विजयकुमार साह
ढल्केबर, वैशाख १६ गते । प्रतिनिधि सभा सदस्य डा. चन्द्रमोहन यादवले संविधानको संरक्षण, लोकतान्त्रिक अधिकारको रक्षा तथा सङ्घीय प्रणालीको सुदृढीकरणका लागि संसद्मा आफ्नो भूमिका रहने बताउनुभएको छ ।
समानुपातिक निर्वाचन प्रणालीमार्फत दोस्रो पटक संसद्मा प्रवेश गर्नुभएका प्रतिनिधि सभा सदस्य यादवले वर्तमान राजनीतिक परिस्थितिमा संविधानमाथि विभिन्न कोणबाट चुनौती देखिएको उल्लेख गर्दै त्यसको रक्षा गर्नु अहिलेको प्रमुख दायित्व भएको धारणा राख्नुभयो । डा. यादवले संसद्मा आफूले उठाउने विषय परिस्थिति अनुसार फरक फरक भए पनि मुख्य प्राथमिकता सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु नै रहने स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार र सङ्घीय व्यवस्थालाई संस्थागत गर्नु अहिलेको आवश्यकता हो । उहाँले भन्नुभयो, “संविधानले दिएका अधिकारको संरक्षण र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउनु नै मेरो प्राथमिकता रहने छ ।” उहाँले संसद्मा प्रतिपक्षको भूमिका अझ महìवपूर्ण हुने उल्लेख गर्दै केवल विरोधका लागि विरोध गर्ने नभई राष्ट्र र जनताको हितमा रचनात्मक सहयोग र आवश्यक खबरदारी गर्ने नीति अपनाउने स्पष्ट पार्नुभयो ।
प्रतिपक्षको भूमिकाबारे उहाँले सरकारका सकारात्मक तथा जनहितका कार्यव्रmमलाई समर्थन गर्ने तर जनविरोधी निर्णय वा कमजोरी देखिए त्यसमा सशक्त ढङ्गले आवाज उठाउने बताउनुभयो । संसदीय अभ्यासमा सन्तुलन कायम राख्न प्रतिपक्षको सक्रियता अपरिहार्य हुने उहाँको भनाइ छ । विकासनिर्माणका सवालमा डा. यादवले आफ्नो गृह जिल्ला धनुषालगायत क्षेत्रीय आवश्यकता अनुसार स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा ध्यान दिने बताउनुभयो ।
शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, सडक तथा अन्य पूर्वाधार विकासमा पनि आफ्नो सव्रिmय भूमिका रहने उहाँले उल्लेख गर्नुभयो । स्थानीय तहसँग समन्वय गर्दै दिगो विकासका कार्यव्रmम अघि बढाउने उहाँले बताउनुभयो । डा. यादवले वर्तमान अवस्था चुनौतीपूर्ण रहेको बताउँदै संविधानको रक्षा, लोकतान्त्रिक मूल्यको सुदृढीकरण र जनताको हितका लागि सव्रिmय भूमिका निर्वाह गर्ने प्रतिबद्धता दोहो¥याउनुभयो ।
डा. यादवको पहिचान प्रारम्भमा एक सफल चिकित्सक र प्राध्यापकका रूपमा थियो । उहाँले काठमाडौँस्थित वीर अस्पतालमा रेडियोलोजी विभागमा प्राध्यापकका रूपमा लामो समय सेवा गर्नुभएको छ । भारतको चण्डीगढबाट उच्च शिक्षा हासिल गर्नुभएका प्रतिनिधि सभा सदस्य डा. यादव समाज र राष्ट्रको हितका लागि आफू राजनीतिमा प्रवेश गरेको बताउनुभयो ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका सपही निवासी ६२ वर्षीय प्रतिनिधि सभा सदस्य डा. यादव २०७० सालको संविधान सभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर ५ बाट निर्वाचित हुनुभएको थियो । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसदका रूपमा उहाँ दोस्रो पटक संसद्मा पुग्नुभएको हो । उहाँ नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा हुनुहुन्छ ।
पार्टीको केन्द्रीय सदस्य तथा स्वास्थ्य विभागका संयोजकसमेत रहिसक्नुभएको छ । पिताको राजनीतिक विरासतका कारण राजनीतिमा आएको भन्ने आलोचनाबारे प्रतिव्रिmया दिँदै उहाँले पार्टीप्रतिको समर्पण र संवैधानिक व्यवस्था अनुसार समानुपातिक प्रणालीमार्फत संसद्मा आएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “मेरो पिताको योगदानप्रति मलाई गर्व छ, तर राजनीतिमा म आफ्नै कामले यो स्थान बनाएको हुँ ।”
कांग्रेसबाट निर्वाचित डा. रामवरण यादव प्रथम राष्ट्रपति बनेपछि २०६५ को संविधान सभा उपनिर्वाचनमा धनुषा–५ बाट कांग्रेसको तर्फबाट उम्मेदवार बनेर उहाँ राजनीतिमा प्रवेश गर्नुभएको थियो । त्यसबेला उहाँले नेकपाका रघुवीर महासेठसँग पराजित हुनुभएको थियो तर २०७० को दोस्रो संविधान सभा सदस्य निर्वाचनमा उहाँ महासेठलाई पराजित गर्दै संसदीय राजनीति यात्रामा सुरु गर्नुभएको थियो । प्रतिनिधि सभा सदस्य डा. यादव सामाजिक कार्यमा योगदान दिँदै आउनुभएको छ ।