• १५ वैशाख २०८३, मङ्गलबार

सुदूरपश्चिमको पहिलो केबलकार : धमाधम काम हुँदै

blog

चिसापानी–राजकाँडा केबलकारको टप स्टेसनमा भइरहेको निर्माणको काम । तस्बिरः चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी(कैलाली) वैशाख १५ गते । सुदूरपश्चिम प्रदेशको पहिलो केबलकारको रूपमा जाल्पादेवी केबलकार निर्माण कम्पनीले निर्माण गर्न थालेको चिसापानी–राजकाँडा केबलकारको काम धमाधम भइरहेको छ । 

२०८२ साल पुसदेखि सुरु भएको केबलकारको बेसको काम सकिएर पिलर राख्नेकाम भइरहेको छ । १४ वटा पिलर र ३४ वटा गोन्दुला  फिट गर्नुपर्नेमा अहिले ३ वटा पिलर लगाउने काम सकिएको छ । 

केबलकार सञ्चालक सूर्यबहादुर थापाले असारसम्म नभए दशैं सम्ममा केबलकार सञ्चालनमा आउने बताउनुभयो । उहाँले वैशाखमा सञ्चालनमा ल्याउने पूर्व तयारी भए पनि आफू बिरामी भएर चार महिना भारतमा औषधी उपचारमा बस्नु परेको र चुनावका कारण दुई महिना ढिला हुन गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “केबलकारको बेसको काम सकिए र पिलर फिट गर्ने काम भइरहेको छ । इटलीबाट सामानसँगै निर्माण कम्पनीले प्राविधिक पठाएको छ । उहाँहरूको टिमले काम गरिरहनु भएको छ । रोपवेको सहायताले पिलर फिट हुदैँछ ।”


राजकाँडामा केबलकारसँगै मालिका मन्दिर निर्माण, चमेना गृह, टिकट घर, बाटो निर्माण लगायत काम पनि धमाधम भइरहेको छ । धेरै ठेकेदारले काम लिएकाले पनि काम फटाफट भएको देखिन्छ । 

सञ्चालक थापाले आठ जना ठेकेदारले अलग–अलग कामको ठेक्का लिइ काम गरेको जानकारी दिनुभयो । मालिकादेवी मन्दिर निर्माणको लगभग पचास प्रतिशत काम सकिएको छ । मन्दिर जाने बाटोमा ढुङ्गाको छपनी लगाएर आकर्षक बाटो निर्माण भइरहेको छ । 

जाल्पादेवी केबलकार कम्पनीले २० विघा जमिन केबलकार सञ्चालनका लागि आफ्नो नाममा लिइ उक्त क्षेत्रका रुख कटान प्रक्रिया पूरागरी केबलकारको काम सुरु गरेको हो । आइएमी समूहका अध्यक्ष एवम् नेपाल उधोग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालको ७५ प्रतिशत लगानी तथा कैलाली लम्कीका व्यवसायी सूर्यबहादुर थापाको २५ प्रतिशत लगानीमा केबलकारको काम अगाडि बढेको हो ।

सञ्चालक थापाले सुदूरपश्चिमको पहिलोे केबलकारको रूपमा जाल्पादेवी केबलकार रहेको जनाउँदै यसको लम्बाई ३१ मिटर लामो रहेको बताउनुभयो । पाँच अर्ब लागतमा केबलकार निर्माणले पूर्णता पाउने भएको हो । व्यवसायी थापाले अनुमानित लागत रकम बढ्न पनि सक्ने बताउनुभयो ।


केबलकारको टप र बटम स्टेसनमा आवश्यक भौतिक संरचना निर्माणको काम भइरहेको छ । केबलकार सञ्चालनले मोहन्याल गाउँपालिका–७ मा रहेको ऐतिहासिक धुलिकोट दरबारसँग जोडिएका महत्त्वपूर्ण कुराहरूको अवलोकन र प्रचार प्रसारमा सहयोग पुग्नुका साथै स्थानीयको आर्थिक अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ ।

राजकाँडामा होटल व्यवसाय सञ्चालन गर्नुभएका खेम खत्रीले केबलकार सञ्चालनमा आएपछि होटल व्यवसाय राम्रै चल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिले पनि तराईको गर्मी छल्न र यहाँबाट देखिने मनोरम दृष्य अवलोकनका लागि पर्यटकहरू आउने गरेको बताउनुभयो । 

राजकाँडामा खानेपानी र बिजुली बत्तीको समस्या छ । केबलकार सञ्चालनमा आएपछि उक्त समस्या समाधान हुने आशा स्थानीयले लिएका छन् । सञ्चालक थापाले राज्यको शुन्य लगानीमा निजी क्षेत्रले सञ्चालनमा ल्याउने केबलकारसँगै बाटोघाटो, खानेपानी, बिजुलीबत्तीको विकास पनि सँगसँगै हुने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विकासमा कायपलट गर्ने क्षेत्र पर्यटन हो । विदेशी मुद्रा आर्जन गर्ने, रोजगारी सिर्जना गर्ने, राजस्व उठाउने, विकासमा समृद्धि आउने पर्यटन क्षेत्रबाट सम्भव छ । निजी क्षेत्रले विकास पनि गर्ने छ । राज्यलाई राजस्व पनि दिने छ ।”


२०८२ साल वैशाखमा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाले केबलकारको शिलान्यास गर्नुभएको थियो । मालिका मन्दिर निर्माण सम्पन्न भएपछि भारत सरकार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथद्वारा उद्घाटन गराउने तयारी रहेको समेत जनाइएको छ ।