• २९ वैशाख २०८३, मङ्गलबार

गर्मी बढेपछि हुम्लाका भेडाबाख्रा लेकतिरै फिर्ता

blog

सार्केगार्ड गाउँपालिका ४ को न्यासीमा बास बसेका भेडाबाख्रा । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, वैशाख २९ गते । उत्तरी हुम्लाबाट पालनका लागि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा लगिएका भेडाबाख्रा यतिबेला फिर्ता हुन थालेका छन् । तराई र दक्षिणी पहाडी क्षेत्रमा गर्मी बढ्नुका साथै माथिल्लो हुम्लामा घाँस पलाउन सुरु भएपछि भेडापालक किसानले आफ्नो बथान फिर्ता ल्याउन सुरु गरेका हुन् ।

खर्क र चरनको समस्याका कारण गत कात्तिक अन्तिम साता सिमकोट गाउँपालिका–१, दोजाम गाउँबाट २५० भेडाबाख्रा लिएर बझाङ, बाजुरा र अछामसम्म पुग्नुभएका पामादोर्जे लामाले यतिबेला भेडाबाख्रा फर्काउनु पुरानै चलन भएको बताउनुभयो । उहाँका अनुसार पहिले हुम्लाका भेडाबाख्रा सामान ढुवानी र आम्दानीका लागि सुदूरपश्चिम पुर्‍याइन्थ्यो । तर, हाल सडक यातायातको विस्तारसँगै केवल पालन र संरक्षणका लागि मात्र दक्षिणी क्षेत्र लैजाने गरिएको छ ।

यस वर्ष दोजाम गाउँबाट मात्र दुई हजारभन्दा बढी भेडाबाख्रा पालनका लागि बाहिर लगिएका थिए । दोजामका एक घरधुरीसँग ५० देखि ३०० सम्म भेडाबाख्रा रहेका छन् । पाँच महिना बाहिरै पालेर अहिले जिल्ला फिर्ता ल्याएको लामाको भनाइ छ ।

यस्तै, सिमकोट गाउँपालिका–७ का जान्ने शाहीले पनि माथिल्लो हुम्लामा घाँस पलाउन थालेकाले भेडाबाख्रा ल्याउन सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार आफ्नो गाउँबाट मात्र पाँच महिनाअघि एक हजार २०० भेडाबाख्रा दक्षिणतर्फ झारिएको थियो ।

हुम्लाका नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाबाट बर्सेनि १० हजारभन्दा बढी भेडाबाख्रा यसरी नै स्थानान्तरण गरिन्छ । सुदूरपश्चिमका पहाडी जिल्लामा हिउँद काटेर ल्याइएका यी भेडाबाख्रा केही दिन गाउँमै राखिनेछ र जेठ महिना लागेपछि पुनः उच्च हिमाली पाटनतर्फ लगिनेछ ।