• १५ वैशाख २०८३, मङ्गलबार

युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी

blog

बेरुत, वैशाख १५ गते । इजरायली सेनाले अप्रिल-१६ देखि सुरु भएको युद्धविराम उल्लङ्घन गर्दै मङ्गलबार पनि दक्षिणी लेबनानमा आक्रमण जारी राखेको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सीले इजरायली लडाकु विमानले नबातिह जिल्लाको जाव्तार अल-शार्कियाह सहरमा तीन वटा हवाई आक्रमण गरेको रिपोर्ट गरेको छ । 

यसैबिच दक्षिणी लेबनानको बिन्ट जेबिल जिल्लाको ह्यारिस सहरमा इजरायली हवाई आक्रमण गरे पछि धेरै मानिस बेपत्ता भएको जनाइएको छ । इजरायली लडाकु विमानले टायर जिल्लाको जबल अल-बटुम सहरमा आक्रमण गरेको तथा बिन्ट जेबिलमा भारी मेसिन गन प्रहार गरेको जनाइएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै ५१ जना घाइते भएको घोषणा गरेको छ । दक्षिणी लेबनानमा आक्रमण जारी राखेर, इजरायली एकाइले अप्रिल-१६ मा लागु भएको १० दिने युद्धविरामको उल्लङ्घन गरिरहेको छ । रासस/क्युएनए