काठमाडौँ, फागुन ३ गते । आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल र वेस्ट इन्डिज दुई फरक परिस्थितिबिच आइतबार एकअर्कासँग खेल्दै छ । समूह ‘सी’ मा वेस्ट इन्डिज सुरुका दुवै खेल जितेर शीर्ष स्थानमा रहेको छ । नेपाल दुवै खेलमा हारेर पुछारमा छ ।
दुई पटकको विश्व विजेता वेस्ट इन्डिजले नेपाललाई हराएर समूह ‘सी’ मा शीर्ष स्थानको लक्ष्यलाई बलियो बनाउने प्रयासमा हुने छ । वेस्ट इन्डिजले सुरुका दुई खेलमा स्कटल्यान्डलाई ३५ र इङ्ग्ल्यान्डलाई ३० रनले हराएको थियो । नेपालको भने सुपर आठमा पुग्ने सम्भावना गणितीय रूपमा मात्र बाँकी छ ।
नेपालको अहिलेसम्मको विश्वकप यात्रा उतारचढावपूर्ण रहेको छ । पहिलो खेलमा उपाधि दाबेदार इङ्ग्ल्यान्डलाई खेल अवधिभर दबाबमा राखेर पनि अन्तिम ओभरमा चुक्दा नेपाल जितबाट वञ्चित भएको थियो । जुन खेल चार रनले हारेर पनि नेपालको विश्वभर प्रशंसा भयो । सो खेलपछि गत बिहीबार नेपालले नवप्रवेशी इटालीलाई हराउने अपेक्षा गरिएको छ तर नेपालले इटालीसँग १० विकेटले अहिलेसम्मकै फराकिलो हार बेहो¥यो ।
त्यसैले वेस्ट इन्डिज अहिले उच्च मनोबलमा रहेको छ भने नेपाली टिममा खुसीको माहोल छैन । यद्यपि नेपालसमक्ष वेस्ट इन्डिजलाई हराएर समर्थकको भरोसा फिर्ता ल्याउने अवसर मिलेको छ । यसका लागि नेपाली खेलाडीले वेस्ट इन्डिजविरुद्ध खेल्दा इटालीविरुद्धको कमजोर प्रदर्शनलाई बिर्सिएर इङ्ग्ल्यान्डसँग गरेको लडाकु खेललाई सम्झनुपर्ने हुन्छ । इङ्ग्ल्यान्डविरुद्ध जितको निकै नजिक पुगेको र करिब छ महिनाअघि वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक शृङ्खला जितले नेपाली खेलाडीलाई प्रेरित गर्न सक्छ । आफ्नो स्वाभाविक खेल खेलमा नेपाल वेस्ट इन्डिजलाई हराउन सक्ने टिम हो ।
गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्सको शारजाहा क्रिकेट मैदानमा भएको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले वेस्ट इन्डिजलाई २–१ ले हराएर इतिहास बनाएको थियो । जुन नेपालको टेस्ट मान्यताप्राप्त टिमविरुद्धको पहिलो शृङ्खला जित हो । नेपालले आइसिसीको पूर्ण सदस्य राष्ट्रसँग द्विपक्षीय शृङ्खला खेलेकै पहिलो पटक थियो । वेस्ट इन्डिज सन् २०१२ र २०१६ मा टी–२० विश्वकप जित्ने टिम हो । त्यसैले टी–२० शृङ्खला खेल्नुअघि नेपालले वेस्ट इन्डिजविरुद्ध शृङ्खला जित्छ भन्ने कमै थिए ।
आइतबारको खेलमा वेस्ट इन्डिजलाई नै जितको दाबेदार मानिएको छ तर पछिल्लो पटक जस्तै पुनः एक पटक नेपालसमक्ष वेस्ट इन्डिजलाई हराएर सबैको अनुमानलाई विफल पार्ने मौका छ । वेस्ट इन्डिजका कप्तानले पनि नेपाल मात्र होइन कुनै पनि टिमलाई हलुका रूपमा नलिने बताउनुभएको छ ।
नेपालका प्रशिक्षक स्टवार्ट लले भने वेस्ट इन्डिजविरुद्धको खेलअघि आफ्ना खेलाडीलाई सामाजिक सञ्जालबाट टाढा रहन र खेलमा ध्यानकेन्द्रित गर्ने सल्लाह दिनुभएको छ । “सामाजिक सञ्जाल नेपालमा छाएको छ तर यो खेलाडीका लागि ध्यान भङ्ग गर्ने माध्यम पनि हो । मैले खेलाडीलाई यसबाट टाढा रहन भनेको छु,” उहाँले भन्नुभयो ।
टी–२० संरचनामा वेस्ट इन्डिज निकै खतरनाक टिम हो । वेस्ट इन्डिजको प्रमुख शक्ति हो विस्फोटक ब्याटिङ । सो टिममा सिमरन हेटमायर ब्रेन्डन किङ, रोभमन पावेल, सेरफन रुथरफर्ड, रोमिमरियो सेफर्ड जस्ता जुनसुकै बलिङ आक्रमणलाई पनि धज्जी उडाउन सक्ने ब्याट्सम्यान हुनुहन्छ । साइ होप र रोस्टन चेज जस्ता ब्याट्सम्यान क्रिजमा टिक्दै यी ब्याट्सम्यानलाई तेज ब्याटिङ गर्न सहयोग गर्नुहुन्छ । हेटमायर र रुथरफर्डले इङ्ग्ल्यान्डसँको खेलमा नाटकीय पालि खेल्नुभएको थियो ।
वेस्ट इन्डिजविरुद्ध जित्न नेपालले केही पक्षमा ध्यान दिनुपर्ने देखिन्छ । नेपाली खेलाडीले मैदानभित्र स्पष्ट रणनीति र त्यसलाई सटिक रूपमा कार्यान्वयन गर्नुपर्ने छ । सबै खेलाडीले आआफ्नो जिम्मेवारी उचित ढङ्गले निवार्ह गर्नुपर्ने छ । इङ्ग्ल्यान्डविरुद्धको खेलमा नेपालका सबै जसो ब्याट्सम्यानले आआफ्नो जिम्मेवारी उचित तरिकाले पूरा गर्नुभएको थियो तर इटालीविरुद्धको खेलमा स्पष्ट रणनीतिको अभाव देखियो । प्रायः नेपाली ब्याट्सम्यान आआफ्नो विकेट प्रतिकूल परिस्थितिमा ठुलो सट प्रहार गर्न खोज्दा आउट हुनुभएको थियो । इटालीका स्पिनरविरुद्ध नेपाल ब्याट्सम्यान रन बनाउन सङ्घर्षरत बनेका थिए । बलिङमा पनि केही निर्णय प्रश्नयोग्य थिए । बलरले पनि सटिक बलिङ गर्न सकेका थिएनन् ।
वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेमा फेरि एक पटक ठुलो जिम्मेवारी रहने छ । सन्दीप नेपालका ट्रम्प कार्र्ड हुनुहुन्छ । रोहित पौडेल, दीपेन्दसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेखले राम्रो सुरुवात दिलाउनुपर्ने हुन्छ । त्यसपछि गुल्सन झा, लोकेश बम र करण केसी जस्ता ठुला सट खेल्ने खेलाडी नेपाली टिममा पनि छन् । नेपाली टिममा १० औँ क्रमसम्म ब्याटिङ क्षमता भएका खेलाडी छन् । वेस्ट इन्डिजविरुद्ध जित्नु छ भने नेपालले एकजुट भएर प्रदर्शन गर्नुपर्ने छ ।