• १६ वैशाख २०८३, बुधबार

प्रहरी अस्पतालको नवनिर्मित भवनबाट सेवा सञ्चालन

blog

गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । तस्बिर : माधवप्रसाद बराल

माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), वैशाख १४ गते ।
गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवनबाट सेवा सञ्चालन सुरु गरिएको छ । पोखराको मुस्ताङचोकस्थित पार्दीमा रहेको प्रहरी अस्पतालको नयाँ भवनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभएको हो ।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले नयाँ भवनले प्रदेशका प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नागरिक सुरक्षासँगै स्वास्थ्य सेवामा पनि प्रहरी सङ्गठनको भूमिका थप सुदृढ हुने उल्लेख गर्नुभयो । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट उक्त अस्पताल भवन निर्माण गरिएको हो ।

चार करोड ८४ लाख ९६ हजार १४७ रुपियाँ लागतमा बनेको भवन गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत भौतिक पूर्वाधार शाखाको प्राविधिक समन्वयमा आधुनिक मापदण्ड अनुसार तयार गरिएको छ । भूकम्प प्रतिरोधी आरसिसी फ्रेम संरचनामा बनेको उक्त अस्पताल भवन बहुउद्देश्यीय सेवासहित डिजाइन गरिएको इन्जिनियर डिएसपी चिरञ्जीवीप्रताप महतोले जानकारी दिनुभयो ।

महतोका अनुसार भवनमा ओपिडी कक्ष, दन्त सेवा, प्रयोगशाला, फार्मेसी, आकस्मिक कक्ष, प्रशासनिक कक्ष, नर्सिङ स्टेसन, वार्ड, अपरेसन थिएटर, स्टोर, चेंजिङ रूम, प्यान्ट्री र प्रसूति कक्षलगायत अत्याधुनिक सुविधा समावेश गरिएका छन् । आवश्यक पूर्वाधार अन्तर्गत पानी ट्याङ्की, अन्डरग्राउन्ड ट्याङ्की, पार्किङ, क्यान्टिन तथा अन्य सहायक संरचनाहरू पनि निर्माण गरिएको जानकारी दिइएको छ । अस्पताल भवनको डिजाइन पाँच तले भए पनि बजेट अभावका कारण दुई तला मात्र निर्माण गरिएको हो ।

उक्त अवसरमा निर्माण कार्यमा संलग्न प्राविधिक टोली, निर्माण व्यवसायी तथा सहयोगी निकायलाई प्रशंसापत्र वितरण गरिएको थियो । नवनिर्मित भवन सञ्चालनमा आएपछि गण्डकी प्रदेशका प्रहरी कर्मचारी तथा पूर्वप्रहरी कर्मचारीलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसीले बताउनुभयो । उहाँले अस्पतालमा सबै किसिमका विशेषज्ञ सेवा नभएकाले यसलाई आगामी दिनमा विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले अस्पताललाई नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । अस्पतालका प्रमुख डा. एसएसपी अभिमन्यु श्रेष्ठले स्वागत गर्दै थप सेवा विस्तारका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।