• २१ वैशाख २०८३, सोमबार

अभद्र व्यवहार गरेको आरोपमा पाँच जना पक्राउ

blog

नारद कोहार

तौलिहवा(कपिलबस्तु), वैशाख २१ गते । जिल्लाको शिवराज नगरपालिका ५ चन्द्रौटास्थित कृष्णनगर सडक खण्डमा अभद्र व्यवहार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले रातिको समयमा होटल प्याराडाइज अगाडि शंकास्पद रूपमा हिँडडुल गरिरहेका अवस्थामा पक्राउ गरिएको हो । उनिहरुलाई सोधपुछ गर्दा उल्टै होहल्ला गर्दै ड्युटीमा खटिएका महिला प्रहरी कर्मचारीमाथि अश्लील तथा अपशब्द प्रयोग गरी गालीगलौज गर्नुका साथै प्रहरीको काम कारबाहीमा बाधा अवरोध गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूलाई तत्काल नियन्त्रणमा लिई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका ६ गोरस्याङकी २६ वर्षीया अञ्जना तामाङ, प्युठान नगरपालिका ३ ओखरबोटकी २० वर्षीया वर्षा सुनार, कपिलवस्तु बिजयनगर गाउँपालिका ७ गणेशपुरका २२ वर्षीय मनोज गुप्ता, शिवराज नगरपालिका–६ बिरपुरका २७ वर्षीय दीपेन्द्र कुमार चौधरी तथा भारत सिद्धार्थनगर जिल्ला ढेबरुवा थाना निवासी २८ वर्षीय रञ्जित चौधरी रहेका छन् ।

निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक देबेन्द्रराज जोशीका अनुसार पक्राउ परेकामाथि आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको बताउनुभयो ।