केशवराज भट्ट
वासुलिङ (बैतडी), वैशाख १६ गते । सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले बैतडीमा घरमै राहदानी (पासपोर्ट) पुर्याउने सेवा सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडी र जिल्ला हुलाक कार्यालय बैतडीबीच २०८३ वैशाख १५ गते सम्झौता भएपछि उक्त सेवा कार्यान्वयनमा ल्याइएको हो । सम्झौताअनुसार अब राहदानी बनाउन चाहने नागरिकले आफूले चाहेको स्थान, विशेषगरी घरमै पासपोर्ट प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
यस सेवामार्फत राहदानी तयार भएपछि जिल्ला हुलाक कार्यालयले सम्बन्धित व्यक्तिको घरदैलोमै पु¥याउने जनाएको छ । यसले विशेषगरी दुर्गम क्षेत्रका सेवाग्राही, ज्येष्ठ नागरिक तथा कार्यालयसम्म पुग्न असहज हुने व्यक्तिहरूलाई ठुलो राहत पुग्ने अपेक्षा गरिएको छ ।
कार्यालयका अनुसार सेवा सञ्चालनसँगै सेवाग्राहीको समय, खर्च र झन्झट घट्ने विश्वास गरिएको छ । यसअघि राहदानी लिन जिल्ला प्रशासन कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता रहेकामा अब हुलाकमार्फत घरमै सेवा प्राप्त गर्न सकिने भएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिनुभयो ।
सम्बन्धित निकायले सेवाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक समन्वय तथा व्यवस्थापन मिलाइएको जनाएको छ । साथै सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी यो सुविधाको उपयोग गर्न आग्रह गरिएको छ ।