गोरखापत्र अनलाइन
काठमाडौँ, वैशाख २२ गते । गोरखापत्र संस्थानका निवर्तमान अध्यक्ष गोविन्दप्रसाद (अखण्ड) भण्डारीले संस्थान सुधार्ने एक सय (१००) प्रतिबद्धता जाहेर गर्नु भए पनि कार्यकाल छोटो समयमै अन्त्य भएपछि कार्यान्वयन गर्न पाउनु भएन ।
२०८२ पुस २८ गते मन्त्रिपरिषदको निर्णयबाट संस्थान अध्यक्षमा नियुक्त हुनुभएका भण्डारी कार्यकारी अधिकारसहितको अख्तियारी भने सञ्चालक समिति बैठकबाट तीन महिनापछि चैत २१ गते पाउनुभएको थियो । २०८३ वैशाख पहिलो साता सय दिनमा कार्यान्वयन गर्ने सय प्रतिबद्धता उहाँले सार्वजनिक गर्नुभएको थियो । सार्वजनिक पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी अध्यादेश सरकारले ल्याएपछि उहाँ पदमुक्त हुनुभएको हो ।
निवर्तमान अध्यक्ष भण्डारीले सय बुँदे प्रतिबद्धतामा उल्लेख गर्दै भन्नुभएको छ, “१०० दिनभित्र असुलीमा मुख्य प्रगति सक्ने र ६ महिनामा उठाइसक्ने लक्ष्यमा काम अघि बढाएको थिएँ ।” संस्थानको करिब ५० करोड रुपियाँ बक्यौता रहेको उहाँले उल्लेख गर्नुभएको छ ।
गोरखापत्रमा बढ्दो विज्ञापनसँगै असुलीमा चुनौती थपिएको बताउँदै उहाँले यसलाई ध्यान दिएर समय तालिका निर्माण गरी त्यही अनुसार रकम उठाउन टिम परिचालन गर्नुभएको थियो । हरेक १५ गतेभित्र प्रकाशित विज्ञापनको भुक्तानी सम्बन्धित महिनाभित्रै आइसक्नुपर्ने र बाँकी १५ दिनको अर्को १५ गतेभित्र भुक्तानी गरी ६० दिनभित्र भुक्तानी नदिनेका हकमा ‘सेवा छैन’ नीति पूर्णरूपमा कार्यान्वयन गर्ने उहाँको लक्ष्य थियो ।
सोही अनुसार उहाँद्वारा जारी प्रतिबद्धतामा लेखिएको छ, “संस्थानको प्रशासनिक खर्च अत्यधिक छ । कर्मचारीको तलब बाहेक अन्य प्रशासनिक खर्च साविकभन्दा ५० प्रतिशत घटाइने छ ।”
गोरखापत्र संस्थानको लेखापरीक्षण लामो समयदेखि हुन नसकेकाले वित्तीय अनुशासनहीनता बढेको उल्लेख गर्दै निवर्तमान अध्यक्ष भण्डारीले भन्नुभएको छ, “लेखापरीक्षण कार्यलाई उच्च प्राथमिकतासहित अघि बढाइसकिएको छ । २०७९–८० को प्रारम्भिक प्रतिवेदनको जवाफ भर्खरै मात्र सञ्चालक समितिले अनुमोदन गरेको छ । २०८०–८१, २०८१–८२ र २०८२–८३ तीन वटै आर्थिक वर्षको आगामी पुसभित्र सक्ने र नियमित ट्रयाकमा ल्याउने गरी तीव्रता दिइएको छ ।”
अध्यक्ष भण्डारीले विदेशमा रहेका नेपाली समुदायका गतिविधि, सरोकार र सफलताहरूलाई प्राथमिकतासाथ समेट्ने गरी विभिन्न देशमा संवाददाता राख्ने योजना समेत बनाउनुभएको थियो । यसबाट गोरखापत्रको अन्तर्राष्ट्रिय पहुँच एवं दायरा बढ्नुका साथै विश्वभरका नेपालीबिच आत्मीय सम्बन्ध सुदृढ हुने विश्वास उहाँको थियो ।