• १६ वैशाख २०८३, बुधबार

चोरकाटेका कुमाल समुदाय पुर्ख्यौली पेसामा फर्कँदै

blog

माटोका भाँडाकुडा बनाउँदै । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, वैशाख १६ गते ।
गोरखाको सिरानचोक गाउँपालिका–४, चोरकाटे कुमाल समुदायको बाहुल्यता भएको गाउँ हो, जहाँ करिब ३८० घरधुरी कुमाल परिवारको बसोवास छ। दरौदी नदी आसपास बसोवास गर्दै आएका उनीहरूको मुख्य पेसा तीन दशक अघिसम्म माटोका भाँडाकुडा बनाउने थियो। गाग्रा, हाँडी, भुड्का, हुक्का, चिलिम, हण्डा, गमला जस्ता सामग्री उत्पादन गरी बिक्री गरेर उनीहरूले परिवार धान्दै आएका थिए। केहीले माछा मार्ने र बेच्ने तथा खेतीपाती गरेर पनि गुजारा चलाउँदै आएका थिए।

तर समयक्रमसँगै सामाजिक विभेद र राज्यको बेवास्ताका कारण यो पुख्यौली पेसाप्रति कुमाल समुदायमा वितृष्णा बढ्यो। “कुमाललाई राज्यले पहिचान नै गर्दैनथ्यो, नागरिकता देखाएर पनि जागिर पाइँदैनथ्यो,” स्थानीय भेषबहादुर कुमाल भन्नुहुन्छ। “माटे भनेर हेपिन्थ्यो, त्यसैले कतिले थर फेरे, धेरैले पेसा छाडे। वैदेशिक रोजगारी खुलेपछि युवा विदेशिए, बाँकीले खेतीपाती रोजे। नयाँ पुस्ताले त माटोको काम देख्नै पाएनन्।”

अहिले भने अवस्था फेरिएको छ। कुमाल समुदायमा आफ्नो पहिचान, भाषा, संस्कार र संस्कृतिप्रति गर्व गर्ने भावना पुनः जागृत भएको छ। “माटोको काम नै हाम्रो पहिचान हो, यसलाई बिर्सनु हुँदैन,” स्थानीय चन्द्रबहादुर कुमाल भन्नुहुन्छ। प्लास्टिकजन्य सामग्रीबाट हुने प्रदूषण बढ्दै जाँदा माटाका भाँडाप्रति पुनः आकर्षण बढेको उनीहरूको बुझाइ छ।

यसै कारण चोरकाटेमा कुमाल समुदायले सामूहिक रूपमा पुर्ख्यौली पेसामा फर्कने अभियान सुरु गरेका छन्। उनीहरूले ‘चोरकाटे सेरामिक्स समूह’ गठन गरी आधुनिक प्रविधिसँग जोडेर सेरामिक्स भाँडाकुडा उत्पादन सुरु गरेका छन्। स्थानीय सरकारको सहयोगमा गण्डकी प्रदेशको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत भक्तपुरका दक्ष कालीगढ ल्याई २६ जनालाई १४ प्रकारका सेरामिक्स सामग्री बनाउने तालिम दिइएको सिरानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालले जानकारी दिनुभयो।

अहिले समूहले सामुदायिक भवनमा उत्पादन गरिरहेको छ। “उत्पादन भएका सामग्री गोरखा बजार र आसपासका क्षेत्रमा बिक्री भइरहेका छन्,” स्थानीय टोपबहादुर कुमालले भन्नुभयो, “मेला–महोत्सवमा प्रदर्शन गरेपछि माग बढेको छ, तर ढुवानी गर्दा टुटफुट हुने समस्या छ।”

सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङका अनुसार कुमाल समुदायको मागअनुसार उनीहरूको पेसा प्रवर्धन गर्न स्थानीय तह सधैं तयार छ। परम्परागत पेशालाई आधुनिक स्वरूप दिँदै आत्मनिर्भर बन्ने कुमाल समुदायको प्रयास अहिले उदाहरणीय बन्दै गएको छ।