जयकृष्ण यादव
इनरुवा, वैशाख १४ गते । लामो समयसम्म ब्रिटिश गोर्खा आर्मीका रूपमा सेवा गर्नुभएको पूर्णप्रसाद लिम्बू यस पटकको प्रतिनिधि सभामा समानुपातिकतर्फ सांसदमा निर्वाचित हुनुभएको छ । सुरक्षा र सैन्य अभ्यासमा पोख्त रहनुभएका लिम्बू ब्रिटिश आर्मीबाट सेवा निवृत्त भएपछि देशको शासन व्यवस्थामा सुधार, दिगो शान्ति, सुशासन र विकास अनि लोककल्याणकारी समाजका लागि राजनीतिक यात्रा सुरु गर्नुभएको थियो ।
ब्रिटिश आर्मीमा विश्वको ३६ बढी देशमा २८ वर्षसम्म सेवा गर्नुभएका उहाँले त्यहाँबाट पाएको प्रेरणा र भोगाइबाट नेपालमा पनि केही गर्न सकिन्छ भन्ने सोचका साथ समाजसेवामा लाग्नुभएको थियो । उहाँ अल्पविकसित, विकासोन्मुख र विकसित मुलुकको समेत भ्रमण गर्ने अवसर पाउँदा ती देशको आर्थिक अवस्था, राजनीतिक र सुशासनको अवस्थाको नजिकबाट अवलोकन र अनुभूति गर्नुभएको छ ।
त्यस व्रmममा पाएको प्रेरणा र भोगाइबाट केही गर्न सकिन्छ भन्ने सोच र जोसका साथ फर्किएपछि धरानको विकासमा श्रमदान गर्दै विपन्नको पक्षमा कामसँगै समाजसेवामा उहाँ लाग्नुभयो । उहाँले दक्षिण एसियाली मुलुकहरू र युरोपियन देशहरूमा सेवा गर्नुका साथै भ्रमण गर्दा, बसाइँको सिलसिलामा प्राप्त गर्नुभएको ज्ञान, सिप र सकारात्मक अभ्यासलाई सार्थक रूपमा सदुपयोग गर्न लागि पर्ने भन्दै मत माग्नुभएको थियो ।
उहाँले आफ्नो संसद्को यात्रामा स्थानीय समस्या, सबाल र भुइँ मानिसका कुरामा केन्द्रित रहने, शिक्षा, खानेपानी, स्वास्थ्य र मोटरेबल पुल बाटो अवस्था र आवश्यकता अनुसार प्राथमिकतामा राख्नुभएको छ । राजनीतिकमा प्रवेश गर्नुअघि गत १९ वर्षदेखि एउटा सामाजिक अभियन्ता, समाजसेवी अनि धरानमा हर्क सम्पाङ राईसँग सामाजिक अभियानमा काम गर्नुभएको थियो ।
उहाँले श्रम संस्कृति पार्टी नेपालको एक भुइँ तहको लोकप्रिय दल भएको र यसले प्रकृति, संस्कृति र प्रविधि मुख्य विषयवस्तु, दृष्टिकोण र एजेन्डा राखेकाले आफूले मन पराएर बताउनुभयो । उहाँले देशको सुशासन र विकासको अनुभूति हुने गरी केही काम गर्ने योजनाका साथ संसद्मा प्रवेश गरेको बताउनुभयो ।
लिम्बूले कानुन निर्माण र विकासका लागी तत्कालै केही गर्नुपर्ने जरुरी ठानेर पनि संसदीय यात्रा तय गर्ने र त्यसलाई आफूले अवसरका रूपमा लिने बताउनुभयो । भ्रष्टचारविरुद्ध कडा कानुन ल्याउनुपर्ने देखिएकाले त्यसमा पनि पहल गर्ने बताउँदै उहाँले विगतमा देशको विकास र सुशासन अभाव तथा भ्रष्टाचार बढी भएकाले अब त्यस प्रकारको गुनासो आउन नदिने गरी काम गर्ने बताउनुभयो । धरानलाई पर्यटकीय सहरका रूपमा चिनाउन र खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने उहाँले बताउनुभयो । देशका लागि विकास गर्न सरकारी बजेट र योजनाबाट मात्रै प्रयाप्त नभएकाले परम्परागत विशेष श्रमदान र जनसहभागिताबाट पनि केही थप गर्न सकिन्छ कि यो सोचलाई सार्थक प्रयास र विकास सम्भव छ भन्ने उदाहरण देखाउन लागि पर्ने बताउनुभयो ।
लिम्बूले भन्नुभयो, “हामीले प्रकृतितर्फ बृहत् वृक्षरोपण समुदायको नेतृत्वमा अनिवार्य वृक्षरोपणमार्फत हरियो नेपाल बनाउने लक्ष्य, जल संरक्षणः प्राकृतिक पानीका स्रोत (मुहान) को संरक्षण र संवर्धन, जैविक व्रmान्तिः ‘जय माटो’ नारा अन्तर्गत जैविक खेती र रासायनिक मलको विस्थापन, (यस अन्तर्गत जनस्वास्थ्यका लागि हानिकारक मानिने प्रशोधित तरकारी तेलको सट्टा स्थानीय तोरीको तेल जस्ता प्राकृतिक उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिएका छौँ ।”