• १२ वैशाख २०८३, शनिबार

"वास्तविक सुकुम्बासीको दीर्घकालीन व्यवस्थापन गरिनेछ"

थापाथलीका ६८ परिवार सरकारको सम्पर्कमा: वास्तविक सुकुम्बासीलाई नागार्जुन पठाइने

blog

काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित गैरीगाउँ क्षेत्रमा शनिबार दिउँसो भत्काइएको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका टहरासहितका संरचना । तस्बिरः विमलबहादुर विष्ट\रासस

काठमाडौँ, वैशाख १२ गते । काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका अनधिकृत बस्ती हटाउने अभियानअन्तर्गत थापाथली क्षेत्रको कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार स्थानीय बासिन्दाको सहयोग र समन्वयका कारण थापाथलीमा सौहार्दपूर्ण रूपमा बस्ती खाली गरिएको हो ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणको तथ्याङ्कअनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ अनधिकृत घरधुरी रहेका छन् । ती क्षेत्रमा बसोबास गरिरहेका नागरिकले सरकारको कदमलाई समर्थन गर्दै बस्ती छाड्न सहयोग पुर्‍याएको सल्लाहकार शाहले जानकारी दिनुभयो ।

शनिबार थापाथलीबाट विस्थापित भएका ६८ परिवार सरकारी सम्पर्कमा आइसकेका छन् भने अन्य स्थानका बासिन्दा पनि सम्पर्कमा आउने क्रम जारी छ । सम्पर्कमा आएका परिवारलाई तत्कालका लागि दशरथ रङ्गशाला पुर्‍याई विवरण सङ्कलन गरिएको छ । उनीहरूलाई उचित व्यवस्थापन नहुन्जेल काठमाडौँका विभिन्न होटलमा राख्ने तयारी सरकारले गरेको छ ।

होटलमा राखिएका परिवार वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने विषयमा आइतबारदेखि नै पहिचान तथा छानबिन प्रक्रिया सुरु गरिने सल्लाहकार शाहले बताउनुभयो । छानबिनका क्रममा वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई आगामी दुई साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर १ मा रहेको सरकारी अपार्टमेन्टमा स्थानान्तरण गरिनेछ । 

त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनका लागि थप कार्य अघि बढाइने सरकारको योजना रहेको छ ।