विनय कर्ण
कल्याणपुर (सप्तरी), वैशाख २२ गते । सप्तरीमा आएको हावाहुरीका कारण भएका दुई जना घाइते भएका छन् । सोमबार साँझ ६ः१५ बजे राजविराज नगरपालिका वडा नम्बर ६ स्थित ट्रान्सफर्मर नजिक हावाहुरीले उडाएको जस्तापाताले लाग्दा रूपनी गाउँपालिका-३, मकरी टोलका ४० वर्षीया सोनीकुमारी मण्डल घाइते हुनुभएको हो ।
उहाँको अवस्था सामान्य रहेको तथा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
यसैगरी, सोही दिन राति राजविराज नगरपालिका-५, शिव बोर्डिङ स्कुल नजिक राजविराज–कुनौली सडक खण्डमा राजविराजबाट कुनौलीतर्फ जाँदै गरेको स. ८ प. ५०८७ नम्बरको मोटरसाइकल हावाहुरीका कारण झुण्डिएको नेपाल टेलिकमको तारमा बेरिँदा चालक हनुमाननगर कङ्कालिनी नगरपालिका-१४, रामपुर टोल का ३२ वर्षीय हेमन्त साह घाइते हुनुभएको छ ।
तारमा बेरिएर दुर्घटना हुँदा साहको नाकमा चोट लागेको तथा गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।