालले कार्यक्रम सहजीकरण गर्नुभएको हो ।

