सिराज खान
नेपालगन्ज, वैशाख २२ गते । समाजमा विभिन्न प्रकारका अशान्ति र डर त्रास उत्पन्न गर्नेखालका भिडियो बनाएर टिकटकमा पोस्ट गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेले कारबाही सुरु गरेको छ ।
टिकटकमा विभिन्न प्रकारका आपत्तिजनक र धार्मिक तथा सामाजिक सदभाव बिथोल्ने खालका भिडियोहरू अपलोड नगर्न पटक पटक अनुरोध गर्दै आएकोमा सो क्रम नराकिँदा एक्सनमा जानुपरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताउनुभयो ।
उहाँले सो क्रममा सामाजिक सञ्जाल टिकटकमा हतियार प्रदर्शन गर्दै डर त्रास फैलाउने उद्देश्यका भिडियो पोस्ट गर्ने नेपालगन्ज उपमहानगर ४ का एक र डुडुवा गाउँपालिका–४ का एक गरेर दुई जनालाई पक्राउ गरिएको बताउनुभयो ।
बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पातलीका अनुसार नेपालगन्ज उपमहानगरपालिका–४ निवासी ३० वर्षीय अजय कुमालले “अजय मगर” नामक टिकटक आइडीबाट तथा डुडुवा गाउँपालिका–४ निवासी २६ वर्षीय अनिल खटिकले “अनिल सोनकर” नामक टिकटक आइडीबाट हातमा खुकुरी समातेर आम जनमानसमा आतङ्क सिर्जना हुने किसिमका भिडियो पोस्ट गरेका थिए ।
उक्त गतिविधि समाजमा भय र असुरक्षा फैलाउने खालको देखिएकाले दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरू दुबै जनाविरुद्ध मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक पातलीले समाजमा कुनै पनि प्रकारको अशान्ति, डर र त्रास तथा मच्चाउने तथा सदभाव बिथोल्ने किसिमका सामग्री सामाजिक सञ्जालमा नराख्न अनुरोध गरिएको बताउनुभयो ।