पेरिस, वैशाख २२ गते । मध्यपूर्व क्षेत्रमा युद्धजन्य अवस्था थप जटिल बन्दै जाँदा अन्तर्राष्ट्रिय स्तरमा तनाव घटाउने आह्वान तीव्र भएको छ । पछिल्ला आक्रमण र प्रतिआक्रमणका घटनाक्रमले क्षेत्रीय मात्र नभई, विश्वव्यापी सुरक्षा चिन्ता बढाएको छ ।
संयुक्त अरब इमिरेट्समाथि भएको आक्रमणपछि बेलायत, फ्रान्स, जर्मनी र साउदी अरेबियाले तत्काल तनाव कम गर्न आग्रह गरेका छन् । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले अवस्था थप चर्किन नदिन रोक लगाउनुपर्ने बताउनुभएको छ भने जर्मनीका चान्सलर फ्रेडरिक मर्जले इरानलाई वार्ताको मार्गमा फर्कन आग्रह गर्दै क्षेत्रीय तथा विश्व शान्तिलाई बन्धक नबनाउन चेतावनी दिनुभएको छ ।
इरानतर्फबाट भने पछिल्ला आक्रमणलाई प्रत्यक्षरूपमा अस्वीकार नगरिए पनि पूर्वनियोजित योजना नभएको दाबी गरिएको छ । एक वरिष्ठ इरानी सैन्य अधिकारीले तेल संरचनामा आक्रमण गर्ने कुनै पूर्वयोजना नरहेको उल्लेख गर्दै अमेरिकी सेनाको गतिविधिलाई उक्साहटपूर्ण भन्दै त्यसको जिम्मेवारी अमेरिकाले लिनुपर्ने बताए ।
यसैबिच, संयुक्त अरब इमिरेट्सको शिक्षा मन्त्रालयले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै देशभरका विद्यालयलाई बाँकी हप्ताका लागि दूर शिक्षामा रूपान्तरण गर्न निर्देशन दिएको छ । अमेरिकी सेनाले भने इरानका छवटा साना डुङ्गाहरू नष्ट गरेको र आफ्ना तथा व्यापारिक जहाजलाई लक्षित गरी प्रहार गरिएका क्षेप्यास्त्र र मानवरहित आक्रमणकारी यन्त्रलाई निष्क्रिय बनाएको जनाएको छ ।
संयुक्त राज्य केन्द्रीय कमान्डका प्रमुख एडमिरल ब्राड कूपरले अमेरिकी हेलिकाेप्टरले व्यापारिक जहाजलाई खतरा पुर्याउने डुङ्गालाई निशाना बनाएको जानकारी दिनुभयो । यद्यपि, तेहरानले आफ्ना युद्ध डुङ्गा नष्ट भएको दाबीलाई अस्वीकार गर्दै अमेरिकी भनाइलाई निराधार र झुटो भनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हर्मुज जलघाँटीमा स्थिति अपेक्षाकृत नियन्त्रणमै रहेको दाबी गर्नुभयो ।
उहाँका अनुसार इरानले केही गोली प्रहार गरे पनि ठुलो क्षति भएको छैन । दक्षिण कोरियाली जहाजमा सामान्य असर परेको बाहेक अन्य क्षति नभएको उहाँले बताउनुभयो । संयुक्त अरब इमिरेट्सले भने इरानी आक्रमणबाट आफ्नो फुजैराह ऊर्जा केन्द्र प्रभावित भएको र उक्त घटनामा तीन भारतीय नागरिक घाइते भएको जनाएको छ । यसलाई उसले गम्भीर उल्लङ्घन भन्दै आवश्यक परे प्रतिकार गर्ने अधिकार सुरक्षित रहेको स्पष्ट पारेको छ ।
तर इरानका एक वरिष्ठ अधिकारीले भने युएईमाथि आक्रमण गर्ने कुनै योजना नभएको पुनः दोहोर्याए । ओमानतर्फ पनि असर परेको छ । हर्मुज जलघाँटी नजिकैको बुखा क्षेत्रमा एक आवासीय भवनलाई लक्षित गरी गरिएको आक्रमणमा दुई जना घाइते भएका छन् भने चार वटा सवारी साधन क्षतिग्रस्त भएका छन् । यसैबिच, इजरायलले सुरक्षा सतर्कता उच्च स्तरमा राखेको जनाएको छ ।
इरान र अमेरिकाबिचको बढ्दो तनावलाई नजिकबाट निगरानी गरिरहेको त्यहाँका एक सैन्य अधिकारीले बताएका छन् । अमेरिकी नौसैनिक युद्धपोत हर्मुज जलघाँटी हुँदै खाडी क्षेत्रमा प्रवेश गरी व्यापारिक जहाजको सुरक्षा सुनिश्चित गर्ने अभियानमा जुटेका छन् । यसपछि इरानी राज्य सञ्चार माध्यमले इस्लामिक गणतन्त्रको नौसेनाले चेतावनी स्वरूप अमेरिकी जहाज नजिकै क्षेप्यास्त्र, रकेट तथा मानवरहित आक्रमणकारी यन्त्र प्रहार गरेको दाबी गरेका छन् ।
यद्यपि, अमेरिकी पक्षले आफ्ना झण्डा भएका व्यापारिक जहाज सुरक्षितरूपमा उक्त जलमार्ग पार गरेको जनाएको छ । त्यसको प्रतिवाद गर्दै इरानको क्रान्तिकारी गाड्र्सले कुनै पनि व्यापारिक जहाजले हर्मुज पार नगरेको दाबी गरेको छ र अमेरिकी भनाइलाई पूर्णतः असत्य भनेको छ । पछिल्ला यी सबै घटनाक्रमले मध्यपूर्व क्षेत्र थप अस्थिर बन्दै गएको देखाएको छ, जहाँ सैन्य गतिविधि, कूटनीतिक बयानबाजी र आपसी आरोप-प्रत्यारोपले स्थिति थप जटिल बनाइरहेको छ । रासस/एएफपी