• १६ वैशाख २०८३, बुधबार

गुल्मीमा आत्महत्या र भवितव्य ज्यानका मुद्दा बढी

blog

जिल्ला प्रशासन कार्यालय गुल्मीमा अपराध न्यूनीकरणबारे सरोकारवालाबिच छलफल । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), वैशाख १६ गते ।
गुल्मी जिल्लामा पछिल्ला तीन आर्थिक वर्षको अपराध विवरणअनुसार आत्महत्या प्रमुख चुनौतीका रूपमा देखिएको छ । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको अपराध न्यूनीकरणसम्बन्धी कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गुल्मीले जिल्लाको समग्र अपराध अवस्थाको विवरण प्रस्तुत गरेको हो । प्रहरीमा दर्ता हुने घटनामध्ये झुण्डिएर आत्महत्या गर्ने घटना सबैभन्दा धेरै रहेका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा ७७ आत्महत्याका घटना दर्ता भएका थिए । २०८१/८२ मा ६० आत्महत्याका घटना भएका छन् भने चालु आर्थिक वर्षको हालसम्म ४१ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । तीन वर्षको अवधिमा विष सेवन गरी १७ र पानीमा डुबेर तीन जनाले आत्महत्या गरेको पनि प्रहरीले जनाएको छ ।

त्यस्तै भवितव्य ज्यानसम्बन्धी मुद्दाको संख्या पनि उच्च रहेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ४६, २०८१/८२ मा ४५ र चालु आर्थिक वर्षको हालसम्म २५ वटा भवितव्य ज्यानका मुद्दा दर्ता भएका छन् ।

जिल्लामा पछिल्ला तीन वर्षमा कर्तव्य ज्यानका मुद्दा पनि शून्य हुन सकेका छैनन् । सो अवधिमा छ वटा कर्तव्य ज्यानका र आठ कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएका छन् । त्यस्तै साधारण चोरी १२ र नकबजनी चोरी आठ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

स्थानीय तहअनुसार हेर्दा मुसिकोट र रेसुङ्गा नगरपालिका अपराधका घटनामा अगाडि रहेका छन् । नगरकै हाराहारीमा इस्मा गाउँपालिकामा पनि अपराधका घटना देखिएको प्रहरी नायब उपरीक्षक सारुले जानकारी दिनुभयो । अपराध सबैभन्दा बढी कात्तिक महिनामा देखिएको तथा उमेर समूहअनुसार १९ देखि २५ वर्षका युवाहरू बढी संलग्न रहेको उहाँको भनाइ छ ।

अनलाइन ठगीका घटना पनि बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयमा परेका उजुरीअनुसार अनलाइन ठगीबाट करिब रु। १ करोड ५९ लाखभन्दा बढी रकम हानि भएको देखिएको छ ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले अपराध न्यूनीकरणका लागि स्थानीय तह र सरोकारवालाको सुझावअनुसार कार्ययोजना बनाएर काम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले अपराध नियन्त्रणमा सबै पक्षको समन्वय र सहयोग आवश्यक रहेको बताउनुभयो ।

जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्रीले प्रहरी, प्रशासन र स्थानीय तहबीच ठोस योजना निर्माण गरी समन्वयात्मक रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले कार्यक्रमको उद्देश्यबारे जानकारी दिनुभएको थियो ।

गुल्मी अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्रका बारेमा नर्सिङ अधिकृत कल्पना बोहोराले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा स्थानीय तहका उपप्रमुखहरूले अपराध न्यूनीकरणका विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।