• १४ वैशाख २०८३, सोमबार

पाँच वर्षदेखि बाख्राको खोरमा आठ वर्षीया बालिका

blog

खोरमा बाँधिएकी बालिका । तस्बिर : यज्ञप्रसाद सापकोटा

यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), वैशाख १४ गते ।
दिउँसोको टन्टलापुर घाममा झिँगटीले छाएको गाईगोठभित्र बनाइएको बाख्राको सानो खोरमा कपडाको डोरीले बाँधिएको अवस्थामा एक बालिका सुतिरहेकी थिइन् भने खोरबाहिर दुई वटा गाई उग्राइरहेका थिए ।

नयाँ मान्छे देखेपछि गाईहरू जुरुक्क उठे र फाँ–फु गर्न थाले । त्यही क्रममा बालिका ब्युँझिइन् । मुख सुक्खा भएकाले उनी रुन पनि सकिनन् । हलचल सुनेपछि घरमा रहेकी बालिकाकी आमा पार्वती गाहा मगर आइपुग्नुभयो । भर्खर निदाएकी छोरीलाई देखाउँदै उहाँले भन्नुभयो, “रुँदा–रुँदै निदाइछ ।”

बालिकालाई खोरबाट निकालेर पानी खुवाउन आग्रह गरियो । आमाले बालिकालाई खोरको ढोका खोलेर बाहिर निकाल्नुभयो । शौचालय लैजाने र पानी खुवाउने काम गर्नुभयो । बालिकाले एक गिलास पानी पिइन् । त्यसपछि पार्वतीले उनलाई कपडा लगाउन र भित्र लैजानुभयो ।

मधुवन नगरपालिका–५ (गाउँ नं. १०) मा आठ वर्षीया बालिका बिनिता (नाम परिवर्तन) विगत पाँच वर्षदेखि बाख्राको खोरमा बाँधिएकी छन् । सुरुमा खाटको खुट्टामा बाँध्ने गरिएको भए पनि नियन्त्रण गर्न कठिन भएपछि खोरमै बाँध्न थालिएको परिवारको भनाइ छ । बाख्रा थुन्न बनाइएको खोरमा अहिले बाख्राको सट्टा बालिकालाई राख्ने गरिएको छ ।

सुरुमा खोरमा राख्दा चिच्याउने र रुने गरे पनि अहिले उनी चुपचाप बस्ने गरेको परिवारले बताउँछन् । कपडा बिछ्याए वा नजिक राखे च्यात्ने गरेकाले नबिछ्याउने गरिएको बालिकाकी आमा पार्वतीले बताउनुभयो ।

“आफ्नै छोरीलाई खोरमा बाँधेर राख्न त कहाँ मन थियो र ?” आँसु झार्दै पार्वतीले भन्नुभयो, “उपचार गर्न पैसा छैन, खुला छोडे भागेर कहाँ पुग्छे, समात्नै सकिँदैन ।” पहिले आँगनको रुख वा खाटको खुट्टामा बाँध्ने गरिएको र पछि समस्या बढेपछि खोरमा राखिएको उहाँले बताउनुभयो । “पैसाको जोहो गर्न पाए एक पटक उपचार गराउन मन छ,” उहाँले भन्नुभयो ।

बिनिता ढाई वर्षकी हुँदा उच्च ज्वरो आएको थियो । त्यसबेला नेपालगञ्ज लगेर उपचार गरिएको पार्वतीले बताउनुभयो । ज्वरो निको नहुँदै शरीर काँप्ने र हातखुट्टा नचल्ने समस्या देखिएको उहाँको भनाइ छ । पछि भारतको कल्लुगौडीमा झारफुक र मालिस गरेपछि केही सुधार भएको तर आर्थिक अभावका कारण थप उपचार नगरेको उहाँले बताउनुभयो ।

बिनिता फुत्किएर भाग्ने र हराउने समस्या भएपछि नियन्त्रणका लागि बाँध्नुपरेको मामा नारायण गुरुङले बताउनुभयो । नजिकै भारतको जंगल भएकाले जोखिम बढेको भन्दै उहाँले भन्नुभयो, “कयौँ पटक भारतीय जंगलबाट समातेर ल्याएका छौँ । घरमा नहुँदा हराउने डरले बाँधेर राखिएको हो ।”

कहिले सामान्य देखिने र कहिले अत्यधिक बिरामीजस्तो हुने समस्या रहेको उहाँले बताउनुभयो । “कहिले सबैलाई चिन्छिन्, कहिले चिन्दिनन्, चिच्याउँछिन् र कराउँछिन्,” उहाँले भन्नुभयो ।

पार्वतीले करिब १० वर्षदेखि प्रायः माइतमा बस्दै आएको बताउनुभयो । उहाँको विवाह सुर्खेतको भेरीगंगा नगरपालिका–१ धनवासमा भएको थियो । आर्थिक अवस्था कमजोर भएकाले श्रीमान् डम्मर गाहा मगर र छोरीहरूसहित माइतमा बस्दै आएको उहाँले बताउनुभयो । उहाँका तीन छोरी हुनुहुन्छ ।

श्रीमान् ज्याला–मजदुरीका लागि भारतको हल्द्वानीमा छन् भने माइती पक्षका पुरुष सदस्यहरू पनि भारतमै मजदुरी गर्ने गर्छन् । “मजदुरी गरेर ल्याएको पैसा खान मात्र पुग्छ,” उहाँले भन्नुभयो, “म कहिले काँही मजदुरी गर्न पनि जान्छु ।”

मधुवन नगरपालिका–५ का वडाध्यक्ष दिलीप गुरुङले बालिकाको तत्काल उपचारका लागि नगरपालिकाबाट पाँच हजार रुपियाँ सहयोग गरिएको बताउनुभयो । समस्या पहिचान भएपछि थप उपचारको पहल गरिने उहाँको भनाइ छ । “केही दिनमा उपचारका लागि लैजाने तयारी छ,” उहाँले भन्नुभयो ।

नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख इन्द्र चुनाराले बालिकालाई बाँधेर राखेको जानकारी पाएपछि अनुगमन गरी उपचारका लागि लैजान सुझाव दिएको बताउनुभयो । आवश्यक परे अपाङ्गता परिचयपत्र बनाउने सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो ।