घोडाघोडी समाचारदाता
घोडाघोडी (कैलाली), वैशाख १६ गते । गर्मी बढेसँगै प्राकृतिक झरनामा पर्यटकको भिडभाड बढ्न थालेको छ । कैलालीको मोहन्याल गाउँपालिका–७ मा पर्ने बर्गदा सामुदायिक वनक्षेत्रमा रहेको आमपानी प्राकृतिक झरना आन्तरिक पर्यटकका लागि आकर्षकको केन्द्र बन्दै आएको छ ।
कहिलेकाहीँ मात्र पर्यटक जाने आमपानीमा हिजोआज दैनिक जसो पर्यटक पुग्ने गर्छन् । आमपानी लम्कीदेखि आठ किलोमिटर उत्तरतर्फ चुरेको फेदीमा रहेको प्राकृतिक रमणीय छटाले भरिपूर्ण छ ।
चुरे पहाडबाट बग्ने खोलामा रहेका ठुलठुला ढुङ्गाबाट पानी बग्दा झरनाको स्वरूप लिएको देखिन्छ । खोलाको विभिन्न ताल बनेका ठाउँमा हिजोआज पर्यटक दिनभर रमाउने गरेको देख्न सकिन्छ । लम्कीका युवा व्यवसायी हरिकृष्ण चौलागाईंले समय निकालेर प्रायजसो झरनामा नुहाउन आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “आज पनि हामी पाँच जना भएर मोटरसाइकलमा आएका छौँ । हामी यहाँ आइरहन्छौँ । नजिक छ । गर्मीमा यहाँ आउँदा शीतल हुन्छ । दिनभर यतै रमाएर फर्किन्छौँ ।”
उहाँले आमपानीमा पर्यटकको आगमन बढेसँगै फोहोर व्यवस्थापन हुन नसकेकोमा गुनासो गर्नुभयो । फोहोर देखाउँदै उहाँले भन्नुभयो, “जताततै प्लास्टिक फालिएका छन् । बियरका बोतल छन् । प्राकृत सुन्दर ठाउँमा फोहोरमुक्त बनाउन सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।”
कोरोनाकालमा चर्चामा आएको सो झरना संरक्षण र पर्यटन प्रवर्धनमा प्रदेश सरकार र स्थानीय सरकारको लगानीमा बाटो निर्माण, फाउन्डेसन निर्माणलगायत वनभोज स्थल, शौचालय निर्माण गरिएको छ ।
पर्यटकको रोजाइमा आमपानी पर्न थालेपछि व्यवस्थित गर्न स्थानीय तहले चासो दिएको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले बताउनुभयो । सुदूरपश्चिम प्रदेश सरकारको पर्यटन प्रवर्धन कार्यक्रम अन्तर्गत झरनाको पूर्वाधार निर्माणमा सहयोग गरिएको हो ।
पदमार्ग र धेरैले नुहाउन मिल्ने झरनाको फाउन्डेसन निर्माणका लागि ३६ लाख रुपियाँ खर्च गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन एकाइ प्रमुख डबलबहादुर बोहोराले बताउनुभयो ।
एकाइ प्रमुख बोहोराले भन्नुभयो, “पर्यापर्यटनका रूपमा विकास गर्दै पर्यटकको आकर्षण बढाउन पूर्वाधार निर्माणमा सहयोग गरेको छ । अब यसको संरक्षण र सदुपयोग गर्न जरुरी छ ।”
आमपानीको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्ने जिम्मा सामुदायिक वन उपभोक्ता समितिलाई दिइएको भए पनि समितिले फोहोर व्यवस्थापनमा खासै चासो दिएको देखिँदैन ।