रामकृष्ण बोहरा
बागलुङ, वैशाख २२ गते । पाँचौँ पटक म्याद थपिएपछि काममा फर्किएको ठेकेदार कम्पनीले मूल्यवृद्धि र बिटुमिन अभावको बहाना बनाउँदा दक्षिण बागलुङको मेरुदण्ड मानिने बागलुङ–कुश्मीसेरा–राङखानी–बरेङ–शान्तिपुर सडकअन्तर्गत कुश्मीसेरा–राङखानी–देवलधारा खण्डको कालोपत्र कार्य पुनः अन्योलमा परेको छ ।
सडक स्तरोन्नतिअन्तर्गत कटिङ, नाली निर्माण र पर्खाल लगाउने काम पूरा भए पनि कालोपत्रका लागि आवश्यक बिटुमिन अभाव र मूल्यवृद्धिका कारण काम रोकिएको निर्माण कम्पनी शर्मा क्याराभान जेभीका प्रतिनिधि चन्द्र थकालीले बताउनुभयो ।
उहाँका अनुसार, “एकातिर बिटुमिनको अभाव छ, पाइहाले पनि पहिले प्रतिकेजी ९० रुपियाँमा पाइने बिटुमिन अहिले १५० रुपियाँसम्म पुगेको छ। पेट्रोलियम पदार्थको अभावले पनि निर्माण कार्य प्रभावित भएको छ।” उहाँले मूल्य समायोजन भएलगत्तै काम पूरा गर्ने दाबी गर्नुभयो ।
२०७८ असोजमा सम्पन्न गर्ने गरी शर्मा क्याराभान जेभीले २०७६ असोजमा २४ करोड ५८ लाख रुपियाँमा पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो । ठेकेदारले विभिन्न कारण देखाउँदै पाँच पटकसम्म म्याद थप गरेको छ । समयमै काम नहुँदा स्थानीयले वर्षामा हिलो र हिउँदमा धुलोको समस्या भोग्दै आएका छन् ।
पूर्वाधार विकास कार्यालयका अधिकृत प्रकाश श्रीसका अनुसार पछिल्लो पटक थपिएको म्याद पनि चैत ४ गते सकिएको छ । समयमै काम नसक्ने ठेकेदार कम्पनीलाई छलफलका लागि कार्यालयमा बोलाइएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ठेकेदार केही समयपछि काममा फर्किएको थियो, तर फेरि मूल्यवृद्धि र बिटुमिन अभावको बहाना बनाएर काम रोकिएको छ। काम सम्पन्न गर्ने भनेको छ तर म्याद थप्ने कुनै योजना छैन।”
ठेकेदार सम्पर्कविहीन हुँदा दुई वर्षमा सकिनुपर्ने कुश्मीसेरा–राङखानी–देवलधारा १० किलोमिटर सडकखण्ड छ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । स्थानीय प्रशासनदेखि गण्डकी प्रदेश सरकारसम्म गुहार्दा पनि काम नहुँदा स्थानीयवासी निराश बनेका छन् ।
सडक कालोपत्र नहुँदा आक्रोशित स्थानीयले संघर्ष समिति गठन गरी चरणबद्ध आन्दोलन गर्दै आएका छन् । संघर्ष समितिका संयोजक भीम श्रीसले भन्नुभयो, “जिल्ला प्रशासन, स्थानीय तह हुँदै मुख्यमन्त्रीसम्म भेटेर दबाब दिएपछि ठेकेदार काममा फर्किएको थियो। तर फेरि मूल्यवृद्धिको बहाना बनाएर काम छाड्दा सडक अलपत्र परेको छ।”
जैमिनी नगरपालिकाका उपमेयर हरिहर शर्माले सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयले दैनिक सास्ती भोग्नुपरेको बताउनुभयो । राङखानीका स्थानीय मित्र थापाले वर्षातमा कच्ची सडकका कारण आवागमन झन् कठिन हुने गरेको गुनासो गर्नुभयो ।
रुम्टाखोलामा पक्की पुल बने पनि सडकको अप्ठ्यारो अवस्थाका कारण नियमित सवारी सञ्चालनमा समस्या छ । हाल बागलुङ बजारदेखि बरेङ गाउँपालिकासम्म नियमित बस सेवा सञ्चालन भए पनि यात्रुहरूले सास्ती भोग्दै आएका छन् ।
पूर्वाधार विकास कार्यालय बागलुङले जैमिनी नगरपालिका–कुश्मीसेरा हुँदै राङखानीको नाम्दुकसम्म तथा बरेङ र गुल्मीको शान्तिपुर जोड्ने गरी २१ किलोमिटर सडक दुई खण्डमा कालोपत्र गर्ने ठेक्का लगाएको थियो । नाम्दुकदेखि बरेङसम्मको सडक कालोपत्र भइसके पनि कुश्मीसेरा–राङखानी–देवलधारा खण्ड भने अलपत्र अवस्थामा छ ।