• २९ वैशाख २०८३, मङ्गलबार

बेवारिसे शवको दुई दिनपछि सनाखत

blog

जनार्जन खत्री

सर्लाही, बैशाख २९ गते । सर्लाहीको गोडैता नगरपालिका –६, बगदहस्थित चिनी मिलनजिकै जलकुम्भी घारीमा फेला परेको शव बेवारिसे शवको दुई दिनपछि मङ्गलबार पहिचान खुलेको छ । 

आइतबार अपरान्ह चिनी मिलनजिक हुलाकी राजमार्गको किनारमा सडिसकेको अवस्थामा बेवारिसे पुरुषको शव फेला परेको थियो । उक्त शव सर्लाहीको बलरा नगरपालिका –६, का ६२ वर्षीय तेज हजारीको रहेको पुष्टि भएको हो । 

मृतकको छोरा शिवराज हजारी सम्पर्कमा आएर मङ्गलबार शवको सनाखत गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिनुभयो । उहाँका अनुसार सडिसकेको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोस्पमार्टम गरी छोरालाई जिम्मा लगाइएको छ । 

हजारीको मृत्युको कारण भने खुल्न सकेको छैन । परिवारका अनुसार मानसिक सन्तुलन ठिक नरहेका हजारी बैशाख २१ गतेदेखि घरबाट बेपत्ता भएका थिए । प्रहरीले मृतकको साथमा फेला परेको मोवाइलबाट पहिचान खुलाउन सफल भएको जनाएको छ ।