• २२ वैशाख २०८३, मङ्गलबार

दक्षिणी हुम्लामा जौ टिप्ने चटारो सुरु

blog

मकैका खेतमा पाकेको जौ टिप्दै किसान । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, वैशाख २२ गते ।
जिल्लाको दक्षिणी क्षेत्रमा यतिबेला जौ (जेठासी बाली) टिप्ने चटारो सुरु भएको छ । वैशाख तेस्रो हप्ता लागेसँगै खेतमा छरिएको जौ पाकेपछि किसानहरू कटानीमा व्यस्त भएका छन् ।

गत मङ्सिर–पुस महिनामा खेतमा छरिएको जौ पाकेपछि किसानलाई टिप्ने चटारो सुरु भएको अदानचुली गाउँपालिका–२ मकै गाउँका किसान दत्त बुढाले बताउनुभयो । उहाँका अनुसार हुम्ला जिल्लाकै तराईका रूपमा चिनिने मकै क्षेत्रमा जौ पाकेसँगै किसान बिहानदेखि बेलुकासम्म खेतमै व्यस्त छन् ।

मकैका खेतमा जौ र गहुँ दुवै छरिएको भए पनि गहुँ केही ढिलो पाक्ने भएकाले किसानहरू हाल पाकेको जौ टिप्न व्यस्त रहेको उहाँले बताउनुभयो । त्यसैगरी सर्केगाड गाउँपालिका–१ तुम्चमा पनि जौ पाकेर किसानहरू कटानीमा लागेका स्थानीय युवराज मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले बिहानैदेखि जौ टिप्ने काम भइरहेको छ ।

त्यस्तै अङ्केखोला गाउँपालिका केन्द्र पिप्लाङमा पनि जौ टिप्ने कार्य सुरु भएको छ । नेपालमा जौ उत्पादन हुने जिल्लामध्ये हुम्ला पनि एक हो । दक्षिणी हुम्लामा जौ कम मात्रामा छरिने भए पनि उत्तरी क्षेत्रमा भने धेरै छरिने र ढिलो पाक्ने गरेको स्थानीयले बताएका छन् ।