• १६ वैशाख २०८३, बुधबार

आठ सय पैँसट्ठी रोपनी सरकारी जग्गा अतिक्रमण

blog

सुर्नया र पुर्चौडीको ढोलेमा अतिक्रमण बढेपछि दुर्लभ लौठसल्ला जोगाउन गरिएको काँडे तारबार । तस्बिर सौजन्य : डिभिजन वन बैतडी

बैतडी समाचारदाता

बैतडी, वैशाख १६ गते ।  बैतडीमा ८६५ रोपनी वनक्षेत्रको सरकारी जग्गा अतिक्रमणको चपेटामा परेको छ । अतिक्रमणमा महत्वपूर्ण जडीबुटी पाइने संरक्षित वनसमेत परेका छन् ।  

डिभिजन वन कार्यालयका अनुसार जिपिएसका माध्यमबाट अतिक्रमित वनक्षेत्रको तथ्याङ्क लिइएको छ । तथ्याङ्क अनुसार दशरथचन्द नगरपालिका–९, ग्वाल्लेक संरक्षित वनको गिवाखोला वन र सिगास संरक्षित वनको गर्जेमा वन अतिक्रमण भएको छ । सिगास संरक्षित वनको गर्जेमा २० स्थानमा वन अतिक्रमण भएको डिभिजन वन प्रमुख भक्तराज गिरीले जानकारी दिनुभयो । 

उहाँले दशरथ चन्द नगरपालिका, पुर्चौडी नगरपालिका, सुर्नया गाउँपालिका, सिगास गाउँपालिका र मेलौली नगरपालिकामा  वनक्षेत्रको सरकारी जग्गा अतिक्रमण गरेर पक्की घर निर्माण गरिएको बताउनुभयो ।  

तथ्याङ्क अनुसार संरक्षित वनबाहेक दशरथ चन्द नगरपालिका–१ को मुस्याचोर बजार क्षेत्रमा वन अतिक्रमण गरेर सात वटा घर बनेका छन् । सुर्नया गाउँपालिका–८, ढोल्यामोड र पुर्चौडी नगरपालिका–६, स्थित लौठसल्लाको वन अतिक्रमण गरेर ११ वटा घर टहरा बनाइएका छन् । 

त्यसैगरी पुर्चौडी नगरपालिका–७ को रुइनचौड र बडगाउँमा वन अतिक्रमण गरेर १८ वटा घरटहरा बनेका छन् । पुर्चौडी नगरपालिका–७ कै गिरिजाबगरमा वनक्षेत्र अतिक्रमण गरी बसपार्क निर्माण गरिएको छ । 

मेलौली नगरपालिकामा वनक्षेत्रको सरकरी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका २७ वटा घर यसअघि भत्काइए पनि अन्य क्षेत्रको अतिक्रमण हटाउन सकिएको छैन । 

बैतडीमा ४४ हेक्टर ( करिब ८६५) रोपनी वनक्षेत्रको सरकारी जग्गा अतिक्रमण भएको प्रतिवेदन स्थानीय तहमा समेत पठाइएको वन प्रमुख गिरीले बताउनुभयो । उहाँले अतिक्रमण हटाउन वन कार्यालयबाट यसअघि सूचना जारी गरेर हटाउने प्रयास गरे पनि मेलौलीबाहेकका स्थानको अतिक्रमण हटाउन नसकिएको बताउनुभयो ।  

 लौठसल्ला चपेटामा 

डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार सुर्नया गाउँपालिका–८, ढोल्या बजारसँग जोडिएको राष्ट्रिय वन र सोही वनसँग जोडिएको पुर्चौडी नगरपालिका–५ को वसन्त हरियाली सामुदायिक वन अतिक्रमणमा परेपछि यहाँ पाइने दुर्लभ लौठसल्लाको बिरुवा चपेटामा परेका छन् ।  त्यसै गरी ६५ भन्दा बढी जडीबुटी पाइने सिगास गाउँपालिका–४, गर्जे बजारसँग जोडिएको सिगास संरक्षित वन पनि अतिक्रमणको चपेटामा परेको वन कार्यालयको तथ्याङ्क छ । 

अतिक्रमणले लौठसल्ला मासिन थालेपछि वनस्पति विभाग र जिल्ला वन कार्यालय बैतडीले १३९ लौठसल्लाका बोट वरिपरि काँडेतारको बार लगाएर संरक्षण गरिएको छ ।  विश्वमै निकै महँगो औषधीका रूपमा प्रयोग हुने ‘ट्याक्सोल’ नामको रसायन लौठसल्ला प्रशोधन गरेर निकाल्ने गरिएको बताइन्छ । 

वनस्पति अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक अधिकृत गङ्गादत्त भट्टले लौठसल्लाबाट पाठेघर, फोक्सो, स्तन, टाउको, प्रोस्टेट, छाला र अन्न नलीको क्यान्सर निको पार्ने औषधी बन्ने गरेको बताउनुभयो ।  

बैतडीको ग्वाल्लेक र सिगास संरक्षित वनक्षेत्रमा लौठसल्लाका बिरुवा रहेका छन् । सिगास गाउँपालिकाले बहुमूल्य जडीबुटी पाइने स्थानमा पालिका भवनलगायतका संरचना निर्माण गरेको डिभिजन वन कार्यालय प्रमुख गिरीले बताउनुभयो ।  

उहाँले भन्नुभयो, “वनक्षेत्र अतिक्रमण गरे  वन ऐन २०७६ को दफा ४९ को (ग) अनुसार वन अतिक्रमण गरेको कसुर ठहरिन्छ । वन ऐन, २०७६ को दफा ५० अनुसार उक्त कार्य गरेमा पाँच वर्ष कैद वा एक लाख जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।” 

कानुन छ, कर्मचारी छैन 

वनक्षेत्रको सरकारी जग्गा अतिक्रमण गर्न नपाइने कानुन भए पनि कार्यान्वयन र नियमन गर्न वन कार्यालयमा कर्मचारी छैनन् । डिभिजन वन कार्यालयसहित मातहतका पाँच वटा सबवन डिभिजन कार्यालयमा चार वर्षदेखि सात जना वन अधिकृत छैनन् ।

बैतडीस्थित डिभिजन वन कार्यालयसहित मातहतका सबवन डिभिजनमा कर्मचारी नहुँदा कार्यसम्पादनमा समस्या भएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले बताउनुभयो । उहाँले बैतडीमा आठ जना वन अधिकृतको दरबन्दी रहेको कार्यालयमा एक जना मात्रै वन अधिकृत रहेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार मातहतका सबवन डिभिजन कार्यालय कर्मचारी नहुँदा वन अतिक्रमण हटाउन सकिएको छैन ।  दरबन्दी अनुसारका कर्मचारी माग गरे पनि विभागबाटै कर्मचारी नपठाउँदा काम गर्न समस्या भइरहेको वन प्रमुखको भनाइ छ ।