काठमाडौँ, वैशाख २९ गते । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा दुई हजार २५९ वटा वन डढेलोको घटना घटेको छ । जसबाट १२ करोडभन्दा बढी अनुमानित क्षति भएको छ भने आठसय ७१ परिवार प्रभावित भएका छन् ।
प्राधिकरणका अनुसार २०७८ मा ९२, २०७९ मा १९०, २०८० मा ४९२, २०८१ मा ११ सय ९७ र २०८२ मा २८८ वटा वन डढेलोका घटना घटेका छन् ।फागुन महिनादेखि वैशाखसम्म वन डढेलोको जोखिम बढी हुने गर्दछ । वन तथा भूसंरक्षण विभागको वन व्यवस्थापन महाशाखाका वन अधिकृत विजय ढकालका अनुसार विभाग र वन तथा वातावरण मन्त्रालय लगायत सम्बद्ध निकायले सो समयमा सचेतनामूलक प्रचार-प्रसारको कार्यक्रम गर्ने गरेको छ ।
उहाँले भन्नुभयो, “हरेक वर्षको ट्रेन्ड हेर्ने हो भने एक वर्ष एकदमै धेरै र अर्को वर्ष अलि कम डढेलो भएको देखिन्छ । यसको तथ्याङ्कलाई विश्लेषण गर्दा पहिलेजस्तो मानिसहरु जङ्गलमा जान छोडे । त्यहाँबाट पातपतिङ्गर सोरेर लिएर आउने, फ्युल लोड कम गर्ने भन्ने कुरा आजभोलि कम हुन थाल्यो । जसलेगर्दा वन डढेलोका घटना अहिलेको वर्षहरुमा बढिरहेको छ ।”
मुख्य रुपमा सुख्खा मौसम र वनमा जम्मा हुने पातपतिङ्गर वन डढेलोको मुख्य कारण भएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सुख्खा मौसम र फरेस्ट फ्लोरमा वनको फ्युल लोडिङ अथवा पातपतिङ्गर जम्मा हुनु नै मुख्य कारणको रुपमा लिन सकिन्छ ।”

९० प्रतिशतभन्दा बढी मानवीय लापारवाही
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका वातावरण निरीक्षक रिना चौधरीले ९० प्रतिशतभन्दा बढी मानवीय लापारवाहीका कारण वन डढेलोका घटना घट्ने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अस्ट्रेलिया क्यालिफोर्नियाजस्ता देशहरुमा अधिकांश प्राकृतिक कारणबाट वन डढेलो हुन्छ भने हाम्रोजस्तो देशमा प्राकृतिक कारण एकदम न्यून र ९० प्रतिशतभन्दा बढी मानवीय कारण अथवा लापरवाहीका कारण हुने गरेको छ । चुरोटको ठुटा फालिदिने, पिकनिकको आगो ननिभाउने, भोज भतेर गर्नेजस्ता गतिविधि वन डढेलोका कारण हुन सक्छ । हावाहुरीले पनि आगो विस्तार गर्ने माध्यमको काम गर्छ ।”
प्राधिकरणबाट भएका पहल
चौधरीका अनुसार २०६७ सालपछि वन डढेलो व्यवस्थापन रणनीति परिमार्जन भएको छैन । न त, खासै कुनै रणनीतिक योजना नै बनेको छ । उहाँ भन्नुहुन्छ, “वन मन्त्रालयको जुन वन डढेलो व्यवस्थापन रणनीति छ, २०६७ सालपछि परिमार्जन भएको छैन ।”
यद्यपि, प्राधिकरणले दश वर्षे वन डढेलो जोखिम न्युनीकरण तथा व्यवस्थापन रणनीतिक कार्ययोजनाको ड्राफ्ट तयार गरेको छ । तर यो मस्यौदा पारित हुन सकेको छैन । उहाँले भन्नुभयो, “दश वर्षे वन डढेलो जोखिम न्युनीकरण तथा व्यवस्थापन रणनीतिक कार्ययोजनाको ड्राफ्ट तयार छ । नयाँ सरकार आइसकेपछि कार्यकारी समितिको सदस्य पनि परिवर्तन हुने भयो । हामी त्यो मस्यौदा पारितको लागि कार्यकारी समितिको बैठक कुरिरहेका छौं ।”मस्यौदा पारितपछि कार्यान्वयनमा जान सहज हुने उहाँको भनाइ छ ।
