• २२ वैशाख २०८३, मङ्गलबार

धौलागिरि प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा

blog

बागलुङ बजारमा रहेको धौलागिरि प्रादेशिक अस्पताल । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, वैशाख २२ गते । धौलागिरि प्रादेशिक अस्पताल बागलुङले विशेषज्ञ सेवा थप्दै गएको छ । मानसिक रोग, मिर्गौला तथा पिसाबसम्बन्धी उपचार सेवा विस्तार गरेको अस्पतालले नशारोग सम्बन्धी विशेषज्ञ सेवा थप गर्ने निर्णय गरेको हो ।  

प्रादेशिक अस्पतालमा स्तरोन्नति भएपछि यहाँ अपरेसन बाहेक अत्यावश्यक र पछिल्लो समय देखिएका रोगको उपचारमा दर्जन बढी विशेषज्ञ सेवा दिन थालिएको छ । 

अस्पतालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र गण्डकी मेडिकल कलेजसँगको सहकार्यमा विशेषज्ञ सेवा दिन थालेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. किरण तिवारीले जानकारी दिनुभयो ।  

नशारोग विशेषज्ञ प्राडा. यामबहादुर रोका नेतृत्वको टोलीले प्रत्येक महिनाको चौथो शनिबार सेवा दिनुहुने छ । आगामी चैत २६ गतेबाट यो सेवा सुरु हुँदैछ । दक्ष जनशक्तिको व्यवस्थापन नभएसम्म प्रतिष्ठानका चिकित्सकबाट सेवा प्रवाह हुने र आवश्यक दरबन्दी ल्याएर नियमित सेवा सञ्चालन गरिने डा. तिवारीको भनाइ छ । 

‘‘सुरुवातमा विभिन्न अस्पतालसँगको साझेदारीमा सेवा सञ्चालन गरेका छौं, चिकित्सकको दरबन्दी आएपछि नियमित सेवा सञ्चालन हुने छ’’ डा. तिवारीले भन्नुभयो । अस्पतालमा मुटु रोगको उपचार सेवा सञ्चालन गर्न सेवाग्राहीको माग छ । 

बिरामीको मृत्युदर घटाउन पनि मुटुरोग सेवा आवश्यक भएको डा. तिवारीले बताउनुभयो । नशारोग सम्बन्धी विशिष्टिकृत सेवाबाट पुरानो ढाड र गर्दन दुखाइ, टाउको दुखाइ र माइग्रेन, नशा च्यापिने समस्या, शल्यक्रियापछिको फलोअप, छारेरोग र काप्ने समस्या तथा ब्रेन ट्युमरका बिरामीहरू लाभान्वित हुने छन् । अस्पतालमा नशारोगसम्बन्धी उपचार सुविधा नहुँदा धेरै बिरामी पोखरा र काठमाडौँको अस्पतालमा धाउन बाध्य थिए ।

आवश्यक दक्ष जनशक्ति र भौतिक पूर्वाधारको पर्याप्ततापछि अस्पतालमा जलन र ट्रमा उपचार कक्ष पनि सञ्चालनमा छ । जलन कक्षबाट १० देखि १५ प्रतिशतसम्म जलनका बिरामीको उपचार हुँदै आएको छ । हरि खड्का ट्रमा सेन्टर बनाउने योजना पूरा नभए पनि सेवाको रेकर्ड राख्ने र सिटी स्क्यानसहितका मेसिन जडान गरी सेवा दिइएको छ । 

अस्पतालमा ग्रामीण प्रसूति भिडियो एक्सरे तालिम साइट समेत सञ्चालनमा ल्याइएको छ । दक्ष स्वास्थ्यकर्मीको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रका महिलामा गर्भावस्थामा देखिने समस्याको समयमै पहिचान गर्न र निदान खोज्न ग्रामीण प्रसूति भिडियो एक्सरे तालिमले प्रभावकारी भूमिका खेलेको डा. तिवारीले जानकारी दिनुभयो । 

अस्पतालमा हाल २४ विशेषज्ञ चिकित्सकसहित १२ मेडिकल अधिकृतको दरबन्दी छ । प्रसूति, हाडजोर्नी, बालरोग, फिजियो थेरापीजस्ता विशेषज्ञ सेवा पनि नियमित सञ्चालनमा छन् । अस्पतालबाट वर्षमा १ लाख ५० हजार जनाभन्दा बढीले उपचार सेवा पाएका छन् । तीमध्ये स्वास्थ्य बिमा अन्तर्गत वर्षमा ६८ हजार बढीले सेवा लिएको तथ्याङ्क छ ।