• २२ वैशाख २०८३, मङ्गलबार

गाउँमा बिजुली पुग्दा स्थानीय खुसी

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, वैशाख २२ गते । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–११ का विभिन्न बस्तीमा केन्द्रीय विद्युत् लाइन विस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुमपश्चिमले आठबिसकोट नगरपालिका–११ मा नयाँ ट्रान्सफर्मर जडान, प्रसारण लाइन विस्तार र विद्युत् लाइन चार्जको काम पूरा गरेको जनाएको छ । 

रुकुमपश्चिम वितरण केन्द्रका प्राविधिक प्रमुख पारस सुवेदीका अनुसार नगरपालिकाको वडा नम्बर ११ को चिसापानीदेखि डाँडागाउँसम्म ११ केभिएको प्रशारण लाइन जडान गरिएको छ । यो सबै नयाँ प्रशारण लाइन हो । यसअघि यस क्षेत्रमा विद्युत् सुविधा थिएन । त्यसै गरी सोही वडाको डाँडागाउँ र फारुला बस्तीमा नयाँ ट्रान्सफर्मर पनि जडान गरिएको छ । प्राविधिक प्रमुख सुवेदीका अनुसार डाँडागाउँमा ५० केभिए र फारुलामा १५ केभिए क्षमताको नयाँ ट्रान्सफर्मर जडान गरिएको हो । यसका साथै फारुला र डाँडागाउँमा वितरण लाइनसमेत जडान गरिएको छ । नयाँ ट्रान्सफर्मर चार्ज गरिएपछि लाइनसमेत जडान गरिएको हो ।