यसैगरी, वायु प्रदुषणजन्य विपद्सम्बन्धी पाँच वर्षे राष्ट्रिय कार्ययोजना पनि बनेको छ । कार्यकारी समितिको बैठकमा यो कार्ययोजना पनि पेस गरिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कार्ययोजनाहरु बनेको दुई, तीन वर्ष भइसकेको छ । यसबिचमा चुनाव पनि आयो । पेस गर्ने कुरा थियो जेनजी आन्दोलन भयो । त्यसपछि कार्यकारी समितिको बैठक बस्न सकेको छैन ।” वन तथा वातावरण मन्त्रालयका अनुसार नेपालमा वन क्षेत्रफल ४६ प्रतिशत रहेको छ ।
ढकालले कार्ययोजना निर्माण गर्नेजस्ता नीतिगत प्रयासहरु भए पनि कार्यान्वयन हुन नसक्नु मुख्य समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “वन डढेलो व्यवस्थापन रणनीति स्वीकृतिको क्रममा छ । फेरि नीतिगत प्रयासहरु सधैँ भएका छन् । नीतिहरु हेर्ने हो भने के र कसरी गर्नुपर्छ भन्ने कुरामा हामी क्लियर छौं । तर, नेपालको विडम्बना नीति राम्रो तर कार्यान्वयन हुन सक्दैन ।”
उहाँले नीति कार्यान्वयनका लागि वन कार्यालय र सुरक्षा निकायबिच प्रभावकारी समन्वय हुनपर्ने बताउनुभयो । स्थानीय तहमा आपत्कालीन समूह (इमिड्यिट् रेस्पोन्स टिम) बनाएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । उहाँले वन डढेलो नियन्त्रणका लागि जनचेतना विस्तार गर्नुपर्नेमा जोड पनि दिनुभयो ।
उहाँले भन्नुभयो, “जथाभाबी आगो बाल्ने कामहरु रोक्नुप¥यो । पातपतिङ्गरहरु जङ्गलमा जम्मा भइरहेका छन्, यसलाई समुदायसँग हातेमालो गरेर वैकल्पिक आम्दानीको स्रोत बनाउने तरिकाले अनावश्यक पातपतिङ्गर (अनवान्टेड फ्युल) बाहिर निकाल्नुपर्छ ।”

डढेलो बढ्न सक्ने
यो वर्ष गर्मीयाम बढ्दै गर्दा नेपालमा तातो हावाको लहर ‘लू’ बढ्ने प्रक्षेपण गरिएको थियो । उहाँले भन्नुभयो, “यो वर्ष ‘लू’ भन्ने आउँदैछ त्यसले गर्दा विगतको वर्षभन्दा यसपाली तातो हावाको प्रकोप बढुने छ भन्ने कुरा आइसकेपछि हामी अलिकति कन्सर्न चाहिँ भयौं । यतिखेर आगो लागेर फ्युल घटेको भए जति सुख्खा हावा लागे पनि वन डढेलोको घटनाहरु त्यति दोहोरिँदैन कि भन्ने आँकलन गर्न सकिन्थ्यो ।”
यो पटक मनसुन सुरु हुनुभन्दा अगाडिदेखि नै वर्षा भएकोले मौसममा भएको परिवर्तनका कारण पछि मौसम सुख्खा हुने वन डढेलोको घटना बढ्न सक्ने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “धेरै अगाडिदेखि नै पानी परेको र वन डढेलोको घटनाहरु घट्नुपर्ने बेलामा नघटेकोले गर्दाखेरी यसपाली फरेस्ट फ्लोरमा फ्युलहरु जम्मा नै रहीरहेको छ । यदि तातो हावाको लहर, यसको प्रकोप नेपालमा पनि आउने हो र मनसुनी वायुलाई प्रभाव पारिदिने हो भने वन डढेलोको घटनाहरु बढ्न सक्छ ।”