हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), वैशाख २२ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ मा रहेको करिब दुई सय वर्ष पुरानो ‘झिम्बु’ गुफाको संरक्षण तथा प्रवद्र्धनमा कागबेनीका स्थानीय समुदाय सक्रिय भएका छन् । परापूर्वकालमा बौद्ध लामाहरूले ध्यान–तपस्या गर्ने स्थलका रूपमा प्रयोग गरिएको उक्त गुफालाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले संरक्षण अभियान अघि बढाइएको हो ।
स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने र ध्यान–तपस्या केन्द्र (मेडिटेसन सेन्टर) का रूपमा विकास गर्ने लक्ष्यसहित ऐतिहासिक सम्पदाको संरक्षणमा जुटिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ का वडा अध्यक्ष कर्म घ्याचो गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “पुरानो पुस्ताले अझै पनि यस गुफालाई कागबेनीको चिनारीका रूपमा सम्झिन्छन्, तर संरक्षण अभावका कारण यसको महत्त्व घट्दै गएको थियो ।”
कागबेनीदेखि कोरला नाकातर्फ जाने सडकबाट करिब दुई सय मिटर माथि पहाडको बीच भागमा रहेको झिम्बु गुफामा दुई वटा कोठा रहेका छन् । ती कोठामा लामाहरूले ध्यान बस्दा प्रयोग गरेका चुल्हो, खोपीलगायत संरचना अझै अवलोकन गर्न सकिने वडा अध्यक्ष गुरुङले बताउनुभयो ।
गुफामा बुद्ध जयन्तीको अवसरमा नेपाल प्रहरीका सेवा निवृत्त एसपी राजेन्द्र गुरुङको अगुवाइमा स्थापना गरिएको करिब पाँच फिट अग्लो बुद्ध मूर्तिको प्राणप्रतिष्ठा समेत गरिएको थियो । स्थानीय भाषामा ‘झिम्बु’ स्थानको नाम हो भने गुफालाई ‘फु’ भन्ने चलन रहेको छ ।
गत माघ महिनामा कागबेनीमा करिब ७५ लाख रुपियाँको चन्दा सहयोगबाट गुम्बा निर्माण गरिएको थियो । स्थानीय किम्बदन्तीअनुसार प्राचीनकालमा मानव बस्ती विस्तारका क्रममा उक्त गुफामा ध्यान गरी शक्ति आर्जन गर्ने परम्परा रहेको बताइन्छ ।
सडकबाट गुफासम्म पुग्ने पदमार्ग व्यवस्थित गर्ने, धार्मिक तथा ऐतिहासिक पक्षमा अध्ययन गरी प्रचारप्रसार गर्ने हो भने ‘झिम्बु फु’ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुने सम्भावना रहेको स्थानीयको भनाइ छ । हाल स्थानीयको सक्रियतामा अस्थायी पदमार्ग निर्माण गरिएको छ । गुफाभित्रबाट कागबेनी बजार, कागखोला, कालीगण्डकी, मुक्तिनाथ क्षेत्र, धौलागिरि र निलगिरि हिमालसहितको दृश्यावलोकन गर्न सकिन्छ ।