बेइजिङ, वैशाख २२ गते । मध्य चीनको हुनान प्रान्तस्थित एक पटाका उत्पादन गर्ने कारखानामा भएको विस्फोटमा कम्तीमा २१ जनाको ज्यान गएको छ भने ६१ जना घाइते भएका छन् । सोमबार दिउँसो भएको उक्त घटनापछि जोखिम कायम रहेकाले उद्धार तथा अनुसन्धान कार्य तीव्ररूपमा अगाडि बढाइएको जनाइएको छ ।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार विस्फोट चाङ्सा सहर अन्तर्गतको औद्योगिक क्षेत्रमा रहेको कारखानामा भएको हो । चाइना डेलीका अनुसार उक्त उद्योग लियुयाङ क्षेत्रको प्रमुख आतसबाजी उत्पादन केन्द्रमा पर्ने हुआशेङ आतसबाजी निर्माण तथा प्रदर्शन कम्पनीद्वारा सञ्चालन हुँदै आएको थियो । राज्य प्रसारण संस्था चाइना केन्द्रीय टेलिभिजनद्वारा सार्वजनिक गरिएको हवाई दृश्यमा विस्फोटपछि कारखानाका धेरै संरचना ध्वस्त भएका र केही स्थानमा अझै सेतो धुवाँ उठिरहेको देखिएको छ, जसले घटनास्थल अझै पूर्णरूपमा सुरक्षित नभएको सङ्केत गर्दछ ।
घटना स्थलमा करिब पाँच सय जना उद्धारकर्मी परिचालन गरिएको छ । विस्फोट नजिकै रहेका दुई वटा उच्च जोखिमयुक्त बारुद भण्डारका कारण थप दुर्घटनाको सम्भावना रहेकाले आसपासका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । अहिलेसम्म विस्फोटको ठोस कारण खुलेको छैन । सम्बन्धित निकायले अनुसन्धान सुरु गरिसकेका छन् भने प्रहरीले कम्पनीका जिम्मेवार व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ ।
यस घटनापछि चिनियाँ राष्ट्रपति सी जिनपिङले बेपत्ता व्यक्तिको खोजी तथा घाइतेको उद्धारमा सम्पूर्ण प्रयास गर्न निर्देशन दिनुभएको छ । उहाँले घटनाको कारण चाँडो पत्ता लगाई जिम्मेवारमाथि कडा कारबाही गर्न र औद्योगिक क्षेत्रमा सुरक्षा व्यवस्थालाई अझ कडा बनाउन पनि आग्रह गर्नुभयो । उद्धारका क्रममा थप जोखिम कम गर्न पानी छर्कने तथा वातावरण चिस्यानयुक्त बनाउने उपाय अपनाइएको छ ।
कठिन स्थानमा खोजी कार्यलाई सहयोग पुर्याउन तीन वटा स्वचालित यन्त्रसमेत प्रयोगमा ल्याइएको छ । लियुयाङ क्षेत्र आतसबाजी उत्पादनको पुरानो केन्द्रका रूपमा चिनिन्छ । गिनिज वल्ड रेकर्ड्सका अनुसार व्यवस्थित रूपमा अभिलेख गरिएको पहिलो आतसवाजी ताङ राजवंश (६१८/९०७ ईस्वी)का भिक्षु ली टियानसँग सम्बन्धित मानिन्छ, जसले बाँसमा बारुद प्रयोग गरी विस्फोट गराउने विधि विकास गरेका थिए ।
यसअघि पनि फेब्रुअरी महिनामा चन्द्र नयाँ वर्षका बेला चीनमा आतसवाजी पसलमा भएका दुई वटा छुट्टाछुट्टै विस्फोट घटनामा मानवीय क्षति भएको विवरण सार्वजनिक भएको थियो । पछिल्ला घटनाले यस उद्योगको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाइरहेका छन् । रासस/एपी