• २२ वैशाख २०८३, मङ्गलबार

घरमै बसेर जग्गाको नक्सा: ‘मेरो कित्ता’ बाट सेवाग्राही लाभान्वित

blog

अमरराज नहर्की

तनहुँ, वैशाख २२ गते । देवघाट गाउँपालिका–५ का हिक्मत थापालाई जग्गाको नक्सा (ब्लु प्रिन्ट) निकाल्न यसअघि सदरमुकाम दमौली आउनुको विकल्प थिएन। घरबाट दमौली पुगेर फर्कँदा करिब पाँच सय किलोमिटरको यात्रा, एक हजार रुपियाँ गाडी भाडा र कम्तीमा सात घण्टाको समय खर्च हुन्थ्यो। तर, अहिले उहाँले ५० रुपियाँमै गाउँको साइबरबाट नक्सा प्रिन्ट गरेर काम फत्ते गर्नुभयो।

“नक्साकै लागि दिनभरिको समय र हजारौँ रुपियाँ खर्च गरेर सदरमुकाम धाउनुपर्ने झन्झट सधैँका लागि अन्त्य भएछ,” थापाले भन्नुभयो, “अनलाइन प्रविधिले खर्च र समय दुवै जोगाइदियो।” डिजिटल प्रविधिको प्रयोगसँगै नापी कार्यालय तनहुँको सेवा प्रवाह आधुनिक र सहज बन्दै गएको छ। ‘मेरो कित्ता’ अनलाइन प्रणाली कार्यान्वयनमा आएपछि थापाजस्तै जिल्लाभरका सेवाग्राहीलाई जग्गाको नक्सा प्राप्त गर्न कार्यालयसम्म धाउनुपर्ने बाध्यता हटेको छ। विशेष गरी वैदेशिक अध्ययन, व्यापार–व्यवसाय वा कर्जा प्रयोजनका लागि धितो राख्न आवश्यक पर्ने नक्सा अब घरैबाट निकाल्न सकिन्छ।

नापी कार्यालय तनहुँका प्रमुख विजयकुमार सिंहका अनुसार यो प्रणालीमार्फत सेवाग्राहीले आफ्नै घर वा नजिकैको कम्प्युटरबाट जग्गाको नक्सा प्रिन्ट गर्न सक्छन्। सिंह भन्नुहुन्छ, “आफ्नो कित्ताको नक्सा निकाल्न अनलाइनमार्फत एक सय रुपियाँ भुक्तानी गरेपछि आफैँले प्रिन्ट लिन सकिन्छ। पीडीएफ फाइलमा प्राप्त हुने भएकाले नक्साको मापन वा प्राविधिक पक्षमा कुनै फेरबदल हुँदैन।” एक पटक भुक्तानी गरेपछि एक हप्तासम्म सोही डिजिटल फाइलबाट प्रिन्ट निकाल्न सकिने सुविधा यसमा रहेको उहाँले बताउनुभयो।

भौगोलिक विकटता रहेको तनहुँका दुर्गम गाउँबाट नक्सा लिनकै लागि सदरमुकाम दमौली आउँदा सेवाग्राहीको समय र पैसा दुवै बर्बाद हुने गरेकोमा यो प्रविधिले ठूलो राहत दिएको छ। जिल्लाका बैङ्किङ क्षेत्रले समेत अनलाइनबाटै निकालिएको नक्सालाई मान्यता दिई धितो लगायतका प्रक्रिया अगाडि बढाउन थालेपछि यसको लोकप्रियता बढेको हो। स्वदेशमा मात्र नभई विदेशमा रहेका नेपालीले समेत यो प्रविधिमार्फत आफ्नै जग्गाको नक्सा सहजै निकाल्न सक्नेछन्।

कार्यालयका प्रशासन शाखा प्रमुख लोकनाथ तिवारीका अनुसार यो सेवा लिनेको सङ्ख्या क्रमशः बढ्दो छ। चालु आर्थिक वर्ष २०८२/०८३ को नौ महिनाको अवधिमा ३५१ जनाले अनलाइनबाटै नक्साको सुविधा लिएका छन् भने गत आर्थिक वर्ष २०८१/०८२ मा ४०५ जनाले यो सेवा प्रयोग गरेका थिए। प्रविधिको विस्तारसँगै आगामी दिनमा यो सेवा अझै प्रभावकारी बन्ने कार्यालयले जनाएको छ।