• २२ वैशाख २०८३, मङ्गलबार

महिला सशक्तीकरणसँगै जलवायु सहनशीलता वृद्धि अभियान सुरु

blog

प्रवीण कुमार शर्मा
रौतहट, वैशाख २२ गते ।
जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्दै समुदायको उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्यले रौतहटमा समुदायस्तरीय जलवायु अनुकूलन तथा विपद् व्यवस्थापन योजना निर्माण अभियान सुरु गरिएको छ ।

कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोगमा सञ्चालित ‘इम्पावरिङ हर’ परियोजनाअन्तर्गत अक्सफाम इन नेपाल तथा ग्रामीण विकास केन्द्र (आरडिसी) नेपालले वृन्दावन र राजदेवी नगरपालिकामा उक्त अभियान सुरु गरेका हुन् ।

महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व सुदृढ गर्दै जलवायु सहनशील समुदाय निर्माण गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको आरडिसी नेपालकी कार्यक्रम संयोजक राणा समिमले जानकारी दिनुभयो । उहाँका अनुसार जलवायु परिवर्तनबाट प्रभावित समुदायका महिलाको आर्थिक सशक्तीकरण, नेतृत्व विकास तथा लैङ्गिक हिंसा र अवैतनिक हेरचाह कार्यसँग सम्बन्धित समस्याको समाधानमा उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गरिनेछ ।

परियोजना अन्तर्गत लक्षित छ वटा समुदायमा आगामी पाँच वर्षका लागि समुदायस्तरीय जलवायु अनुकूलन तथा विपद् व्यवस्थापन योजना निर्माण गरिनेछ । योजना निर्माण प्रक्रिया सहभागीमूलक, समावेशी तथा लैङ्गिक संवेदनशील हुने बताइएको छ ।

अभियान अन्तर्गत समुदायस्तरीय जोखिम तथा संवेदनशीलता मूल्याङ्कन, सामाजिक तथा स्रोत नक्साङ्कन, जोखिम नक्साङ्कन, संस्थागत नक्साङ्कन तथा अनुकूलन र जोखिम न्यूनीकरणका उपायहरूको पहिचान तथा प्राथमिकता निर्धारण गरिने संयोजक समिमले बताउनुभयो । त्यसैगरी समुदायको सहभागितामा योजना मस्यौदा तयार, समीक्षा, प्रमाणीकरण र अन्तिम रूप दिने कार्यसमेत गरिनेछ ।

तयार गरिएका योजनालाई वडा तथा नगरपालिकाको वार्षिक योजना र बजेट प्रक्रियासँग समन्वय गरिने तथा आवश्यक प्राविधिक र आर्थिक सहयोगका लागि स्थानीय तहसँग सहकार्य गरिने कार्यक्रम रहेको छ ।

कार्यक्रममा महिला सशक्तीकरण केन्द्रका सदस्य, दलित, जनजाति, मधेशी तथा अपाङ्गता भएका व्यक्ति, वडा विपद् व्यवस्थापन समिति, युवा समूह, जलवायु अभियन्ता तथा स्थानीय सरकारका प्रतिनिधिसहित करिब २१० जनाको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।

यस अभियानबाट समुदायमा जलवायु परिवर्तनका कारण र प्रभावबारे ज्ञान तथा चेतना अभिवृद्धि हुनुका साथै स्थानीय आवश्यकताअनुसार योजना निर्माण भई स्थानीय तहको वार्षिक योजना प्रक्रियामा समावेश हुने अपेक्षा गरिएको छ । साथै महिला समूहहरूको क्षमता अभिवृद्धि भई वडा तथा नगरस्तरमा स्रोत परिचालनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

कार्यक्रम राजदेवी नगरपालिका–१ मोतिपुर, ३ बतासपुर र ९ बरहम्पुरी तथा वृन्दावन नगरपालिका–१ रमौली बैरिया, ५ नरकटिया भवनिपुर र ९ भुसा क्षेत्रमा सञ्चालन भइरहेको छ ।