जेनेभा, वैशाख १६ गते । सुडानमा जारी द्वन्द्वका क्रममा यौन हिंसालाई सुनियोजित रूपमा प्रयोग गरिदा त्यसको प्रभाव केवल शारीरिक क्षतिमा सीमित नरही गम्भीर मानसिक स्वास्थ्य सङ्कटमा परिणत भइरहेको भन्दै संयुक्त राष्ट्रसङ्घसँग आबद्ध निकाय र स्थानीय सहायता समूहले चिन्ता व्यक्त गरेका छन् ।
उनीहरूले यस्तो हिंसाबाट बचेकाका लागि तत्काल र दीर्घकालीन मनोसामाजिक सहयोग अपरिहार्य रहेकोमा जोड दिएका छन् । अप्रिल २०२३ देखि सुडानी सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बिच जारी भीषण द्वन्द्वले दशौँ हजार मानिसको ज्यान लिइसकेको छ भने करिब एक करोड १० लाख मानिस विस्थापित भएका छन् । यही हिंसात्मक वातावरणमा बलात्कार र अन्य यौन अपराधलाई युद्धको हतियारका रूपमा प्रयोग गरिएको विभिन्न प्रतिवेदनले देखाएका छन् ।
मेडिकल च्यारिटी डक्टरस विदाउट बोर्डर्सका अनुसार जनवरी २०२४ देखि नोभेम्बर २०२५ सम्म उत्तर र दक्षिण डार्फर क्षेत्रमा उनीहरूले सञ्चालन गरेका स्वास्थ्य केन्द्रमा यौन हिंसाबाट बचेका कम्तीमा तीन हजार ३९६ जनाले उपचार खोजेका थिए, जसमा अधिकांश महिला र किशोरी रहेका छन् । तर विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रतिनिधिले यो सङ्ख्या वास्तविक अवस्थाको सानो अंश मात्र भएको सङ्केत गरेका छन् ।
डब्लुएचओको लैङ्गिक हिंसा एकाइकी प्रमुख अवनी अमिनले जेनेभामा आयोजित कार्यक्रममा यौन हिंसाका पीडितले सेवा लिन असाध्यै कठिनाइ भोगिरहेको बताउनुभयो । उहाँका अनुसार असुरक्षा, स्वास्थ्य संस्थामा पुग्न गाह्रो तथा यस्ता घटनासँग जुझ्न प्रशिक्षित स्वास्थ्यकर्मीको अभावले समस्या झनै जटिल बनाएको छ । साथै, सामाजिक कलङ्कका कारण धेरै पीडितले घटना सार्वजनिक गर्नै नसक्ने अवस्था रहेको उहाँले औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “एउटा घटना सार्वजनिक हुने प्रत्येक अवस्थामा अरू धेरै महिला चुपचाप पीडा सहेर बस्न बाध्य हुने सम्भावना रहन्छ ।” डार्फर महिला एक्सन समूहकी निमत अहमदीले हिंसापछि उपचार खोज्ने महिलाले सामना गर्नु परेको भयावह अवस्थाबारे जानकारी दिनुभयो । उहाँका अनुसार सामूहिक बलात्कारपछि धेरै महिला गम्भीर स्वास्थ्य जटिलता, विशेष गरी फिस्टुला जस्ता समस्याबाट पीडित हुने गरेका छन् ।
शान्ति कालमै यस्ता बिरामीका लागि पर्याप्त चिकित्सक नभएको अवस्थामा अहिले त सेवा लगभग शून्य जस्तै भएको उहाँले उल्लेख गर्नुभयो । धेरै स्वास्थ्य संस्था लडाकू समूहको नियन्त्रणमा रहेकाले उहाँले अपहरण र बलात्कारपछि बचेका महिला अस्पताल जानसमेत डराउने गरेको बताउनुभयो । एउटा अस्पतालमा आरएसएफका लडाकूले प्रवेश गरी स्वास्थ्यकर्मीमाथि नै गोली प्रहार र बलात्कार गरेको घटनासमेत उहाँले स्मरण गर्नुभयो ।
त्यही क्रममा उपचाररत एक प्रसूती (सुत्केरी) को ज्यान गएको उहाँले जानकारी दिनुभयो । सुरक्षा जोखिमका कारण अन्तर्राष्ट्रिय सहायता संस्थाको फिर्ता र मानवीय सहयोगमा भएको कटौतीले अवस्था अझ जटिल बनेको उहाँले बताउनुभयो । स्रोत अभावका कारण साना स्थानीय महिला संस्थाले मात्रै सेवा दिनुपरेको र त्यसले जोखिम बढाएको उहाँको भनाइ छ ।
संयुक्त राष्ट्र जनसङ्ख्या कोष (युएनएफपिए) ले पनि सेवाको अभावले पीडितहरूमा गम्भीर असर परेको जनाएको छ । युएनएफपिएका मानवीय प्रतिक्रिया प्रमुख सोको अराकाकीले यौन हिंसापछि ७२ घण्टाभित्र उपचार पाउनु अत्यन्त आवश्यक हुने बताउनुभयो, तर अहिले औषधि र सेवा दुवैको अभाव रहेको स्वीकार गर्नुभयो ।
उहाँले विशेष गरी मानसिक स्वास्थ्य सहयोगको आवश्यकता अत्यधिक बढेको उल्लेख गर्दै पीडितमा गम्भीर मनोवैज्ञानिक समस्या देखिएको बताउनुभयो । उहाँका अनुसार आत्महत्याका घटनासमेत बढिरहेका छन् । यद्यपि यस्ता घटनाको आधिकारिक विवरण सङ्कलन गर्न कठिन रहेको छ, तर स्थानीय स्रोतले बलात्कारको डर वा त्यसपछि हुने सामाजिक बहिष्कारबाट बच्न महिलाले आत्महत्या गर्ने घटना बढेको सङ्केत दिएका छन् ।
अवनी अमिनले जीवन रक्षा प्रयाससँगै मानसिक स्वास्थ्य सहयोगलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँका अनुसार यस्ता द्वन्द्वका असर केवल तत्काल नभई दीर्घकालीन र पुस्तौँसम्म रहने खालका हुन्छन् । त्यसैले अहिले नै व्यापक तयारी र समर्थन प्रणाली विकास गर्नुपर्ने उहाँको जोड छ । रासस/एएफपी