बागलुङ समाचारदाता
बागलुङ, वैशाख २२ गते । प्राकृतिक सम्पदाको अनुपम र रमणीय स्थलका रूपमा रहेको ढोरपाटनमा पर्यटकीय आगमन बढेसँगै प्रदूषणको चुनौती थपिँदै गएको छ । कुनै समय विदेशी पर्यटकले मात्रै सिकार खेल्न पुग्ने ढोरपाटन सिकार आरक्षमा सडक सुविधा र प्रचारप्रसारले आन्तरिक पर्यटकको भिड लाग्न थालेको छ ।
बर्सेनि हजारौँको सङ्ख्यामा स्वदेशी र विदेशी पर्यटक ढोरपाटनमा पुग्छन् । ढोरपाटन भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढे पनि दिनप्रतिदिन फोहोरको मात्रा बढ्दै गएकोप्रति चिन्ता व्यक्त हुन थालेको छ । डम्पिङ साइटको व्यवस्था नहुनु र पर्यटकले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा ढोरपाटन उपत्यकाको बिच भाग हुँदै बग्ने पवित्र नदी उत्तरगङ्गा, ढोरखोला किनार र बाटो छेउछाउमा फोहोर थुप्रिन थालेको छ ।
पर्यटकले प्रयोग गरेर जथाभाबी मिल्काउने फोहोरको उचित व्यवस्थापन नहुँदा ढोरपाटनमा प्रदूषण बढ्दै गएको दिगो पर्यटन प्रवर्धन परियोजनाका सामाजिक परिचालक रमिता पुनमगर बताउनहुन्छ । पुनमगरले भन्नुभयो, “प्लास्टिक र सिसाजन्य फोहोरले ढोरपाटन कुरूप बन्न थालेको छ । फोहोर उत्सर्जन गर्ने स्थान अभावले पर्यटकले जथाभाबी फाल्दै आएका छन् ।” ढोरपाटनको सुन्दरता र वातावरणलाई जोगाउन परियोजनाले समुदायलाई परिचालन गरेर सरसफाइ अभियानसमेत चलाउन थालेको छ ।
अभियान अन्तर्गत ढोरपाटनका स्थानीयको सहभागितामा ढोरपाटन उपत्यका हुँदै बग्ने उत्तरगङ्गा, ढोरखोला नदी किनार, नवी, भुजीगाउँ, छेन्तुङ गुम्बा र पाखाथर क्षेत्रमा सरसफाइ गरिएको छ । सरसफाइ कार्यक्रमले ढोरपाटन सफा भएको सन्देश जाने र पर्यटकको आगमन बढ्ने परियोजनाको विश्वास छ ।
फोहोरको दिगो व्यवस्थापनमा स्थानीयवासीलाई जागरुक बनाउने काम भइरहेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत बताउनुहुन्छ । अहिले फोहोरको त्यति धेरै समस्या नभए पनि भविष्यमा आउन सक्ने चुनौतीलाई समाधान गर्न स्थानीय सरकार र ढोरपाटन सिकार आरक्ष कार्यालयले नीतिगत व्यवस्था गरेर काम गर्नुपर्ने कायतको भनाइ छ । टोल विकास समितिमार्फत ढोरपाटनमा पर्यटन प्रवर्धनका गतिविधि भइरहेको कायतले जानकारी दिनुभयो ।
फोहोर व्यवस्थापनबारे सचेतना जगाउने उद्देश्यले त्यहाँ रहेका २२ टोलका बासिन्दा सम्मिलित ढोरपाटन उपत्यका सरसफाइ समिति गठन गरिएको छ । समितिले समय समयमा सरसफाइदेखि फोहोरसम्बन्धी सचेतना कार्यक्रम गर्दै आएको छ ।