• २२ वैशाख २०८३, मङ्गलबार

खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

blog

प्रतियोगिताबारे जानकारी गराउँदै आयोजक संस्थाहरु । तस्विरः सिराज खान

सिराज खान

नेपालगन्ज, बैशाख २२ गते । नेपाली सेनामा कार्यरत रहेर दिवंगत हुनुभएका अशोक बिकको स्मृतिमा बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता २०८३ हुने भएको छ । 

दि फेमस महिन्द्र दल गण भुपू र न्यू डाँफे स्पोट्र्स क्लबको संयुक्त आयोजनामा खजुरा डिगाउँस्थित मिनी रङ्गशालामा वैशाख २७ गतेदेखि सो प्रतियोगिता सञ्चालन गरिने दि फेमस महिन्द्र दल गण भुपूका अध्यक्ष कृष्णलाल गिरीले जानकारी दिनुभयो । 

उहाँका अनुसार २० वर्ष उमेरसम्मका खेलाडी खेलमा सहभागी हुन पाउनेगरी सो फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । जिल्ला र पालिकामा दर्ता भएका १२ वटा टिमको प्रतियोगितामा सहभागिता रहने न्यू डाँफे स्पोट्र्स क्लबका अध्यक्ष बालराम खत्रीले जानकारी दिनुभयो । 

खत्रीका अनुसार नेपाली सेनामा कार्यरत रहनु भएका अशोक बिकको स्मृतिमा हुन लागिरहेको फुटबल प्रतियोगितामा विजेता हुने टिमले नगद ५१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेता टिमले नगद ३१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

प्रतियोगिताको प्रथम पुरस्कार राशि मुख्य आयोजक महिन्द्र दल गण भुपूले र दोस्रो पुरस्कार राशी स्वर्गीय अशोकका भाइ तथा न्यू डाँफे स्पोट्र्स क्लबका पूर्व अध्यक्ष हरिप्रकाश विकले बेहोर्ने जनाइएको छ । 

आयोजकका अनुसार प्रतियोगितामा अल राउन्ड बेस्ट खेलाडीलाई हिरोको साइकल प्रदान गरिनेछ भने अन्य विधागत उत्कृष्ट खेलाडीलाई नगद दुई हजार ५०० का दरले पुरस्कृत गरिनेछ । प्रतियोगितामा हरेक दिनको उत्कृष्ट खेलाडीलाई एक हजार नगदसहित पुरस्कृत गरिने जनाइएको छ ।