• २२ वैशाख २०८३, मङ्गलबार

अतिक्रमित जग्गा खालीअघि वैकल्पिक व्यवस्था माग

blog

कोहलपुर नगर प्रमुख पूर्णप्रसाद आचार्यलाई मागपत्र बुझाउँदै रास्वपा कोहलपुर नगर समिति । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, वैशाख २२ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोहलपुर नगर समितिले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूको वैकल्पिक व्यवस्था गरेर मात्र सार्वजनिक जग्गा खाली गर्न कोहलपुर नगरपालिकासँग माग गरेको छ ।

रास्वपा कोहलपुर नगर समिति सचिव देविन सुवेदीसहितको टोलीले सोमबार नगर प्रमुख पूर्णप्रसाद आचार्यलाई भेटी अतिक्रमित सार्वजनिक जग्गा खाली गर्नुअघि प्रभावितहरूको उचित व्यवस्थापन गर्न आग्रह गरेको हो ।

सचिव सुवेदीद्वारा हस्ताक्षरित मागपत्रमा कोहलपुर नगरपालिकाले वैशाख १६ गते प्रकाशित गरेको अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने १० दिने अत्यन्त जरुरी सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

“सार्वजनिक तथा सरकारी सम्पत्तिको संरक्षण राज्य र स्थानीय सरकारको कानुनी दायित्व हो भन्नेमा हाम्रो पार्टी स्पष्ट छ। तर दशकौँदेखि बसोबास गर्दै आएका नागरिकलाई वैकल्पिक व्यवस्था नगरी एक्कासि हटाउने सूचनाले मानवीय संवेदना र संविधानप्रदत्त आवास अधिकारमाथि प्रश्न उठाएको हाम्रो ठहर छ,” मागपत्रमा भनिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वैशाख १७ गतेको सचिवस्तरीय निर्णय र परिपत्रअनुसार ‘वास्तविक सुकुम्बासीको पहिचान गर्ने’ र ‘पहिचान भएका सुकुम्बासीका लागि सुरक्षित आवाससहित वैकल्पिक व्यवस्थापन गर्ने योजना तयार गर्ने’ निर्देशन दिइएको पनि मागपत्रमा उल्लेख छ । साथै गृह मन्त्रालयले पनि समन्वय र पहिचानका आधारमा मात्र प्रक्रिया अघि बढाउन निर्देशन दिएको जनाइएको छ ।

रास्वपाले बस्ती हटाउनुअघि वास्तविक सुकुम्बासीको पहिचान गर्न, उनीहरूका लागि गाँस, बास र कपासको सुनिश्चितता गर्दै सुरक्षित आवासको व्यवस्था गरी स्थानान्तरणपछि मात्र जग्गा खाली गर्ने प्रक्रिया अघि बढाउन तथा मानवीय संवेदनालाई ध्यानमा राख्दै समयसीमा थप गर्न माग गरेको छ ।

“हाम्रो पार्टी कानुनी राज्यको पक्षधर हो, तर विकास र संरक्षणका नाममा आफ्नै नागरिकलाई घरबारविहीन बनाउनु राज्यको दायित्व होइन,” मागपत्रमा भनिएको छ ।

कोहलपुर नगरपालिकाले वैशाख १६ गते सूचना जारी गर्दै नगरभित्रका अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न १० दिने अल्टिमेटम दिएको थियो । सूचनामा अतिक्रमण गरी बनाइएका घरटहराहरू वैशाख २५ गते साँझ ७ बजेसम्म हटाउन भनिएको थियो । सो अवधिमा नहटाइए वैशाख २६ गते बिहान ६ बजेदेखि नगरपालिकाले कानुनी प्रक्रिया अनुसार भत्काउने चेतावनी दिएको छ ।