• १६ वैशाख २०८३, बुधबार

राष्ट्रिय वाणिज्य बैंकको कृषि क्षेत्रमा लगानी बढ्दै

blog

काठमाडौँ, वैशाख १६ गते । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले उत्पादनशील क्षेत्रमा गरिने लगानीलाई प्राथमिकतामा राख्दै आएको छ । विशेषगरी कृषि क्षेत्रमा गरिने कर्जा लगानीलाई प्राथमिकतामा राख्दै बैंकले २०८२ चैत मसान्तसम्म ३९ अर्ब ५३ करोड २० लाख रुपियाँ कृषि कर्जा प्रवाह गरेको छ ।

बैंकले आधार दरमा न्यूनतम प्रिमियम कायम गरी सस्तो ब्याजदरमा कृषि कर्जा प्रवाह गर्दै आएको छ । कृषक तथा कृषि उद्यमीलाई आकर्षित गर्न कृषि सम्बन्धी कर्जामा प्रशोधन शुल्कमा समेत सुविधा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

बैंकका उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीका अनुसार कुखुरापालन, बाख्रापालन, गाईपालन, भैंसीपालन, माछापालनलगायत कृषि परियोजनामा लगानी गर्दै आइरहेको बैंकले पछिल्लो समय विभिन्न प्रदेशका कृषि उत्पादनलाई लक्षित गर्दै ४.७५ प्रतिशत ब्याजदरमा पाँच करोडसम्मको “प्रदेश विशेष कृषि कर्जा” उपलब्ध गराउँदै आएको छ । त्यस्तै, स्थानीय साना कृषकलाई लक्षित गरी कुनै पनि प्रशोधन शुल्क नलिई ४.७५ प्रतिशत ब्याजदरमा १० लाखसम्मको “साना किसान सरल कर्जा” उपलब्ध गराइँदै आएको छ । साथै किसानका लागि “किसान क्रेडिट कार्ड” सुविधा पनि उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।

कृषि कर्जा सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन बैंकले छुट्टै कृषि कर्जा नीति जारी गरी कृषि कर्जा कार्यविधि समेत लागू गरेको छ । कृषि लगानीलाई प्रभावकारी बनाउन बैंकको केन्द्रीय कार्यालयमा कृषि तथा सामाजिक बैंकिङ विभाग स्थापना गरिएको छ । यस क्षेत्रमा दक्ष कृषि विज्ञलाई कर्मचारीका रूपमा भित्र्याई विभाग, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयमा परिचालन गरिएको बैंकले जनाएको छ ।

बैंकले ७७ वटै जिल्लामा रहेका ३१४ शाखामार्फत कृषि कर्जा उपलब्ध गराउँदै ग्रामीण कृषकको पहुँच सुनिश्चित गरेको छ । साथै, बैंकले समय–समयमा वित्तीय सचेतना कार्यक्रममार्फत कृषि कर्जाबारे जानकारी पनि प्रदान गर्दै आएको छ ।

परम्परागत रूपमा निर्वाहमुखी कृषि पेशामा आबद्ध ग्रामीण किसानलाई लक्षित गर्दै बैंकले सरकारी नीति तथा प्राथमिकताअनुसार कृषि कर्जा प्रवाहमार्फत पुँजी परिचालन गर्दै आएको छ । यसले कृषि आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि, प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना, स्वरोजगार तथा आयआर्जन वृद्धि, ग्रामीण अर्थतन्त्र विकास र मूल्य शृंखलामा सुधारजस्ता क्षेत्रमा सकारात्मक प्रभाव पारेको बैंकले जनाएको छ ।