• १६ वैशाख २०८३, बुधबार

मधुवन नगरपालिकाले खोरमा राखिएकी बालिकाको उपचार गर्ने निर्णय

blog

बालिकाको अवस्था हेर्दै उपप्रमुख नेतृत्वको टोली । तस्बिर : यज्ञप्रसाद सापकोटा

यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), वैशाख १६ गते ।
बर्दियाको मधुवन नगरपालिका–५, गाउँ नं. १० मा बाख्राको खोरमा राखिएकी बालिकाको उपचार गर्ने निर्णय गरिएको छ । मधुवन नगरपालिकामा मंगलबार बसेको बालबालिका संरक्षण समितिको बैठकले बालिकाको उद्धार गरी उपचार गर्ने निर्णय गरेको हो ।

नगर उपप्रमुखको अध्यक्षतामा बसेको बैठकले सम्बन्धित वडाका जनप्रतिनिधि, महिला तथा बालबालिका शाखा र विभिन्न गैरसरकारी संस्थाको समन्वयमा तत्काल बालिकाको उपचार गर्ने निर्णय गरेको छ । मनोसामाजिक परामर्श, उपचार तथा यातायात खर्च मधुवन नगरपालिका र बाँके युनेस्को क्लबले व्यहोर्ने निर्णय भएको छ ।

त्यसैगरी नगरपालिका र विभिन्न गैरसरकारी संस्थाको समन्वयमा बालिकाको स्वास्थ्य उपचारका साथै परिवारका सदस्यलाई पनि मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने निर्णय गरिएको छ । बालिकाको बालअधिकार हनन हुन नदिन नियमित अनुगमन गर्ने र कानुनी प्रक्रिया अनुसार आवश्यक सबै कदम चालिने पनि बैठकले निर्णय गरेको छ ।

नगर उपप्रमुख अनिता चौधरीले बालिकाको उपचार गरी निको पार्ने प्रयास गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी चिकित्सकसँग पनि छलफल गर्छौं र उपचारका लागि आवश्यक पहल गर्छौं ।”

सोमबार उपप्रमुख चौधरीको नेतृत्वमा नगरपालिकाको टोली बालिकाको घरमा पुगेको थियो । टोलीले बालिकाको अवस्था उपचारयोग्य रहेको निष्कर्ष निकाल्दै उपचारका लागि पहल गर्ने निर्णय गरेको थियो । साथै बालिकालाई बाख्राको खोरमा नराख्न र तत्काल उपचारका लागि लैजान परिवारलाई सुझाव दिइएको थियो ।

महिला तथा बालबालिका शाखा प्रमुख इन्द्रा चुनाराले बालिका खोरमै बाँधिएको अवस्थामा फेला परेको बताउनुभयो । उहाँका अनुसार बालिकाको हातखुट्टा चल्ने र सामान्य अवस्था देखिएको हुँदा सुरुमा उपचारमा ध्यान दिइनेछ । उहाँले भन्नुभयो, “पहिले उपचार गरौं, नभए अपाङ्गता परिचयपत्र बनाएर सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था छँदैछ ।”

यसअघि सोमबार ‘पाँच वर्षदेखि बाख्राको खोरमा बालिका’ शीर्षकमा गोरखापत्र, गोरखापत्र अनलाइन र द राइजिङ नेपालमा समाचार प्रकाशित भएपछि नगरपालिकाको टोली बालिकाको घरमा पुगेको थियो । सोही विषयमा आज बाल संरक्षण समितिको बैठक बसेको हो ।

समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायहरूको ध्यानाकर्षण भएको थियो । प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले नगरपालिकाले उपचार गर्ने निर्णय गरेको जानकारी दिँदै, आवश्यक परे अन्य विकल्पका लागि माथिल्लो निकायमा सिफारिस गरिने बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न नसकेर बालिकालाई बाख्राको खोरमा राख्नुपरेको उनकी आमा पार्वती गाहामगरले बताउनुभयो । नगरपालिकाले उपचार गर्ने भएपछि आफूलाई राहत महसुस भएको उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस

पाँच वर्षदेखि बाख्राको खोरमा आठ वर्षीया बालिका