पश्चिम नवलपरासी समाचारदाता
पश्चिम नवलपरासी, वैशाख १६ गते । पश्चिम नवलपरासीका विभिन्न सामुदायिक वनक्षेत्रमा पोखरी निर्माण भइरहेको छ । सामुदायिक वन समूह र प्रदेश सरकारको लगानीमा निर्माण भइरहेका पोखरी जैविक विविधता संरक्षण, वन्यजन्तु संरक्षण र आगलागी नियन्त्रणका लागि सहयोगी बनेका छन् ।
वन्यजन्तु संरक्षण गर्दै मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण र वनक्षेत्रमा हुने आगलागी नियन्त्रणका लागि जिल्लाका सामुदायिक वनमा पोखरी निर्माण भइरहेका छन् । विशेष गरी गर्मीयाममा पानीको अभावमा बस्ती क्षेत्रमा वन्यजन्तु प्रवेश गरेर क्षति गर्ने समस्या समाधानका लागि वनमै बगिरहेको पानीको संरक्षण गरेर पोखरी बनाइएको छ ।
मूलपानी सामुदायिक वन उपभोक्ता समूह सुनवलका अध्यक्ष यज्ञप्रसाद पाण्डेले वनजङ्गलमा लाग्ने डढेलो निभाउन पानीका लागि टाढा जानुपर्ने बाध्यतालाई हेरेर अहिले वनक्षेत्रभित्र निर्माण भएका पोखरीले आगलागी नियन्त्रणमा धेरै सहयोग पुगेको बताउनुभयो । पाण्डेले भन्नुभयो, “वन्यजन्तुलाई पानी खान सजिलो भएको छ भने डढेलो नियन्त्रण गर्न सहयोग पुगेको छ ।”
जिल्लाका ६२ सामुदायिक वनमध्ये २६ सामुदायिक वनमा पोखरी छ । चालु आर्थिक वर्षमा डिभिजन वन कार्यालय परासीले थप ११ वटा पोखरी वनक्षेत्रभित्र निर्माण गर्दै छ । डिभिजन वन कार्यालय परासीका सिनियर डिभिजनल वन अधिकृत राजु क्षेत्रीले हरेक वनभित्र पोखरी अनिवार्य आवश्यकता जस्तै बनेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एउटा सामुदायिक वनमा एउटा पोखरी निर्माण गर्ने अभियानमा छौँ, अझ ठुला वनक्षेत्रमा प्रत्येक क्लस्टरमा पोखरीको आवश्यकता छ ।” उहाँले वनक्षेत्रमा जैविक विविधता संरक्षण, वन्यजन्तुका लागि पानीको उपलब्धता र आगलागी नियन्त्रणका लागि वनभित्र निर्माण गरिएका पोखरीले वन र वन्यजन्तु संरक्षणमा सहयोग पुगेको बताउनुभयो । वनक्षेत्रभित्र पर्याप्त पोखरी निर्माण, सिमसार क्षेत्र संरक्षणलगायतका काम गर्न सके सामुदायिक वन जैविक विविधता संरक्षणको मोडेल बन्न सक्ने वन अधिकारकर्मीको भनाइ छ ।