• १३ वैशाख २०८३, आइतबार

बलात्कार पीडित महिलाको बिचल्ली

blog

विजयकुमार साह 

ढल्केबर, वैशाख १३ गते । धनुषामा बलात्कार घटनाका पीडित एक महिलाले पतिले समेत साथ छाडेपछि बिचल्लीमा परेको बताउनुभएको छ ।

उहाँले घटनापछि पतिले साथ छाडेपछि आफू थप पीडामा परेको बताउनुभयो । धनुषाको सबैलाई नगरपालिका–३, की ति महिलाले गत पुस ६ गते आफू बलात्कारमा परेको भन्दै चैत १ गते जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएको बताउनुभयो ।

 तर जाहेरी दर्ता भएको लामो समय बितिसक्दा पनि आरोपित पक्राउ नपरेको र आफू घरबारविहीन अवस्थामा पुगेको उहाँले दुखेसो सुनाउनुभयो । 

उहाँका अनुसार २०८२ पुस ६ गते साँझ जनकपुरधाम–४, मुरली चोक क्षेत्रमा ‘प्रसाद’ भन्दै दिएको लड्डु खाएपछि आफू बेहोस भएको र सोही अवस्थाको फाइदा उठाउँदै आरोपितले आफ्नो इच्छाविपरीत करणी गरेको जानकारी दिनुभयो । 

आरोपित सबैलाई नगरपालिका–३, का अमिस महरा रहेको जाहेरीमा उल्लेख छ। जाहेरी अनुसार आरोपितले घटनाको भिडियोसमेत बनाएको र सार्वजनिक गर्ने तथा परिवारलाई हानी पुर्‍याउने धम्की दिँदै बारम्बार करणी गरेको उल्लेख छ ।

 घटनापछि श्रीमान्‌ले गलत बुझाइका कारण घरबाट निकालिदिएकाले हाल आफू माइतमा बस्दै आएको ति महिलाको भनाइ छ।

पीडक जनकपुरधामस्थित एक अस्पतालमा कार्यरत रहेको र खुलेआम हिँडडुल गरिरहे पनि प्रहरीले पक्राउ नगरेको उहाँको गुनासो छ ।

दोषीमाथि कारबाही नभएको र पारिवारिक साथसमेत गुमाउँदा आफू बिचल्लीमा परेको उहाँले सुनाउनुभयो । उहाँले दोषीमाथि तत्काल कारबाही गर्न र आफूलाई न्याय दिलाउन सम्बन्धित निकायसँग माग गर्नुभयो ।