बोमलाल गिरी
नवलपुर, वैशाख २२ गते । नवलपुरमा मिटरब्याजबाट पीडित भएकाहरूका निवेदन जिल्ला प्रशासन कार्यालयमा बढ्न थालेका छन् । हालसम्म ४८ वटा निवेदन दर्ता भएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी दिनुभयो ।
पीडितहरूले आफूहरू जनप्रतिनिधिबाट समेत ठगिएको आरोप लगाउँदै निवेदन दिएका छन् । एउटै व्यक्तिविरुद्ध ११ जनाले ठगिएको भन्दै निवेदन दिएको प्रजिअ पाण्डेले बताउनुभयो ।
उहाँका अनुसार निवेदनमाथि अध्ययन तथा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला प्रहरी प्रमुख र जिल्ला न्यायाधिवक्तासहितको समिति गठन गरिएको छ । समितिको सिफारिसका आधारमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो ।
“समितिले सबै निवेदन अध्ययन तथा छानबिन गर्छ, दुवै पक्षलाई बोलाएर छलफल गराउँछ । मिलापत्र हुन सके राम्रो, नभए कारबाही सिफारिस वा कानुनी उपचारका लागि सम्बन्धित निकायमा जान सुझाव दिन्छ,” प्रजिअ पाण्डेले भन्नुभयो ।
तर मागदाबीमा दुवै पक्षबिच ठुलो अन्तर देखिने भएकाले सहमति गराउन कठिनाइ भइरहेको उहाँले बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले हालको सरकारले मिटरब्याज पीडितका विषयमा नयाँ निर्देशन नदिए पनि अघिल्लो सरकारको निर्देशन अनुसार निवेदन सङ्कलन र मिलापत्रको प्रयास भइरहेको जानकारी दिनुभयो ।
यता पीडितहरूले भने प्रशासनले मिलापत्रको आश्वासन दिए पनि पीडकको पहुँच र प्रभावका कारण आफूहरूलाई नै दोषी देखाएर दबाब दिने गरेको आरोप लगाएका छन् ।
मिटरब्याजविरुद्ध किसान मजदुर सङ्घर्ष समितिका जिल्ला अध्यक्ष शारदा पौडेलले दर्ता भएका निवेदनको निष्पक्ष छानबिन गरी पीडितलाई न्याय दिलाउन र दोषीलाई कानुनी दायरामा ल्याउन प्रशासनसँग माग गर्नुभयो ।
“कानुनी लडाइँ पनि लडिरहेका छौँ, लड्दालड्दै थाकिसकेका छौँ,” उहाँले भन्नुभयो, “पीडित सधैँ पीडित नै भइरहेका छन् । पीडकको पहुँच र प्रभावका कारण न्याय पाउन सकेका छैनौँ ।”